Friday 27th April 2018

कोहली कप्तान नियुक्त

नयाँ दिल्ली- भारतीय छनोटकर्ताले विराट कोहलीलाई शुक्रबार सीमित ओभरको खेलका लागि कप्तान नियुक्त गरेका छन्। विश्व नम्बर एक टेस्ट टोली भारत एक दिवसीय क्रिक्रेट वर्ल्ड च्याम्पियनसिपको उपाधि रक्षा गर्ने अभियानमा रहेको छ।

भारतका सर्वाधिक सफल कप्तान मानिएका महेन्द्रसिंह धोनीले दुई दिनअघि ट्वान्टी–२० र ५० ओभरको टोली कप्तानबाट राजीनामा दिएका थिए। नियुक्तसँगै कोहलीले अब क्रिक्रेटका तीनै स्वरुपमा भारतको कप्तानी गर्नेछन्।

टेस्ट कप्तानका रुपमा टोलीको विजय यात्रा १८ टेस्ट म्याचसम्म डोर्‍याएका कोहलीले सीमित ओभरको कप्तानी भने पहिलो पटक इङल्यान्डविरुद्ध ३ एक दिवसीय शंृखलाबाट सुरु गर्नेछन्। टोलीले उनकै नेतृत्वमा ३ ट्वान्टी–२० शंृखला समेत खेल्नेछ।

उनी कप्तान नियुक्त भएपछि साबिक विजेता भारतले उनकै नेतृत्वमा आगामी जुनमा च्याम्पियन्स ट्रफी र सन् २०१९ मा इङल्यान्डमा हुने एक दिवसीय विश्वकप समेत खेल्नेछ।

भारतको नेतृत्व गर्दै देशलाई सन् २००७ को ट्वान्टी–२० र सन् २०११ को एक दिवसीय विश्वकपको उपाधि जिताउन सफल धोनी समेत शुक्रबार घोषित १५ सदस्यीय टोलीमा परेको बोर्डका प्रमुख छनोटकर्ता एमएसके प्रसादले बताएका छन्।

प्रसादले छनोटकर्ताको बैठकमा कोहलीको समेत सहभागिता रहेको र बैठकले अप्रत्यासित रुपमा युवराज सिंहलाई समेत टोलीमा फिर्ता बोलाएको बताएका छन्।

‘किङ कोहली’ उपनाम पाएका २८ वर्षे कोहली ट्वान्टी–२० को वरियताक्रममा विश्व नम्बर एक ब्याट्सम्यान हुन भने एक दिवसीय र टेस्ट वरियतामा भने उनी दोस्रो नम्बरका ब्याट्सम्यान हुन्।

सन् २०१५ मा धोनीले टेस्ट क्रिक्रेटबाट संन्यासको घोषणा गरेपछि टोलीको नेतृत्व सम्हालेका कोहलीले टोलीलाई लगातार ५ टेस्ट शंृखला जिताएका छन् भने विगत ६ महिनामा तीन पटक दोहोरो शतक पूरा गरेका छन्।

सन् २००८ मा डेब्यु गरेका कोहलीले १ सय ७६ एक दिवसीयमा ५२.९४ को औसतमा ७ हजार ५ सय ७० रन प्रहार गरेका छन्, जसमा २६ शतक र ३८ अर्धशतक छन्।

Published at: January 8, 2017 2:46 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

About Us

 

सत्य तथ्य समाचार जस्ताको तेस्तै प्रकाशन गरी समृद्धि, समुन्नत एवम समतामूलक समाज निर्माणमा कलम चलाई शुसाशनयुक्त  र भएरहित समाज निर्माण गर्ने युवा अभियान ।

अरु समाचारहरु