Tuesday 27th June 2017

बागमतीमा फोहरफाल्ने पक्राउ, रु बीस हजार जरिवाना

02082016014032teku-7-1000x0

काठमाडौँ, २३ पुस । उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा आज तिलगङ्गास्थित बागमती किनारमा फोहरफाल्दै गर्दा चार पसल र एक होटल गरी पाँचलाई कारबाही गरिएको छ ।

अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण शर्मा सिसा पसल र चिकेन हाउस तिलगङ्गाका कामदारलाई फोहर फाल्दै गर्दा पक्राउ गरी जनही रु पाँच हजारका दरले रु २० हजार जरिवाना गरिएको काठमाडौँ महानगरपालिका नगर प्रहरीका प्रहरी नायब निरीक्षक बद्रीमान नगरकोटीले बताउनुभयो ।

“फोहर फाल्दा रङ्गेहात पक्राउ परेका शिवशङ्कर होटल जयबागेश्वरीका कामदार जरिवाना रकम रु पाँच हजार ल्याउँछु भनी गएकामा जरिवाना बुझाउन नआई फोनबाट जरिवाना तिर्दिन जे सक्नुहुन्छ गर्नुस्, भनेपछि महानगरीय प्रहरी वृत्त गौशालाको सहयोगमा सञ्चालक प्रज्ज्वलमान श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ”–उहाँले भन्नुभयो ।

फोहरमैला ऐन अनुसार सार्वजनिक स्थानमा फोहर फाल्नेलाई स्थानीय निकायले रु पाँच हजारदेखि रु एक लाख ५० हजारसम्म जरिवाना र छ महिना जेलमा राख्न पाउने व्यवस्था छ ।
प्रत्येक शनिबार झैँ आज पनि उपत्यकाका प्रमुख नदी सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइको एक सय ९१ औँ हप्तामा आज तिलगङ्गा क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

स्वतः स्फूर्तरुपमा सफाइमा उपस्थित भएकालाई दुई समूहमा विभाजन गरी एक समूहले सफाई र अर्को समूहले तिलगङ्गा क्षेत्रका घर÷घरमा छिरेर जनचेतनामूलक अभियान सञ्चालन गरेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले राससलाई जानकारी दिनुभयो ।

तिलगङ्गा क्षेत्रका घर दैलोमा गई नदीमा फोहर नफालौँ, फोहर फाल्नेलाई कारबाहीको दायरामा ल्याऔँ, उपत्यकाका नदी सफाइ अभियानमा आफूलाई नजिकपर्ने स्थानमा सहभागी बनौँ भनी जागरणमूलक कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
रासस

Published at: January 7, 2017 1:16 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

merobarsameroswastha-new

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro