Friday 15th December 2017

 

सपनामा बिर्सेर पनि काठमाडौंलाई ल्याउन मन लाग्दैन

त्यहि काठमाडौ सपना देखाउछ, हसाउछ…
त्यहि काठमाडौ घर वाट बिदा गराउछ, रुवाउछ..
धन्य काठमाडौ……

सुलभ दङगाल ।  सानो हुदा नाईट बस काठमाडौं को लागि हिडेको देख्दा जाउ जाउ लाग्थ्यो । मनमा लाग्थ्यो, कस्तो होला काठमाडौं । धरहरा कस्तो होला । पशुपतिको मुर्ति कस्तो होला । म जस्ता काठमाडौं बाट ५ सय किलोमिटर टाढा, आफ्नो ईतिश्री सबै भएका हरुलाई सायद यस्तै लाग्थ्यो होला । जुर्नु पर्थ्यो हामीलाई काठमाडौं आउन त्यो पनि कुनै बाध्यताले या त सक्काउनु पर्थ्यो एस. एल. सी. । फलामे ढोका कटाए पछि, फलामको गाडी चढेर काठमाडौं हुईकिने पाउने एउटा परम्परानै बसेको थियो । काठमाडौं बाट आउने पाहुना हरुको वरी-परी झुम्न मन लाग्थ्यो, सानोमा ।

“यो पल्टको छुट्टीमा यसलाई पनि काठमाडौं लग्छु”, भनेर कसैले भनिहाल्छन् कि भनेर । तर कसैले भनेनन् पनि, आखिर मैले कसै सामु कुरा राखिन पनि । खै किन किन, उनीहरुको सत्कार पनि त्यस्तै तरिकाले गरिन्थ्यो घरमा । मासु अनिवार्य भोजन थियो । बाबा सके सम्मको मीठो माछा छानेर ल्याउनुहुन्थ्यो अनि मामु भने आफ्नो पकाउने अनि मीठो बनाउने कला देखाउन अलिकति पनि पछि पर्नु हुन्नथ्यो । काठमाडौंका पाहुनाको डिमान्ड कालो चिया हुन्थ्यो । म सोच्थिए, काठमाडौंमा बस्नेले कालै चिया मात्र खान्छन् होला । उनीहरु अरु भन्दा बेग्लै गोरो देख्थे म । सायद काठमाडौं बसेर गोरा भएका होलान जस्तो लाग्थ्यो ।

म मा काठमाडौंको कौतुहलता यति थियो, जुन म आफै भित्र बल्झिएर बसेको थियो । म आफै प्रश्न गर्थे अनि उत्तर आफै निकाल्थे । अझ, पाहुना काठमाडौं फर्किने दिन, हातमा २० को नोट राखिदिन्थे, जुन अन्य ठाउँ बाट आएका पाहुनाले दिएको भन्दा निकै बढि हुन्थ्यो । अनि त झन, काठमाडौं प्रतिको सोच सम्मान बढेर आउथ्यो ।

अरुको जस्तो एस. एल. सी पछि काठमाडौं आउने सपना मेरो पूरा हुन पाएन । मेरो लागि १२ कक्षाको जाँच, फलामे ढोका बन्यो जहाँ बाट भित्र पसेपछि म काठमाडौं पुग्ने भए । अन्तत: म काठमाडौं हिड्ने दिन आयो । मैले ब्याचलर काठमाडौंमा पढ्नु थियो । दुई झोला लुगा अनि निधारमा अक्षेता लगाएर म पनि लागे काठमाडौं, त्यो पनि नाईट बसमा । मलाई सपना पूरा भए बराबरको हर्ष लागेको थियो । रात भर बसको सिटमा आफै बनाउदै थिए काठमाडौंका दृश्यहरु । बिहान थानकोट कट्ने बित्तिकै जाममा परे म । कलंकी पुर्याउन ३ घन्टा ठ्याक्क घडी हेर्नू पर्यो । यो बेला मलाई भन्दा पनि मेरो युरिनरी ब्ल्याडरलाई हत्तार थियो काठमाडौं पुग्न ।

सकिनसकि थामेर पुगे काठमाडौं । कलंकीमा झर्ने बित्तिकै शौचालय खोजे भेटिन । अनि ब्याग घिसार्दै एउटा होटलपुगे । चिया अनि नास्ता अनिवार्य भयो पिसाब फेरे बापत । देखि-देखि लेउ जस्तो तैरिएको पानी जग बाट पिउन सकिन । मिनरल वाटर मगाए । यसबेला सम्म घरको कलको पानी याद आईसकेको थियो । ट्याक्सीले डबल पैसा ठटायो । चिनेछ सायद नौलो पाखे भनेर । मैले सुरुमै गर्नु पर्ने बार्गेनिङ, अन्त्यमा गरे । उसको सामु हारे पनि । अब मलाई घुम्नु थियो । त्यो हरेक ठाउँ जहाँ म कल्पनामा पुगेको थिए, बच्चै बाट । आफन्तले अलि अलि घुमाए । बाकी आफै घुमे । पशुपति, स्वयम्भू, चिडियाखाना, नारायणहिटी एक्लै घुमे । गौसला बाट बत्तिसपुतली सम्म पनि चढाउनु भयो माईक्रोको खलासी दाजुले । चढेको एक मिनेट पछि भाडा तिरे अनि अर्को एक मिनेट पछि झरे । दाजुले त्यति हिडेरै पुगिन्छ भन्नसक्नु भएन । आफैलाई लाज लागेर आयो, पाखे भएकोमा । सडकको धुलोले बिरामी बनायो ।

सधै मिनरल वाटर किन्न नसक्दा, होटलको जगको पानीले टाईफाईड सम्म पुर्यायो । कोठा खोज्न जादा, घरनै नभएका जस्तो गरि घरबेटीको तृक्ष्ण व्यवहार देखायो । कयौ सार्वजनिक बसमा चोरहरु भेटायो । १० बजेपछि बाटोमा निस्किदा गुन्डाहरुको कुटाई देखायो । कलकल बग्ने खोलाबाट लेदोको गन्ध सुङायो । अनि एकाएक काठमाडौं परिचित भयो म संग, मेरो सपनाक‍ो काठमाडौं भन्दा बेग्लै बनेर । मैले अनि बल्ल बुझे, सानोमा काठमाडौंका पाहुनालाई मीठो मसिनो खुवाउनुको तात्पर्य । बाध्यताले पढ्नु थियो काठमाडौंमा नत्र, त्यई बर्षको दशै बिदा पछि नफर्किने बिचार थियो मेरो । मलाई रहर थियो काठमाडौंलाई मेरो ठाउँ देखाउने अनि सिकाउने, काठमाडौंले नजानेका कुरा । क्यामेरा र आँखा फरक हुन्, मैले बुझे ।

त्यसपछि काठमाडौं यात्रा गर्दा कुनै उत्साह लागेन । आज भोलि काठमाडौं आउदा अक्षेता पनि लगाउदिन । बसमा मस्त निदाउछु । अनि सपनामा बिर्सेर पनि काठमाडौंलाई ल्याउन मन लाग्दैन ।

Published at: April 29, 2017 3:01 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro