Friday 26th May 2017

Bidhut-Add-Onlinepana

जीरीको भ्रमण : यात्रा स्मरण

12509135_1721139264764406_6365216521229268581_n

गोपाल बराल-मणिगाल,जोरपाटी,काठमाडौं – २०६९ साल फाल्गुण ११ गते अरुणिमा कलेजका बिज्ञान संकायका ११ र १२ कक्षाका बिद्यार्थीहरुको शैक्षिक भ्रमणको लागि कुमारीगालबाट बिहानको १०बजे हामी प्रस्थान गर्र्योैे । हाम्रो टोलीमा क्याम्पस प्रमुख केशब प्रसाद जोशी, कलेज ब्यबस्थापन समिति सदस्य म गोपाल बराल, बिज्ञान संकाय प्रमुख सुरेश थापा, खेलकुद शिक्षक हरि लटौला कर्मचारीहरु बिपिन रञ्जितकार,मालती भण्डारी, तुल बहादूर भुजेलसमेत कक्षा ११ का बिद्यार्थीहरु पाल्देन तामाङ्ग, जुनु चौलागाई,कविता बिश्वकर्मा, कविता लामा, नीतिका धिताल, मनिता श्रेष्ठ र कक्षा १२ का आरती भण्डारी, भिमराज तामाङ्ग,बिकाश पुडासैनी,बिकाश साह,बिशाल के.सी.,धिन्दू लामा,डोण्डूप लामा,हीना लामा,काजोल वाग्ले,ईश्वर अधिकारी,बिकाश थापा,नमुना तामाङ्ग,नबराज अधिकारी, रजिन खड्का,सरोज गौतम ,सौम्या रिसाल,सुल्सन भण्डारी,सुमन धमला, सुनिल पाण्डे, सुनिता घिसिङ्ग,उदित भण्डारी र श्रद्धा श्रेष्ठ थिए । उक्त शैक्षिक भ्रमणको ब्यबास्थापनको जिम्मेवारी काठमाडौ बानेश्वर निवासी बिष्णु अधिकारीले लिएका थिए ।

हामी त्यस दिन जिरीको सगरमाथा लज एण्ड रेष्टूरेण्टमा बास बस्ने गरी प्रस्थान गरेका थियौं ।बाटोमा हामीले पाँचखाल लामिडाडाँमा चिया पिएका थियौ भने मुडेमा नास्ता खाएका थियौं । प्राकृतिक दृष्याबलोकनको लागि ख्याती कमाएको मुडे बजार सानो र चिटिक्क छ । यहाँको खरिढुङ्गा बहुउपयोगी खनिज पदार्थ हो । यहाँको आलु पनि प्रशिद्ध छ । मुडेमा नास्ता खाएर हाम्रो गाडी चरिकोट तर्फ सोझियो । पहाडको माथिबाट साँघुरो पक्कि बाटो बिचमा कुनै अर्को गाडी आयो भने साइड दिन निकै परदेखि ब्याक गर्नु पर्ने बाध्यता । हाम्रो गुरुजीले बडो कुशलता पूर्बक गाडी हाँकेर हामीलाई गन्तव्यमा पुर्याउनुभयो । चरिकोट दोलखाको सदरमुकाम भएकोले निकै खचाखच भएपनि हामी त्यहाँ अल्मलिएनौं । किनकी हामीलाई अझै त्यहाँबाट ८० कि.मी.पर जिरी पुग्नुपर्ने थियो । दोलखाबाट हाम्रो गाडी तेर्साे तेर्सो ओरालो झर्दै तामाघाट पुग्यो । भोटेकोसी नदीमा बनेको पूल संगैको सानो चिटिक्क परेको बजार निकै आकर्षक थियो । हाम्रो टोलि गाडीबाट ओर्लिएर त्यस बजारको मज्जा लिन कस्सियो । हामीले पूलको आड लागेर फोटाहरु खिच्यौं ।

तामाघाट बजार माछाका सौखिनहरुको लागि अर्को आकर्षक गन्तब्य रहेछ । त्यहाँ माछा खानकै लागि भनेर काठमाडौंदेखि मानिसहरु पुग्छन्रे । तामाघाटबाट दक्षिणतिर लाग्यो भने खिम्ती जलबिद्युत आयोजना पुगिन्छ भने पूर्वोत्तर हँुदै उकालो लागियो भने जिरी पुगिन्छ । हामी साँझमा हाम्रो गन्तब्य जिरी बजार पुग्यौं । सगरमाथा लजका साहु कार्कीजीले हामीलाई जिरीमा भव्य स्वागत गरे । पर्यटकिय नगरी जिरी निकै मनमोहक रहेछ । हामीले साहुजिको आदेश अनुसार आआफ्ना कुम्लाकुटुरा आआफ्ना कोठामा बिसाएर धारामा गई हातमुख धोई फ्रेश भयौं । लजका साहुनीले हामीलाई जिरीकै उत्पादन अर्गानिक चियाले स्वागत गरिन् ।

हामीले चिया पिएर गफगाफ गर्दैगर्दा लजकी साहुनीले खाना पनि तयार गरिेछन । हामीहरुलाई खानाको लागि तयार हुन आदेश दिइन् । हामी पनि थकाइ र भोकले लखतरान परेका थियौं । साहुनीको आदेश पाउनासाथ पहिला केटीहरुलाई खाना खाओ भन्यौं । उनिहरुले सबैजना एकैसाथ खान आग्रह गरे तर भान्सामा एकैसाथ खानको लागि थाल कचौराको अभाव भएकोले संभव भएन । उनीहरुले खाईसके पछि हामी र केटाहरुले संगै खाना खायौं । सबै जनाले खाना खाइसके पछि एकछिन रमाइलो गर्ने भनेर नाचगान चम्कियो । ११ बजे पछि म र केशब जोशीजी सुत्न गयौं । सुरेशजी,हरि लटौला र मालती भण्डारीले बिद्यार्थिहरुलाई राती धेरै अबेरसम्म साथ दिए ।
भोलीपल्ट बिहानै नास्ता खाएर हामी जिरी शहरबाट २० मिनेट पूर्वतिर जिरेश्वर महादेवको दर्शन गर्न गयौं । उक्त देवस्थल एकान्तस्थलमा ढुङ्गाको ककारोमा सुन्दर मूर्ति सहित अवस्थित रहेछ । उक्त मन्दिरमा हरेक बर्ष नागपञ्चमीको दिन भब्य मेला लाग्ने रहेछ । त्यस दिन यस मन्दिरमा आएर गाईको दूधको पायश(खीर) पकाएर चढायो भने मनले चिताएको कुरा पुग्छ भन्ने किम्बदन्ती रहेछ । जिरेश्वर महादेव मन्दिरको परिशरमा हाम्रो टोलीले फोटो खिचेर त्यहाँबाट फर्किई कृषि फार्मको अवलोकन भ्रमणको लागि प्रस्थान गर्यौ ।त्यहाँ हामीले गाई गोठ,बङ्गुर गोठ,माहुरी पालन,कुखुरा पालन आदिको अवलोकन भ्रमण गर्यौ ।

त्यसपछि हामी जिरी प्राबिधिक शिक्षालयको अबलोकन भ्रमणको लागि त्यहाँबाट प्रस्थान गर्यौ । सरसर्ती उक्त बिद्यालयको कृषि कक्ष,निर्माण कक्ष,स्वास्थ्य जनशक्ति उत्पादन कक्ष, काष्ठकार्य प्रशिक्षण कक्ष आदिको अबलोकन भ्रमणपछि हामी फर्कन खोज्दै थियौ सोही बखत त्यस कार्यालयका सहायक प्रमुख राम बहादुर क्षेत्री आफ्नो आवासबाट हामी भए ठाउँ आउनु भयो । हामीले हाम्रो सामान्य परिचय दिएपछि रामबहादुर जीले पनि आफ्नो र जिरी प्राबिधिक शिक्षालयको बारेमा छोटकरीमा बताउनु भयो । हामीले हाम्रा बिद्यार्थिहरुको शैक्षिक भ्रमणको उद्येश्यको बारेमा बताए पछि धेरै खुशी हुनु भयो ।

हामीले सबै बिद्यार्थिहरु जम्मा भएपछि यो प्राबिधिक शिक्षालय र यसको बिकास क्रमबारे बताइ दिनु हुन अनुरोध गर्यौ । उहाँले पनि सबै बिद्यार्थिहरुलाई आफ्नो कार्यालय अगाडीको पर्खालमा बस्न लगाएर स्थापनादेखि हालसम्मको बिकासक्रम बारे बताउनु भयो ।
२०४०सालमा स्विश डेभलप्मेण्ट प्रोजेक्टबाट निर्मित जिरी प्राबिधिक शिक्षालयले हरेक बर्ष एस.एल.सी.परिक्षामा अनुत्तिर्ण बिद्यार्थिहरुलाई बिभिन्न किसिमका प्राबिधिक ज्ञानको लागि भर्ना हुन मंसिर १ गते सार्वजनिक सूचना जारी गर्ने,२० गते प्रवेश परिक्षा लिने र सोहिदिन उक्त परिक्षाको नतिजा प्रकाशन गर्ने प्रचलन रहेको कुरा बताउनु भयो । सबै बिषयमा ४०÷४० जनाको दरले बिद्यार्थी भर्ना गर्ने र २९महिनाभित्र सैद्धान्तिक र ब्यबहारिक ज्ञान दिएर दक्ष बनाएर पठाइने कुरा बताउनु भयो । सुरुमा भर्ना शुल्क रु.२०० मासिक शुल्क रु. १५०० र आवास शुल्क रु १८०० गरी रु ३५०० तिरेपछि उक्त कक्षा चालु हुन्छ । २९महिनाको करिब रु .१५०००० जतिमा उक्त कोर्ष पुरा हुन्छ । अझ कतिपय बिद्यार्थिहरुले पछिल्लो ५महिना ओ.जे.टी.मा मासिक ७÷८ हजारसम्म तालिम भत्ता प्राप्त गर्दछन् । यसले गर्दा बिद्यार्थिहरुलाई रोजगारी प्राप्त गर्न निकै सहयोग पुगेको छ । अब अर्को सालदेखि थप अनमी,सि.एम.ए. र स्टाफ नर्सका कोर्षहरु पनि गराउने अभिप्रायले धमाधम नयाँ भवनहरु बन्दै गरेको जानकारी समेत उहाँले गराउनु भयो । हामीलाई उक्त जानकारीले निकै हर्षित र भ्रमणको उद्धेश्य सार्थक भएको महशुस भयो । यो खालको सिपमूलक शिक्षाले नवजवानहरुलाई उत्साह प्रदान गर्नुको अतिरिक्त देश निर्माणमा ठूलो टेवा पुग्दछ । आज जे जुनढङ्गले युवाहरु पलायन भएर बिदेशिएका छन त्यसले सिमित रेमिटेन्स भित्रिएपनि कालान्तरमा निकै ठूलो नकारात्मक असर पुर्याउँछ । अझ सिपबिहिन युवा बिदेशिएर निकै ठूलो दुःख पाएको कुरा सुन्नुपर्दा मन नै चसक्क पोल्छ । सिप सहित युवाहरु बिदेश जाने हो भने तिनीहरुको बिदेश बसाई कति सुखद् हुन्थ्यो होला ?

प्राबिधिक शिक्षालयको कम्पाउण्डबाट बाहिर निस्किए पछि हाम्रो टोली जिरी बजारभन्दा एक डेढसय मीटर उचाईमा रहेको शेर्पा सामाजिक सेवा भवन र बौद्धबिहारको अवलोकन भ्रमणमा गयौं । त्यस शेर्पा भवनमा शेर्पा जातिको बिबाह संस्कार र मृत्यु संस्कारहरु गरिदो रहेछ । भर्खरै निर्माणाधिन बौद्ध बिहार निर्माण कार्यसम्पन्न भए पछि त्यस ठाउँको रौनकता अझै बढ्ने कुरामा कुनै शंका छैन । हामीले केही फोटोहरु खिचेर त्यस स्थलबाट बिदा लियौं । तल जिरी बजारमा अर्गानिक चिया,छुर्पी,चीज किनेर हामी लजमा फर्कियौं । लज मालिक कार्कीजीले जिरीका आदिबासीजसकोधर्म संस्कृति र रीतिरिवाजमा बौद्ध र हिन्दको सम्मिश्रण भेटिन्छ जिरेलहरुको बारेमा, जिरी अस्पतालको बारेमा,प्राबिधिक शिक्षालयको बारेमा र दक्षिण अफ्रिकाबाट ल्याई पालिएको लामा(एक प्रकारको खच्चडको जस्तै मुखाकृति भएको अल्पाकाशा, एक प्रकारको भेडा जसको ऊन प्रति के.जी.२५०००० पर्दछ ) को बारेमा हाम्रो समूहलाई जानकारी दिनु भयो । अल्पाकाशा लामा पाल्ने ब्यक्तिसंग उसले धान्नै नसक्ने चन्दा माओवादीले मागेका कारण कसैलाई थाहा पत्तै नदिई कता पलायन भयो केही पत्तो छैन । जसका कारण जिरीमा बिदेशी पर्यटकहरु घटेको कुरा बताउँदा हामीलाई पनि नरमाईलो लाग्यो । उक्त लामा हेर्नकै लागि भनेर स्वदेशी तथा बिदेशी पर्यटकहरु जिरी आउँथे यसले गर्दा ठूलो नोक्सान परेको गुनासो गर्नुभयो । एमाओवादीको चन्दा आतंकले कुनै क्षेत्र नछाडेको देख्दा हामीलाई पनि नमज्जा लाग्यो । एउटा बिदेशीले अनौठो जनावर पालेर पनि जिरीको पर्यटन ब्यबसायमा पुर्याएको योगदानलाई झन प्रोत्साहन गर्नु पर्नेमा बिस्थापित नै हुनु पर्ने बाद्यता सिर्जना गर्नु कहाँसम्म जायज हो ?संबन्धित राजनीतिक दलले सोच्ने बेला भएन र ?
हामी जिरीबाट फर्कियौं र तामाकोशी पूलमा आएर रोकियौं । गौरीशंकर हिमालबाट निस्किएको तामा कोशी जलबिद्यूतको लागि अत्यन्त महत्वपूर्ण नदी हो । त्यसै नदीलाई आधार बनाएर खिम्ती,अपर तामाकोशी लगायतका जलबिद्युत आयोजनाहरु बनिरहेको कुरा थाहा पाउँदा बर्षौदेखि बिद्युत लोडसेडिङ्गको मारमा परेका हामी उपभोक्ताले मनमनै उक्त आयोजनाहरु निर्बिघ्नता पूर्बक चाँडै संपन्न हओस् भनेर कामना गर्यौ । त्यहाँबाट हामी उकालो लाग्यौं । २.५मीटर चौडा सडकलाई ६मी.चौडा बनाइदै रहेछ । यो बाटो चौडा पारी पिच पनि गरेपछि जिरी,सोलुखुम्बु पुग्ने पर्यटकहरुलाई कति सुबिधा पुग्छ होला ?त्यस भेगका ग्रामिण जनताको कृषि उपजको सहज बिक्री र पर्यटकिय बिकासले साँच्चै यो क्षेत्रका जनताको जीबन स्तर पक्कै बदलिने छ । राता ढकमक्क फुलेका लालीगुराँशले यो पहाडी बस्तीको रौनकता नै बेग्लै बनाएको छ । हिमश्रृंखलाहरुको सहज दृष्याबलोकन गर्न सकिने, जैबिक बिबिधताले सम्पन्न,बिबिध जाति जनजातिहरुको साझा साँस्कृतिक धरोहर जिरीलाई नेपालको स्विजरल्याण्ड भनिनुको रहस्य सार्थक छ । जिरीको बिकासमा राज्यले अझै ध्यान दिन सक्ने हो भने त्यसले जिरी दोलखाको मात्र होइन सिङ्गो नेपालकै बिकासमा कोशेढुङ्गा साबित हुनेछ ।

Published at: November 22, 2016 4:36 am

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro