Thursday 14th December 2017

 

नयाँ शक्ति नेपाल वैकल्पिक विचारसहितको सुशासन र समृद्धिको एजेण्डालाई उठान गर्ने अभियान हो : देवेन्द्र पौडेल

नयाँ शक्ति नेपाल अहिले अलगधार लिएर नेपालको राजनीतिमा विकल्पको रुपमा छाउने उद्धेश्यका साथ लागि परेको छ । सो पार्टी के गर्दैछ किन स्थापना भयो लगाएतको जिज्ञासा मेटाउन नयाँ शक्ति नेपालका संगठन बिभाग प्रमुख एवम पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईका राजनैतिक सल्लाहकार समेत रहेका देवेन्द्र पौडेलसंग आशाका किरणका लागि सुदर्शन बजगाईले गरेको कुराकानीको संपादित अंश :

 के गर्दैछ, अहिले नयाँ शक्ति नेपाल ?
भर्खरै केन्द्रीय समितिको बैठक बसेर जेठसम्मको विशेष संगठन विस्तार तथा अधिवेशन अभियान सञ्चालन गर्दैछौं । र विगत ६ महिना भित्रमा हामीले ७५ वटै जिल्लामा जिल्लाका प्रारम्भिक संरचनाहरू निर्माण गरेका छौं । अब उहाँहरूसम्म अहिले बन्दै गरेका नगरपालिका र गाउँपालिकाका संरचनाहरू निर्माण गर्दै संगठनलाई विस्तार गर्ने र देशको राष्ट्रिय राजनीतिमा पनि विस्तारै हामीले पहल लिने गरी कार्यसूची बनाएर अगाडि बढिरहेका छौं ।

तपाईं माओवादी पार्टीमा पनि क्रियाशील हुनुहुन्थ्यो तर, पनि माओवादी छँदाछँदै नयाँ शक्तिको आवश्यकता किन रह्यो ?
यो धेरै नै जटिल र एउटा सम्वेदनशील प्रश्नको रूपमा मैले यसलाई ग्रहण गरेको छु । किनकि योभन्दा पहिला पनि माओवादी आन्दोलनको सुरुवातकर्ता हामीहरू नै थियौं । र अहिले नयाँ शक्ति नेपालको सुरुवातकर्ता पनि हामी नै छौं । र दुईटाको अवस्था चाहीँ तालमेलताबारेमा पनि अनुभूतिहरू छन् । पहिलो कुरा माओवादी आन्दोलनले गणतन्त्र र संघीयताको निम्ति संघर्षको उठान गरेको थियो । त्यो अध्याय समाप्त भएको छ । राजनीतिक आन्दोलनका सबै श्रृंखलाहरूको अन्त्य भने भएको होइन । र, अब हाम्रो शत्रुको रूपमा रहेको भनेको गरिबी, शिक्षा र अभाव रहेका छन् । ती चीजहरूको अन्त गर्नका निम्ति हिजो गठित गरेका पार्टीहरूले हिजो लिएका नीतिहरूले अब पछिल्ला चुनौतीहरूको सामना गर्ने सम्भावना रहँदैन । त्यसकारण पहिलो प्रयत्न त्यहीँ भएकै पार्टीलाई पछिल्ला चुनौतीहरू सामना गर्ने गरी रूपान्तरण गराउन हामीले प्रयत्न गर्‍यौं । त्यसैले यो नयाँ शक्ति नेपाल पार्टी मात्र नभएर वैकल्पिक विचारसहितको सुशासन र समृद्धिको एजेण्डालाई प्रशान्त बिन्दु बनाएर एउटा निश्चित आवधिक चरणमा त्यहाँ पुर्‍याउने लक्ष्यसहितको एउटा अभियान हो । त्यस अर्थमा हामीले पहिलाको पार्टी छाडेर यो पार्टीमा आएर आबद्ध हुन बाध्य भएका हौं ।

नयाँ शक्ति नेपालको सांगठनिक अवस्था कस्तो छ ? र आगामी चुनावमा यो पार्टीले आफूलाई कहाँ पुर्‍याउने छ ?
सांगठनिक अवस्था करिब करिब ७४ जिल्लामा जिल्लाको अन्तरिम परिषद् र एउटा जिल्लामा सम्पर्क संयन्त्र हामीले बनाएका छौं । करिब ४० प्रतिशतभन्दा बढी गाउँ र नगरमा पनि हाम्रा संरचनाहरू बनेका छन् । झण्डै २५ देशहरूमा विशेष गरी विदेशमा रहेका नेपालीहरूबीच अन्तर्राष्ट्रिय क्षेत्रहरूमा पनि हाम्रा संयन्त्रहरू बनेका छन् । र, अरू कतिपय विभिन्न आंगिक र पेशा, व्यावसायसँग सम्बन्धित संगठनहरू झण्डै २२ वटा हामीहरूले केन्द्रीय रूपमा बनाएका छौं । तिनीहरू सबैको अधिवेशनहरू गर्दै जनस्तरमा जोड्ने र जनस्तरमा पार्टीको सञ्जाल संरचनालाई व्यवस्थित गर्ने गरी हामी अब अगाडि बढ्दै छौं । यो बीचमा मैले धेरै पार्टीहरूको प्रारम्भिक इतिहासहरू पनि हेरेँ, हाम्रो मात्रै पार्टी यस्तो रहेछ । जुन पार्टीले एक वर्षमा ७५ वटै जिल्लामा आफ्नो प्रारम्भिक संरचना बनाउन सफल रह्यौं । अरू पार्टीहरूको यति धेरै छोटो समयमा पार्टीको संरचना बनेको हामीले पाउँदैनौं । त्यसकारणले पनि अब हामीले यो प्रारम्भिक स्केचलाई यत्तिकै पुग्दैन । हामीले यसलाई जनस्तरमा लैजानका निम्ति अर्को दोश्रो फेजको अभियान यो एक वर्षमा बनाएर लैजाने भनेका छौं । त्यसपछि हामी अगाडि बढ्छौं ।

तपाईंहरूलाई एउटा आरोप लाग्ने गरेको छ । भारतको केजरीवालले नेतृत्व गरेको पार्टीको सिको र अभियान पनि त्यस्तै खालको सञ्चालन गर्यो र अनुहार पुरानै पार्टी मात्र नयाँ भन्ने छ नि । तपाईं यसमा के भन्नु हुन्छ ?
यसमा के छ भन्दाखेरी, केजरीवाल, अन्ना हजारीलगायत कुनै नयाँ व्यक्ति, कुनै समुन्द्रबाट या कुनै आकाशबाट लिएका व्यक्तिहरू होइनन् । उनीहरू निरन्तर सामाजिक आन्दोलनमा थिए । जनताको पक्षमा निरन्तर आवाज उठाउँदै आएकाहरू थिए । यद्यपि, उनीहरूसँगको सुमधुर भाईचारा सम्बन्ध हाम्रो होइन । खाली पछिल्लो स्थितिमा कतिपय परम्परागत पार्टीहरूको प्रभाव भएको ठाउँमा उनीहरूले छोटो समयमा पार्टीको एउटा पोजिसन देखा परेको हुँदाखेरी सबैले त्यसलाई उदाहरणको रूपमा मान्ने गर्छन् । हामीले पनि कसरी गरे होलान् भनेर उनीहरूका डकुमेन्टहरू हेर्ने, उनीहरूसँग भेटघात गर्ने, उनीहरूका कार्यशैलीहरू सिक्ने हामीले प्रयत्न गर्यौं ।

यसै प्रसङ्गमा यहाँ कतिपय पुरानै पार्टीहरूबाट प्रभावित भएकाहरू यो नबनोस् भन्नेहरूले र यो पार्टी नबनोस् भन्ने चाहना भएका र अरू कुनै उद्देश्य लिएर आएकाहरूले मान्छेहरू भित्र पुराना र नयाँ भनेर भ्रम छरेका छन् । यो कुनै विज्ञान पनि होइन, र कुनै गणित पनि होइन । त्यसैले मानिस कहिल्यै पुराना र नयाँ हुँदैन । मानिस चाहीँ उमेरको हिसाबले युवा, प्रौढ, ज्येष्ठ हुन्छ तर, मान्छे कार्यक्रममा उसको उद्देश्यमा, उसको लक्ष्यमा र बनेको समकालीन योजनाअनुरूप अगाडि बढ्न सक्छ की सक्दैन भन्ने कुराले उसको गतिशीलताको निर्धारण गर्दछ । व्यक्ति पुरानो र नयाँ भन्ने कुरा हुँदैन । त्यसैले यो अभौतिक कुरा गरेर भ्रमित पार्ने काम यो नबनोस् भन्नेहरूले मात्र गरेको मैले पाएको छु ।

माओवादी छाडेर नयाँ शक्तिमा आएपछि विभिन्न खालका मान्छेहरूलाई पनि समेट्नु भएको छ । व्यवस्थापनमा कस्तो जटिलताको अनुभव गर्नुभएको छ ?
अत्यन्तै नयाँपनको महशुस गरेको छु । फरक प्रकृतिको सहकार्य हामीले गरेका छौं । यद्यपि, हाम्रा बुझाईहरू, दृष्टिकोणहरू, सोचहरूमा विविधता हुनु स्वाभाविक हो । किनभने, एउटै पार्टीमा एउटै दृष्टिकोण, एउटै दर्शन, एउटै मूल्य मान्यतालाई आफ्नो साथ गरेका पार्टीहरू त फुटेर चिरा चिरा भएर विभिन्न चरणमा व्यक्त भएका हामीले पाउँछौं । विभिन्न दृष्टिकोणहरू कोही कांग्रेस पृष्ठभूमिका, कोही माओवादी पृष्ठभूमिका, कोही एमाले पृष्ठभूमिका कोही चाहीँ अब अन्तर्राष्ट्रिय संघसंस्थामा काम गरेका पृष्ठभूमिका साथीहरूको जमघट हुनु अवश्य पनि ती भावनात्मक रूपमा ती जमघटहरूलाई एउटा मिशनमा उठाउने कुरा चुनौतीकै कुरा हो । तर, पनि यहाँसम्म आईपुग्दा खेरी त्यस्तो जटिल चाही हामीलाई महशुस भएको छैन । हामीले जुन पाँच ‘स’ भनेर पार्टीको आधारभूत नीति बनाएका छौं, त्यसमा हाम्रो प्रतिबद्धता छ । र काममा, हामी एकरूपतासहित जाने र खासगरी अभिव्यक्तिमा हामीले स्वतन्त्रतापूर्वक छलफल चलाउने प्रणाली हामीले अपनाएका छौं ।

संघीय समाजवादी फोरमसँग नयाँ शक्तिको एकीकरण हुने भन्ने जुन हल्ला छ । यसमा पार्टीको आधिकारिक धारणा के छ ?
यो एकीकरण, उहाँहरूसित मात्र होइन । हामी अरू थुप्रै पक्षहरूसँग कांग्रेसका, एमालेका, माओवादी केन्द्रका अरू थुप्रैसित पनि हामीले भेटघात गरेका छौं । त्यसैगरी, अरू पार्टीहरूसित पनि वृहत ध्रुवीकरणका निम्ति हाम्रो कुरा चलेको छ । यो संघीय गठबन्धन अथवा ३० दलीय गठबन्धन भनेर जुन उहाँहरूले बनाउनु भएको छ । त्यो गठबन्धन र सरकारको बीचमा वार्ता चलेको प्रसङ्गमा सरकार र गठबन्धनको वार्ताबाट कति उपलब्धि प्राप्त गर्न सकिन्छ । त्यो उपलब्धि प्राप्त गरेर अर्को धु्रवीकरणका निम्ति अगाडि बढौँ भनेर हामीले प्रस्ताव गरेका छौं । उहाँहरूले पनि यसलाई गम्भीरतापूर्वक लिन्छौं । हाम्रा कति–कति कुराहरू मिल्छन्, कति कुरामा फरक छन् त्यो विषयमा छलफल चलाउँदै जाऔँ । यसमा यदि हाम्रा विषयहरू धेरै मिल्यो भने धेरै टाढा रहिरहनु पर्छ भन्ने केही पनि छैन । त्यसमा सहकार्य गरेर जान सक्छौं भन्ने हामीबीच कुरा भएको हो । तर, वृहत र वैकल्पिकबाट ध्रुवीकरणको निम्ति हाम्रो प्रयत्न जारी छ । अबको केही समयभित्रमा एउटा कोर्ष चाही हामीले पूरा गर्नेछौं ।

जस्तो डा. बाबुराम भट्टराईले पार्टी एकीकरणपछि पुनः संविधानसभा जुन अहिले पुनःस्थापित संसद्को रूपमा अगाडि बढिरहेको छ । त्यसमा जाने भन्ने कुरा भ्रामक नै हो त ?
त्यो बिल्कुलै भ्रामक नै हो । त्यो कुरा मिसिएर जसरी आयो । उहाँलाई संसद्मा पुनर्बहाली गर्ने भन्ने जुन कुरा आयो । त्यो सयमा सय प्रतिशत झूट कुरा हो । उहाँ जान चाहने प्रश्नै उठ्दैन र नैतिक रूपमा पनि मिल्दैन । डा. बाबुराम भट्टराई जस्तो व्यक्तिले त्यत्तिका बहुमत ल्याएर विजयी प्राप्त गरेको व्यक्तिले छाडेको संसद्मा पुनः म पुग्छु भन्ने कुरा पनि हुँदैन, उहाँले सोच्न सक्ने कुरा पनि भएन । त्यो मिडियामा आएको सामान्य हल्ला बाहेक अरू केही पनि होइन । तर वृहत धु्रवीकरणको विषयमा उठेको कुरा चाहीँ साँचो हो । यी दुई विषयलाई फरक–फरक अर्थमा बुझ्नु आवश्यक छ ।

सीमांकनको विषयमा नयाँ शक्तिको आधिकारिक धारणा के हो ?
सीमांकनको बारेमा खासगरी पहिलो संविधानसभाले जुन विषयहरू संश्लेषित गरेर स्वामित्व ग्रहण गर्ने भनेर किटान गरेको थियो । त्यसपछि गएर विभिन्न संविधानसभा भित्रका समितिहरूले व्यक्त गरेका विचार, निर्णय गरेका कुराहरूलाई स्वामित्व ग्रहण गरेर दोश्रो संविधानसभाले त्यसैका आधारमा भनेको मतलब त्यसभित्र मुख्य जनसंख्याका आधारमा खासगरी प्रदेश र नयाँ सीमांकन र पुनः समीकरण गर्ने, पहिचान र सामथ्र्यका आधारमा संघीयताको मोडालिटी सुनिश्चित गर्ने र त्यसको साथसाथै नेपाली विशेषताअनुरूप संघीयता जुन प्रशासनिक एकाईको विभाजन मात्र होइन की मान्छेको भाषा, संस्कृति, आँचलिकता खासगरी लोकेसन त्यसमा रहेका कतिपय भावनात्मक पक्षहरूमा पनि हिजो एकात्मक राज्य प्रणालीले कहाँ–कहाँ अलिकति उनीहरूलाई एकीकृत गर्नका निम्ति अप्ठ्यारो श्रृजना गरेको थियो । त्यसको अन्त्य गरेर त्योसहितको संघीयता नेपाली जनताले चाहेका हुन् ।

र, त्यो चाही संघीयता हुनुपर्छ
भनेर हाम्रो अहिले पनि कुरा हो । र, भूगोलमा कुन प्रदेश कहाँ र कुन जिल्ला कहाँ मिलाउने कुरा भन्नु भन्दा पनि त्यसका आधारमा कतिपय सीमांकनका विषयहरू मिलेका छैनन् । पूर्वका पश्चिमका कतिपय कुरा मिलेका छैनन् । र, केही खास नेता विशेषको इच्छामा नितान्त भड्किएको छ । उदाहरणको निम्ति, अहिलेको बहालवाला प्रदेश नम्बर ५ का केही जिल्लाहरू विवादित छन् । नेताहरूको इच्छा यत्ति धेरै जोडिएको छ की, संशोधन प्रस्ताव प्रस्तुत गर्नेहरूले पनि यसलाई मान्दैनौं भनेर त्यसलाई इगोको रूपमा लिएर सार्वजनिक गर्नुभएको छ । खासगरी त्यो प्रस्ताव गर्नेहरूले पनि पास हुन्छ भन्ने कुरामा दुविधा छ । पूर्वतिरका केही जिल्लाहरू जस्तो झापा भनौँ, सुनसरीको प्रसङ्ग हेरौँ भने पनि केही सिनिएर तथा व्यक्ति विशेषको इच्छाको रूपमा त्यसलाई कैद गरिएको छ । सुदूरपश्चिमको भूगोलको कुरा हेर्यो भने पनि केही नेता विशेषको इच्छामा कैद गरिएको छ । हाम्रो भनाई के हो भने त्यस्तो गर्नु हुँदैन । त्यहाँका जनताका चाहना र इच्छा अनुरूप के गर्दा हुन्छ भनेर एकले अर्कालाई विश्वास गरेर एउटै कुनै जिल्ला कुनै प्रदेशमा पर्यो भनेदेखि अरू कुनै प्रदेशमा परेको जिल्लाका नागरिकहरू त्यहाँ उद्योग खोल्न, व्यावसाय खोल्न, बसोबास सर्न रोकिने, भिसा चाहिने, पासपोर्ट लागू हुने कसैले कही पनि भने छैन । यति धेरै अतिरञ्जित गरिएको छ की त्यहाँ भित्र भएका साधन श्रोत अर्का ठाउँमा लैजान नपाइने भनेपछि त्यहीँ रहन पाइने भनेर छुट्टै देश बनाउन पाइने जस्तो गरी काम गरेको पाइयो । त्यस्तो बिल्कुलै होइन । खासगरी पहिचान, सामथ्र्य, जनसंख्यालगायत गतिविधिलाई आधार मानेर संघीयताको नयाँ मोडेल बनाउँदा चाही वास्तवमा राम्रो हुन्थ्यो । त्यो नभएर अलि इगोको रूपमा आएर अलिकति अप्ठ्यारो परेको छ । हामी प्रस्त रूपमा त्यहीँ पहिलो संविधानसभाले गरेको जुन स्वामित्व ग्रहण हो, त्यहीँ वरीपरी नै हामी छौं । र त्यत्ति सकिएन भने पनि कमसेकम अन्तरिम संविधान र त्यो वरीपरी रह्यो भने पनि कुरा मिल्छ ।

संविधान संशोधनको कुराले विभिन्न राजनीतिक दलहरू ध्रुवीकृत गरिरहेको छ । राजनीतिक दलका नेताहरू पनि एकआपसमा सम्वादहीनताको अवस्थामा पनि पुग्यो केही समय अगाडि । तपाईं यो पार्टीको प्रमुख अभियन्ताको रूपमा पनि चिन्नुहुन्छ । अब यो समस्याको समाधान गर्न कस्ता कुराहरूको अवलोकन गर्न सकिन्छ ?
खासगरी यो ध्रुवीकरणको प्रसङ्ग चलेकै छ । संविधान संशोधनको जुन प्रसङ्ग हो । कुनै पनि संसारको संविधान असंशोधनिय भन्ने कुरा केहीँ पनि हुँदैन । र, यो हामीले बनाएको संविधानको घोषणाको प्रसङ्ग सँगै जनताको भावना र चाहना अनुरूप संशोधन गर्ने समृद्ध गर्दै जाने भनेका हौं । त्यसले खासगरी प्रस्तावनामा नेपालको विशेषतामा समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रको सारतत्व समन्वय भनेर संविधानमा उल्लेख गरिएको छ । त्यसमा थप थप समस्याहरू आउँदै जाँदा समाजको विकास, मान्छेको चेतनाको स्तर र कतिपय जनताको भावना र चाहनाको अभिव्यक्ति अनुरूप त्यसलाई समृद्ध गर्दै जाने हो ।

हिजो संविधान घोषणा हुने बेलामा अपनत्व महशुस नगरेर छुट्नु भएका कतिपय पक्षहरूलाई यत्ति धेरै पूर्वाग्रह गरियो की, विदेशीले उक्साएको भनेर स्वाभाविक रूपमा अनावश्यक रूपमा छिमेकी मित्र राष्ट्रहरूलाई तान्ने काम पनि भयो र अस्वाभाविक रूपमा छिमेकी राष्ट्रहरू पनि घुस्ने प्रयत्नहरू पनि रहेँ । त्यो दुईटै चीजहरू गलत हुन् । त्यसैले संविधानलाई जनताको चाहनाअनुरूप सबैको स्वामित्व हुनेगरी अलि अलि संशोधन गरेर हिजो कतिपय छुटेका नामांकन, सीमांकनका विषयहरू टुंग्याउन सकिन्छ भने टुंग्याएर जाने कुरालाई नितान्त सकारात्मक रूपमा हामीले लिएका छौं ।

माओवादीबाट नयाँ शक्ति पार्टीमा आउनु भएको छ । यी दुई पार्टीबीचमा के भिन्नता पाउनु भयो ?
भिन्नता छ । हामीले खासगरी जनवादी केन्द्रीयता, अल्पमत बहुमतको मातहत रहने त्यसैगरी, अलिकति लेनिनवादी, स्टालिनवादी र माओकालीन प्रणालीहरूलाई नै अध्ययन गरेर त्यसका आधारमा संगठन चलाउने प्रयत्न गथ्र्यौं । धेरैजसो केन्द्रिकृत प्रणालीहरू नै थिए । इञ्चार्जको बर्चश्व रहने गरी हामीले प्रणालीहरू बनाउने गथ्र्यौं । युद्धकालमा स्वतः त्यो हाबी नै थियो । पछिल्लो शान्तिकालमा आइसकेपछि पनि त्यसैको निरन्तरता निर्बाध रूपमा रह्यो । र अहिले हामीले त्यस्तो गरेका छैनौं । अहिले हामीले अलिकति अभिव्यक्तिको स्वतन्त्रतालाई तलसम्म हामीले सम्बोधन गर्ने तर फेरी त्यसको अर्थ चाहीँ काममै जाँदा खेरी पनि मान्छेले स्वतन्त्र छ भन्दै काममै जाँदा पनि एकरूपता पैदा नगर्ने हो भनेदेखि पार्टी पार्टीको रूपमा रहँदैन एउटा अराजक र पार्टी नै रहँदैन, अस्तित्व नै रहन्न । त्यसकारणले हामीले अलिकति फरक प्रकारले हामीले छलफलमा साथीहरूको सुझाव लिनेमा बढीभन्दा बढी लोकतन्त्रको प्रयोग गर्ने, काममा जाँदा खेरी भएको निष्कर्षलाई लागू गर्ने गरी त्यो प्रणालीमा जाने गरी हामीले संगठनात्मक रूपमा प्रणाली बनाएका छौं ।

डा. बाबुराम भट्टराईले माओवादी पार्टीको सिद्धान्त पनि छोडिसक्नु भएको छ । जनतालाई यो स्पष्ट गर्दिनुस् की, नयाँ शक्ति पार्टी कस्तो पार्टी हो ?
यो पार्टी अहिलेको नेपाल सुहाउँदो पार्टी हो । अहिलेको २१ औँ शताब्दीको विषय सुहाउँदो पार्टी हो । नेपालमा झण्डै ५० लाख आसपास युवाहरू रोजगार नपाएर बाहिर रहेका छन् । उनीहरूको विकल्प दिन सक्नु पर्छ । र, नेपाल आर्थिक रूपमा नितान्त एक प्रतिशत पनि वृद्धिदर नभएको अवस्थामा छ । हाम्रो ध्यान त्यहाँ पुग्नु पर्छ । र नेपालका दुई छिमेकी राष्ट्रहरू भारत र चीन चाहीँ ८ देखि १० प्रतिशत आर्थिक वृद्धिदरमा अगाडि बढिराखे छन् । उनीहरूलाई बिट गर्ने खालको हुनुपर्छ । त्यसकारण हामीले अबको निकास आर्थिक विकास भनेर सिद्धान्तलाई नै अलिकति बढी राजनीतिक मुद्दा पनि अर्थ प्रणालीसँग जोडेर बनाएको हुँदाखेरी त्यो विषय सम्बोधन गरेर अबको २५ वर्षसम्ममा हाम्रै पालामा अहिलेकै नेताले जनताको समकालीन उनीहरूकै समूहको पालामा नेपालले एउटा समृद्ध देश बनाउनु पर्छ भन्ने परिकल्पनासहित हामी नयाँ शक्तिमा लागेका हौं । उदाहरणका निम्ति भनौं, नेपालमा धेरै रेमिट्यान्स छ अहिले, नेपालमा बाहिरबाट नेपाली जनताले श्रम गरेर ल्याउने रेमिट्यान्सभन्दा ५ गुणा बढी रेमिट्यान्स नेपालबाट भारत जान्छ । त्यसैले नेपाल पैसा नै नभएको देश होइन । साधन श्रोत पनि छ । खालि त्यसको व्यवस्थापन र अलिकति योजनाबद्ध कार्यान्वयनको अभाव भएको हुँदा त्यसलाई अलिकति पहल गरेर नयाँ तरिकाले सोच्यौँ, जनताको त्यो जाँगर ल्याउन सक्यौँ भने हाम्रै पालामा समृद्धि सम्भव छ ।

अन्त्यमा, आम नेपाली जनता र नयाँ शक्ति पार्टीका कार्यकर्ताहरूलाई के सन्देश दिन चाहनु हुन्छ ?
जनसमुदायहरूलाई यो वैकल्पिक धाराको रूपमा आएको हुँदाखेरी कतिपय यो पर्खाईमा जो हुनुहुन्छ । उहाँहरू सबैलाई हाम्रो आग्रह के छ भन्दाखेरी पर्खने होइन । कुनै पनि चीज अलिकति फरक सोचसहित ल्याएको छ भने त्यसमा सहभागी भएर अगाडि बढ्नु पर्छ । र आलोचनासहित सहभागी हुनको निम्ति आम जनसमुदायलाई हामी आग्रह पनि गर्न चाहन्छौं । त्यसको साथसाथै यसमा आबद्ध हुनुभएका अभियन्ता साथीहरूले अब हामी अर्को अभियानको चरणमा प्रवेश गर्ने हुँदा यो बन्छ की बन्दैन भनेर आशंकित हुने होइन की, यसलाई जसरी पनि बनाएर एउटै वैकल्पिक धार सशक्त धारको रूपमा यसलाई अगाडि बढाउने हो भने सक्रिय भएर लाग्न सम्पूर्ण अभियन्ताहरूलाई म आग्रह गर्दछु ।

Published at: December 1, 2016 9:37 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro