Tuesday 26th September 2017

 

एपिएफको साघुँरो जित

jahpa12

झापा– सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजनको प्रतिद्वन्द्वी सिएमजी संकटा क्लबलाई १–० ले पराजित गर्दै मंगलबार मेची नेत्रालय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

राजधानीका दुई चर्चित क्लब आमनेसामने हुँदा प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल फाइनल सरह हुने अपेक्षा गरिएको थियो । त्यही अनुरुप दुवै टोलीले प्रतिस्पर्धात्मक प्रदर्शन गर्दा एपिएफ १–० को साँघुरो अन्तरमा विजयी भयो ।
एपिएफको जितसँगै प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । अन्तिम चारको खेलमा एपिएफले आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग प्रतिस्पर्धा गर्नेछ भने अर्को सेमिफाइनल रमपम झापा–११ र रुपन्देही–११ बीच हुनेछ ।
काँकडभिट्टाको मैदानमा ओर्लिँदा एपिएफसँग स्टार खेलाडी अञ्जन विष्ट, रञ्जन विष्ट, राजेन्द्र रावल र आदित्य चौधरीको साथ थिएन । चोटग्रस्त उनीहरू आराम गरिरहेको एपिएफ व्यवस्थापनले जनाएको छ । तर, उनीहरूको अभाव खट्किन नदिई हरि कार्कीले टोप विष्टको पासमा १७ औं मिनेटमा गोल गरे । एपिएफको जितमा निर्णायक गोल गरेका हरि म्यान अफ दि म्याचबाट पुरस्कृत भए ।

गोल गर्नुका साथै हरिले पूरा खेल अवधिभर विपक्षी रक्षापंक्तिमाथि दबाब सिर्जना गरेका थिए । तर उनका धेरैै प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले विफल पारेका थिए । १६ औं  मिनेटमा एपिएफका सुदीप शिख्राकारको पासलाई नविन लामाले हेड गोल गर्ने प्रयास गरेका थिए । पाल्साङ लामाका केही शक्तिशाली प्रहार पनि खेर गएका थिए ।

एपिएफ आइतबार हेटौंडामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा  मनाङ मस्र्याङदीसंग ३—२ ले पराजित भएको थियो । तर संकटालाई हराएर एपिएफले हेटौंडामा भोगेको हारको पीडामा मलम लगाएको छ ।

सिजनमा पहिलो पटक आमनेसामने हुँदा गोल खाइसकेपछि संकटा खेलमा फर्कन सकेन । पर्याप्त समय भए पनि रवि सिलवालको कप्तानीमा निराजन खड्का, अमित तामाङ, विश्व अधिकारी, सविन खड्का र तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको संकटाको पुनरागमन प्रयास सफल भएन ।

संकटाविरुद्ध जितेपछि  एपिएफका प्रशिक्षक रत्नकाजी मर्हजनले खुसी व्यक्त गरे ।  ‘झापाकै सुरुंगा गोल्डकपसहित राष्ट्रियस्तरका प्रतियोगिता जितिरहेका बेला हेटौडामा हामी पराजित भयौं । अहिले हामीलाई जीतको खाँचो थियो, यो गोल्डकप जित्नैपर्ने दबाब छ,’ मर्हजनले भने, ‘संकटा राम्रो क्लब हो । तर, हामीले राम्रै खेलेर जित निकाल्यौं ।’
एकै समयमा धेरै प्रतियोगिता भइरहेकाले खेलाडी बाँडिएर खेल्नुपर्दा नतिजा ल्याउन नसकेको संकटाका प्रशिक्षक सगुन खड्गीले बताए ।

‘काँकडभिट्टा र हेटौंडामा एकैपटक खेल्नुपर्दा समस्या भएको हो,’ उनले भने ‘दुवै प्रतियोगितामा क्लब सहभागी छ । खेलाडी बाँडिएका कारण नतिजा ल्याउन सकिएन । फेरि झापाको मैदान हाम्रा खेलाडीका लागि नौलो भयो । त्यसले पनि खेल सहज भएन ।’

Published at: January 4, 2017 2:09 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro