Saturday 25th November 2017

 

तरकारीवालीः सफल भारतिय मिसन

सुवास मल्ल-अंग्रजीमा एउटा भनाई चर्चित छ । “धनी तथा शक्तिशालीहरु हामीमाथि पिसाब फेर्छन् र मिडिया मार्फत पानी परिरहेको भनाउँछन् ।” जनताहरु त्यसैलाई पत्याउँछन् । नयाँ नयाँ तर्कहरु पनि आउन सक्छन् त्यसबेला । मिडियाले बे्रक्रिङ्ग न्यूज दिन्छ, इतिहासमा नै प्रथम पटक न्यानो वर्षा भएको छ । नुनिलो वर्षा भएको छ । न्यानो वर्षामा रुझेकाहरुले मोक्ष प्राप्त गरेको बाबाजीहरुले भनाइ वा त्यस्तै त्यस्तै ।
खयर त्यस्तै भएको छ पछिल्लो पटक नेपालीहरुको नियति पनि । भारतिय संस्थापनको मुताईलाई केही भारतिय र नेपाली मिडियाहरुले पानी परिरहेको प्रमाणित गर्न सफलत भएका छन् । सन्दर्भ हो नेपाली सुन्दरी किशोरी कुशुम श्रेष्ठलाई तरकारीवाली बनाएर नेपाली युवाहरुको ध्यान मोड्न गरिएको प्रयास । हेरौ यी घटनाक्रमहरु कसरी विकाशित भएका छन् ।

कार्तिक १२-अक्टोबर २८

पर्यटन व्यवसायी रुपचन्द्र महर्जनले आफ्नो निजी भ्रमणको दौरान गोर्खामा एकजना तरकारी बोकिरहेकी किशोरीलाई देखे । उनलाई पहिलो नजरमा नै किशोरीको सुन्दरता र श्रमले स्ट्राइक ग¥यो । महर्जनले पुलमा देखेको किशोरीको एउटा तस्बिर खिचे र लगत्तै फर्कने क्रममा तरकारीको क्रेटसँगै फोनमा कुरा गर्दै गरेको अर्काे फोटो पनि खिचे । ति फोटोहरुलाई उनले आफ्नो फेसबुकमा पोष्ट गरे । सायद महर्जनले सोचकै थिएनन् होला कि उनले खिचेको फोटोले नेपाल भारत सम्बन्धमा यतिको मसला बन्छ भनेर न त कुशुम श्रेष्ठले नै चिताएकी थिइन् होला कि कुनै दिन उनकै तस्बिर उनकै देशको विरुद्ध प्रयोग हुन्छ र उनलाई सुइकोसम्म पनि हुदैन भन्ने कुरा । समयको क्रमसँगै आखिरमा त्यस्तै भयो । महर्जनको फेसबुकबाट त्यो फाटो केही युवाहरुले डाउनलोड गरेर नेपाली युवाहरुको फेसबुक ग्रुपहरु एमआरआर, दाह्री ग्यांग, बोका संगठन, डब्लुआरआर लगायतमा सेयर गर्न थाले ।यी फोटोहरु सेयर भइरहेको बेला कार्तिक १७ गते भारतिय राष्ट्रपति प्रणब मुखर्जीको भ्रमण तय भएको र भ्रमणको शुरुवातको दिनमा सार्वजनिक बिदा दिने घोषणा सरकारले गरेको थियो । सामाजिक सञ्जालहरुमा नेपाली युवाहरुले उक्त बिदाको, नेपाली राष्ट्रपति विद्या भण्डारी विमानस्थलमा नै स्वागत गर्न जाने कार्यक्रमको तथा समग्र भारतिय हेपाहा प्रवृत्तिको विरोध गरिहेका थिए । यसै सम्बन्धी विभिन्न ट्रेण्डहरुले फेसबुक भरिएको थियो । युवाहरुलाई विशेष रुपमा छुने तिहारका बाबजुद पनि यी सामाजिक सञ्जाहरुमा यी टे«ेण्डहरुले चर्चा पाई नै रहेको थियो । सायद नेपाली युवाहरु तिहारको भुलभुलैयामा भएको मौका छोपेर मुखर्जीको भ्रमण सफल पर्ने सोचमा भारतिय तथा नेपाली संस्थापन लागेको हुनुपर्छ । तर त्यो सोचेजस्तो भएन बरु युवाहरुले थप एक दिन मज्जाले तिहारमा नै भुल्नेछन् भनेर दिइएको विदा नै सरकारका लागि प्रत्युपादक भयो ।

यस्तो पृष्ठभूमिका अज्ञात सुन्दरीको तस्बिर फेसबुकमा बिस्तारै सेयर हुन थालेपछि भारतिय संस्थापन पक्षले यसैलाई प्रयोग गर्ने अर्काे मिसन बनाए । फलतः नेपालमाभन्दा बढि यो भारतमा चर्चित बनाइयो । भनिरहनु नपर्ला नेपालबाट शुरु हुने भारतविरोधी फेसबुक तथा ट्विटर ट्रेण्डहरु नेपाली युवाका कारण नभइ पाकिस्तानी तथा बंगाली युवाहरुले चर्चित बनाइदिन्छन् । यसपटक तरकारीवाली ट्रेण्डलाई भने भारतिय युवाहरुले चर्चित बनाउन थाले ।

कार्तिक १७-नोभेम्बर २

भारतिय राष्ट्रपति प्रवण मुखर्जी मध्यान्हमा नेपाल उत्रे । सरकारले काठमाडौंमा बिहान करिब ९ बजेदेखि नै अघोषित कर्पm्यु लगायो । आधा काठमाडौंमा गाडी चलाउन र हिड्न त परै जाओस, मुखर्जीको सवारी भएका बाटोका छेउछाउका बाटोहरुमा झ्याल खोल्न समेत सरकारले बन्देज लगायो । भारतिय आँकलनमा यस पटकको भ्रमणमा आतंकवादभन्दा पनि नेपाली युवाहरुको आक्रोश नै खतराको विषय थियोे । होइन भने भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा आउँदा नेपाली जनताहरुसँग सडकमा हातै मिलाउने अवसर दिने सरकारले अघोषित कर्फ्यु लगाउनुपर्ने कारण थिएन ।

यो अघोषित कर्फ्युले युवाहरुको आक्रोशको आगोमा झन् घिउ थप्ने काम गरिदियो । भारतिय संस्थापन पक्ष तथा जासुसी एजेन्सीहरुले यसको समयमा नै आंकलन गर्दै नेपाली युवाहरुको ध्यान मोड्न अर्काे मिसन अगाडी बनाउन कत्ति पनि अबेर गरेनन् । सोही दिन दिउँसोबाट भारतिय बिग मिडियाहरुले त्यसबारे समाचारहरु छाप्न थाले । हिन्दुस्तान टाइम्स, एविपी न्युज, दैनिक भाष्कर, नवभारत टाइम्स, बिबिसी हिन्दी सेवा, इण्डिया टुडे, एनडिटिभी जस्ता मुलधारका भारतिय संचार माध्यमहरुले यसलाई प्राथमिकताका साथ अज्ञात नेपाली सुन्दरीको बारेमा समाचार प्रकाशित गरे । नेपालमा पनि अनलाइन खबर, अन्नपूर्ण पोष्टजस्ता मुलधारका अनलाइन न्युज साइटहरुले सोही दिन साँझबाट यसको कभरेज गरे ।

कार्तिक १८-नोभेम्बर ३

मुखर्जी भ्रमणको दोस्रो दिन । काठमाडौंको सास्ती उस्तै छ तर भारत र नेपालभर मुखर्जीको होइन तरकारीवालीको चर्चा बढि देख्न थालियो । नेपालजस्तो सम्बन्ध बिग्रेको देशमा आफ्नो राष्ट्रपतिको भ्रमणको रिपोर्टभन्दा भारतिय सञ्चार माध्यमहरुलाई तरकारीवाली प्यारो हुनुले नै यो प्रमाणित गर्दछ । मुखर्जीको भ्रमणमा कालो लुगा लगाएर अघोषित ‘ब्ल्याक मार्च’ गर्छाैं भन्ने युवाहरुको स्वतः स्फुर्त घोषणा ‘तरकारीवाली हन्ट’ तर्फ मोडियो ।
नेपाली सञ्चारमाध्यमहरुले पनि यसलाई द्रुत कभर गर्न थाले । नागरिक राष्ट्रिय दैनिकका पत्रकार नरहरि सापकोटाले तरकारीवाली खोज्न गोरखा गएको कुरालाई आफ्नो रिपोर्टमा यसरी लेखेका छन् । “नागरिक र रिपब्लिक दैनिकका सम्पादकले टेलिफोन गरेर भाईरल बनेको तस्विर गोरखाकी युवतीको भएकाले पत्तो लगाउन भनेपछि हतार हतार क्यामेरा, रेकर्डर, कलम कापी बोकेर भाईरलवाली युवतीको खोजीमा बिहिबार (कार्तिक १८ गते) दिउँसो म गोरखा सदरमुकामबाट निस्किँए ।” यसबाट पनि के थाहा हुन्छ भने यो समाचारलाई राष्ट्रिय सञ्चार माध्यमहरुका केन्द्रले नै डिक्टेट गरेका थिए ।
म नेपाली बिग मिडिया हाउसहरुलाई यो सन्दर्भमा कसैबाट आशिर्वाद प्राप्त भयो भएन भनेर आरोपित त गर्न चाहन्न । समयक्रमले त्यो पनि पर्दाफास गर्ने दिन आउला तर जानेर नजानेर ति पनि भारतिय मिसनको गतिलो हतियार बनेको चाँही पक्कै हो ।

कार्तिक १९-नोभेम्बर ४

भारतिय राष्ट्रपतिको नेपालका भ्रमणको अन्तिम दिन । जनकपुर र पोखरा भ्रमण गरी भारत फर्कने कार्यक्रम रहेकाले सुरक्षा सम्बेदनशिलता अति नै उच्च थियो । तर यतिबेलासम्म नेपाली सञ्चारमाध्यमहरुमा तरकारीवाली कुशुम श्रेष्ठका नयाँ फोटोहरु र अन्तर्वार्ताहरु भाइरल भइसकेका थिए । नेपाली युवाहरुले मुखर्जी कहिले र कतिबेला गए भन्ने सायद पत्तो पाएनन् बरु तरकारीवालीले कुन फिल्म खेल्ने भन्ने तर्फ नै लागे । उनको सपना नर्स बन्ने थियो कि मोडेल बन्ने कुशुमले नै बिर्सिन् । यो दिनपछि भारतिय सञ्चार माध्यममा यसको फलोअप बन्द भयो र कुनै पनि भारतिय बिग मिडियाले नोभेम्बर ५ देखि तरकारीवालीको न्युज पुनः प्रकाशन गर्ने जरुरी ठानेनन् । नेपाली मिडियाहरुलाई भने तरकारीवालीको, उनको आमाबावुको, साथीहरुको, गाउँलेहरुको अझ कतिसम्म भने उनी पढ्ने विद्यालयको प्राचार्यसम्मको अन्तर्वार्ता प्रकाशित गरेर फुर्सद भएन । यसले बलिउड चलचित्र ‘पिप्ली लाइभ’ लाई सम्झाइदियो ।

तरकारीवालीको पछाडी भारतको अर्काे स्वार्थ भनेको पाकिस्तानी चायवालाको बढ्दो प्रभावलाई न्युट्रलाइज गर्नु पनि थियो । अक्टोबर १४ तारिखमा जिया अलिले इन्टाग्राममा राखेको चिया बेच्ने निलो आँखा भएका युवक अर्साद खानको तस्विरले चर्चा पाएको र भारतिय युवतिहरुको ध्यान आकर्षित भएकाले त्यसलाई समेत साइजमा ल्याउन श्रेष्ठको प्रयोग भएको हुन सक्छ । खानको सन्दर्भमा त एक पाकिस्तानी मनोचिकित्सक सोयल छीमाले त भारतिय युवतिहरुका लागि चायवाला सर्जिकल स्ट्राइक नै भएको समेत भनेका थिए । उनको तस्विरलाई पनि पाकिस्तानले भारत र पाकिस्तानबीचको तनावबाट ध्यान मोड्नका लागि प्रयोग गरिएको अस्त्रका रुपमा बुझ्नेहरुको पनि कमि छैन । त्यस्तै भारतिय मिसन आखिरमा नेपालमा सफल भएको छ तर नेपालीहरु त्यसकै पछि लागिरहेको उदेकलाग्दो परिस्थिती छ ।

Published at: November 8, 2016 3:49 am

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro