Saturday 25th November 2017

 

युवा आन्दोलनको दिशा,परिवर्तन र आर्थिक समृद्धिको सवाल

 मोहन गौतम-नेपाली जनताको सदिऔ अघिदेखिको इच्छा बमोजिम जननिर्वाचित प्रतिनिधीद्वारा संविधान निर्माण भई जारी भएको वर्ष दिन पार भएको छ । जनताको अथक प्रयाश, बदीदानीपूर्ण सङ्घर्ष र त्यागको वदलामा लोकतान्त्रिक गणतन्त्र सहितको संविधान हामीले पाएका छौं । जनआन्दोलनको उभारलाई उत्कर्षमा पुर्‍याउन समाजको हरेक वर्गले खेलेको महत्वपूर्ण योगदानाई विर्सन सकिदैन । जनआन्दोलनमा सहभागी भएर मोर्चाको अघिल्लो पक्तिबाट निरंकुशताको अन्त्य र गणतन्त्र स्थापनाको नारा घन्काउने ति बुढाबुढी, युवा विद्यार्थी, महिला या असक्त अपाङ्गता भएका व्यक्ति उनिहरुको उत्तिकै योगदान छ । सवै तहका जनताको भावनात्मक एकताको बलले नै यसलाई सार्थक बनाएको हो । यसमा पनि नेपाली युवाले परिवर्तनको अगुवाई कुशल ढंगले गरेका हुन भन्ने कुरामा कुनै दुई मत रहेन । युवा शक्तिमा हरेक क्रान्तिमा होमिएर त्यसलाई सफलताको शिखरमा पुर्याँउन सक्ने आँटिलो जोश जाँगर र क्रियाशीलता भएकै कारण यो संभव भएको हो । तर पनि संविधान निर्माणका बाँकी काम कानुन निर्माण मार्फत पूर्ण गर्ने भन्दा पनि सत्ता परिवर्तनको खिचातानीमा नै दलहरुको समय रुमल्लिरहेको छ । जनताको आर्थिक समृद्धि र विकासको सपना दलहरुले छोडिसकेको अनुभूती जनताले गर्न थालेका छन । अव हामीले यो वर्ष दिन काटिरहँदा राज्यव्यवस्थामा परिवर्तन भएको यो एक दशकको, जनताले देशको मुहार फेर्ने चाहाना बोकेर सुरु गरेको एक शताव्दी अघिदेखी आजसम्मको सङ्घर्षको सिंहावलोकन गर्नै पर्छ अनिमात्र हामी सहि गन्तव्यमा पुग्न सक्छौं ।
हिजो राजनीतिक अवस्था फरक थियो । राजनीतिक व्यवस्थाको परिवर्तनका लागी आन्दोलन र सङ्घर्षको आवश्यकता थियो । सोही अनुसार राजनीतिक दलका नीति, सिद्धान्त कार्यक्रम थिए । सोही अनुसारको संगठनात्मक ढाँचा बनाइएको थियो । व्यवहार त्यही अनुसारको हुन्थ्यो । प्रशिक्षण त्यही सिकाइन्थ्यो । आज समय, परिवेश र राजनीतिक व्यवस्थामा उथलपुथलको पवरिवर्तन आएको छ । संविधान निर्माण मार्फत परिवर्तन संस्थागत भएको छ । तर समयको माग अनुसारको राजनीतिक दिशा परिवर्तन किन हुन सकिरहेको छैन । राजनीतिक दलहरुले किन आफ्ना नीति विचार, कार्यक्रम र व्यवहारहरुमा परिवर्तन गर्न सकेका छैनन ? अवको एजेन्डा आर्थिक समृद्धिको हो । देश विकासको हो । युवा शक्ति, जो संग समृद्धि र देश विकास गर्ने सामथ्र्य छ, हिम्मत छ र जोश जाँगर पनि छ । राज्यले उचित योजना बनाई युवा परिचालन गर्न सके देशले काँचुली फेरिने पनि निश्चित छ । त्यसका लागी हामीले युवामैत्री वातावरण खोरिहेका छौ । आफ्नै देशमा केही गर्नका लागी वातावरण सिर्जना हुन सकिरहेको छैन । जसले समग्र राजनीति प्रति नै युवामा असन्तुष्टीको भावना पैदा भएको छ । जुन व्यवस्था आए पनि उहि रहेछ भन्ने नकारात्मक सोचले घर गर्न थालेको छ ।
युवालाई सत्तामा पुग्न राजनीतिक हतियार मात्रै बनाउँने, हरेक परिवर्तनको मोर्चामा युवालाई अगाडी लगाउँने तर त्यसपछिका दिनमा विर्सने, उनीहरूको पक्षमा स्पष्ट योजना बनाउँन नसक्ने कारणले शिक्षित र अशिक्षित युवा बिदेश पलायन हुने बाध्यात्मक अवस्था छ । आज पनि दैनिक हजारौ युवा आफ्नो परिवार र भोलीको पिढीको सुन्दर भविष्यको खोजीमा युरोप, अमेरिका र खाँडीको यात्रामा निस्कन्छन । लाखौं युवा खाँडीको तातो घाममा न्युन श्रम मुल्यमा रगत पसिना बगाइरहेका छन । देशमा रोजगारीको अवसर सिर्जना हुन सकिरहेको छैन । स्वदेशमा भएका युवाहरुको दैनिकी कुनै न कुनै राजनीतिक दलको छाता आढेर टायर वाल्ने र ढुंगा हान्नेमा नै सिमित बन्न थालेको छ । यसले नयाँ पुस्तामा पर्याप्त निराशा र वितृष्णा उब्जीइनु स्वभाविक नै मान्न सकिन्छ । राजनीतिक दलले मात्रै होइन आशाा र भरोसाका केन्द्रको रुपमा रहेका युवा संघ संगठनहरुले समेत युवा सशक्तिकरण र आर्थिक समृद्धिको बलियो र भरपर्दो विकल्प दिन सकेका छैनन् । जसले यर्याप्त प्रश्न उठाएको छ, युवा शक्तिले आफ्नो यथार्तता र पिडालाई किन साझा एजेण्डा बनाउन सकेनन् ? स्वरोजगार र आत्मनिर्भरताको सवाललाई स्थापित गर्नका लागि आफै पनि किन केही गर्न सकेनन् ? नयाँ परिस्थितिमा नविन सोचका साथ किन विकल्प दिन सकेनन् ?
हामी धेरै ढिला भई सकेका छौ वर्तमान परिपाटीलाई चुनौती दिदै आत्म निर्भर भई स्वरोजगारको सवाललाई सुन्दर बनाएर देशलाई हरेक ढंगले समृद्धिको बाटोमा अघि बढाउँने कामको नेतृत्व गर्न । त्यसैले गहन ईच्छाशक्तिका साथ केही गर्ने हिम्मत राख्ने हो भने युवाको ब्यावसायिक दक्षता वृद्धि गर्नका लागी सक्षम र आत्मनिर्भर बनाउने उपायको बारेमा छलफल थालौं । स्वदेशमै स्वरोजगार र आत्मनिर्भरताको लागि अवको छलफल र युवा आन्दोलनको दिशा केन्द्रित हुन आवश्यक छ । आर्थिक उत्पादनमा जोडिएका कार्यकर्ताको पक्ति निर्माण गर्ने हो भने चन्दा आतंक रोक्न समेत बल पुग्दछ । राजनीतिमा इमान्दार कार्यकताको पक्ति हुँदा विग्रदो राजनीतिक संस्कारमा सुधार ल्याउन सकिने देखिन्छ । युवा संघ संगठनले यसमा जोड दिन आवश्यक छ । यसका अलवा कार्यकता रोजगारी, उत्पादन र आर्थिक समृद्धिमा जोड्ने भन्दा पनि ढुंगा हान्ने काममा नै युवाहरुलाई बराल्ने हो भने त्यस्ता राजनीतिक दल र युवा संगठन कमजोर र युवाहरुको ठूलो हिस्साबाट अलग्गिदै जाने निश्चित छ । यसममा समयमै सम्वन्धित पक्षको जिम्मेवारीता वहनमा ध्यान जानु जरुरी छ ।
वर्तमान परिपाटीलाई दृष्टिगत गरेर समग्र युवा वर्गले नयाँ योजना बनाई समाज समृद्धिको नारालाई जीवन्त तुल्याँने हो भने फरक ढंगले सोच्न जरुरी छ । बास्तवमै परिवर्तन र आत्म निर्भरताको आभास गर्न सकियोस् । जसका लागि स्वरोजगार र आत्म निर्भर युवा जमात निर्माण गर्दै देशको समृद्धिमा परिचालन गर्नु नै अहिलेको मुख्य कार्यभार हो ।
युवा स्वरोजगारीका लागि निम्न कुरा प्रस्थान विन्दु हुन सक्छन :
ड्ड पूँजी व्यवस्थापन : व्यवसायिक पूँजी अभाव भएकै कारण युवाहरु स्वरोजगारीका काममा सहभागी हुन नसक्ने स्थिति अहिलेको मुख्य समस्या हो । राज्यले पूँजीको व्यवस्थापन गर्ने नाममा युवा स्वरोजगार कोषको स्थापना त गरेको छ र पनि भरपर्दो विकल्प बन्न सकेको छैन । केहि गर्न चाहाने युवाहरुले राज्यले विकास गरेको यस संयन्त्रको सेवा सुविधा सरल रुपमा उपभोग गर्न पाउनु पर्ने हो । तर युवाहरुको सहज पहुँच पुग्न सकेको छैन । बैङ्क तथा वित्तिय संस्थाहरुले समेत कोषको रकम परिचलनको कामलई झन्झटका रुपमा लिने गरेका छन । यसको कार्यान्यन गर्न सरल र सहज हुने संयन्त्रको खोजी र विकास गर्नुपर्ने देखिन्छ । ग्रामिण या सहरी क्षेत्र जहाँबस्ने युवाहरुले पनि सहज रुपमा उपयोग गर्न सक्ने बनाउन आवश्यक छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई लक्षित गरी उनिहरुले सिकेका सीपको प्रयोग गर्न व्यवसायिक वातावरण बनाउन राज्यले उचित नीति निर्माण गर्न आवश्यक छ । यि लगायत अन्य विकल्पहरुको समेत खोजि गरीनु पर्दछ । 
सीप विकास : व्यवसायिक काममा लाग्न र आफ्नो व्यवसायलाई सफल बनाउन व्यवसायिक सीपको महत्वपूर्ण स्थान रहन्छ । हचुवाको भरमा व्यवसाय सुरु गर्दा सुरुवाती चरणमै व्यवसाय डुवेर युवाहरु पलायन हुने गरेका धेरै उदाहरण छन । पर्याप्त सीप र दक्षताको विकास नगरी व्यवसायमा लाग्नु जोखिमपूर्ण हुन सक्ने भएकोले राज्यले युवाहरुको व्यवसायिक सीप र दक्षता वृद्धिमा योजनावद्ध काम थाल्नु पर्ने देखिन्छ । यसमा राज्य र एनजिओ, आइएनजिआहरुले ठूलो धनराशी खर्च नगरेका पनि होइनन । योजनावद्ध कामको अभावमा उत्पादित जनशक्तिलाई तुरुन्तै व्यवसायिक काममा लगाउन सकिएको छैन । युवाहरुको सीप विकासका लागि युवा संघ संस्था र पार्टीका भादृसंगठनले महत्वपूर्ण योगदान पु¥याउन सक्दछन । संगठित रुपमा रहेका युवालाई सीप विकासको माध्यम बनाउँदा छोटो समयमै धेरै युवालाई सक्षम बनाउन सकिन्छ । उचित नीति निर्माण गर्न आवश्यक छ ।
व्यवसायिक सुरक्षाको ग्यारेण्टी : पूँजी र व्यवसायिक सीप भएर मात्रै व्यवसाय सफल बनाउन सकिदैन । व्यवसाय लाई दिगो र सफल बनाउन व्यवसायिक सुरक्षाको ग्यारेन्टी हुने स्थिति सिर्जना गरिदिनु राज्यको अर्को महत्वपूर्ण काम हो । व्यवसायको विमा गर्नका लागी उत्प्रेरित गरी विमालाई सरल र सहज बनउने हो भने पनि व्यवसायलाई सुरक्षित बनाउन योगदान पुग्न सक्दछ । आवश्यक कच्चा पदार्थ, विउ विजनको व्यवस्थापनमा सहयोग पु¥याउनु राज्यको दायित्व हो । यसले व्यवसाय सुरक्षित बनाउन मछत गर्दछ । उत्पादिन सामान र वस्तु तथा सेवाको वजारीकरणका लागी राज्यले छुट्टै संयन्त्र विकास गर्नु पर्ने देखिन्छ । उत्पादित वस्तु तथा सेवा वजारसम्म

पुर्‍याउन कठिन हुने र बजार मुल्य समेत उचित पाउन नसक्ने हालको अवस्थालाई विस्थापित गरिनु पर्दछ र राज्यले उपर्युक्त विकल्प दिन सक्नु पर्दछ । राजनीतिक कारणले उद्योग व्यवसाय वन्द हुने अवस्था अब आउन दिनु हुँदैन ।

अन्त्यमा, नविन सोचका साथ युवाहरुको आर्थिक समृद्धि विना देशको विकास असंभव छ । अव पनि देशमै रोजगारीका बाटहरु पहिल्याउन नसकेर वैदेशिक रोजगारीमा न्युन मुल्यमा श्रम विक्रिमा पठाउनु राज्यको ठूलो कमजोरी हो । देशमै केहि गर्न सक्ने बनाउनु अहिलेको मुख्य आवश्यकता हो । यसम दिशामा सरकार, राजनीतिक दल, नीति निर्माता र युवा संघ संस्थाले आफ्ना भूमिका र गतिविधी केन्द्रीत गर्नु जरुरी छ । समयमै सम्बन्धित पक्षको ध्यान नजाने हो भने भयावह स्थिति सिर्जना हुन सक्दछ । जुन जोगी आए पनि कानै चिरेका भन्ने नेपाली समाजको पुरानो कथनलाई चुनौती दिने गरी काम गर्नका लागी हामी सबैमा जोश जाँगर र हौसला मिलोस । शुभकामना ।

Published at: November 26, 2016 2:03 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro