Wednesday 18th October 2017

 

एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

images-cms-image-000025410

सन् १९७८ को अक्टोबरमा तत्कालीन राज्यपरिषदका उपप्रधानमन्त्री अर्थात् आधुनिक चीनको खुलापनका प्रणेता तङ (देङ) स्याओफिङलाई जापानको टोकियोबाट क्योटो जानु थियो। दूरी ३७० किलोमिटर अर्थात् चीनको राजधानी बेइजिङदेखि छिमेकी ह पै प्रान्तको सदरमुकाम श् च्या च्वाङ भन्दा अलिकति मात्रै बढी थियो।

जापानीहरूले भने– ‘विमान चढ्नुहुन्छ कि? तर धेरै नजीक भयो। अँ, गाडी चढ्ने कि? ४–५ घण्टा लाग्छ, धेरै असुविधा!ल भैगो, जापानी हाइस्पीड सिनकान लाइन रेल चढौं।’

घरिघरि एकपछि अर्को प्रश्न सोध्दै अनि आफैंले उत्तर दिनुको जापानीहरूको भित्री आशय त चीर प्रतिद्वन्दी मुलुक चीनका नेता तङ स्याओफिङसामु अभिमान प्रदर्शन गर्नु नै थियो।

‘क्वाङ–८१ नम्बर’ रेलमा चढेका तङलाई जापानी कर्मचारीले फेरि सोधे, ‘कस्तो लाग्यो त यात्रा?’

तङले भने, ‘एकदमै तीव्र!अब हामी (चीन) पनि तीव्र गतिमा गुड्ने बेला भएको छ। हामी पनि चाहन्छौं, तीव्र गतिमा हुँइकिऔं।’

तङको यो यात्रालाई चिनियाँ टेलिभिजनले पनि खिचेर देखाएपछि चिनियाँहरूलाई हाइस्पीड रेलबारे ज्ञान भयो। तङ फर्किएपछि चिनियाँहरूले बेइजिङ क्वाङचौ र श् च्या च्वाङदेखि पाउ तिङसम्मको तीव्र गतिको रेलको परिक्षण पनि गरे।

त्यो एउटा सानो इखबाट सुरू भएको चिनियाँ हाइस्पीड रेलको पछिल्लो विकासको नमूना हो– फुसिङ नम्बरको बेइजिङ–शाङ्हाई हाइस्पीड रेल, जसले पहिलाको हाइस्पीड रेलको एक घण्टा घटाउने र प्रविधिका हिसावले निकै उच्चस्तर भएको दावी गरिएको छ।

सोमबार यसले बेइजिङ दक्षिण रेलवे स्टेशनबाट शाङ्हाई, होङ्छ्याउ स्टेशनको रफ्तार नाप्दा संचारमाध्यमरूले यसलाई विमान यात्रासँग पनि तुलना गरे। यस रेलको नाम ‘फूसिङ’ हो जसको अर्थ पुनःउद्धार भन्ने हुन्छ।

कूल १२१४ किलोमिटरको बेइजिङदेखि शाङ्हाईसम्म प्रति घण्टा ४०० किलोमिटरको दरले यो हाइस्पीड रेल करीब ३ घण्टामा गन्तव्य पुग्नुपर्ने हो तर बीचमा केही कम स्पीड हुने र अन्य ९–१० वटा बिसौनीहरू लगायतका कारणले ४ घण्टा ४९ मिनेटमा गन्तव्यमा पुगिनेछ। जब कि विमानको उडान २ घण्टा हो भने भाडा १२४० आरएमबी।

रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न पुग्छ। रेल चढ्न १५ मिनेटजति अगाडि पुगे हुन्छ। जबकी आन्तरिक उडानमा पनि विमानस्थलको सुरक्षा चेकजाँच प्रक्रियाका लागि २ घण्टा छुट्टयाउनुपर्ने हुन्छ। त्यसमाथि हाइस्पीड रेलको यात्रा छरितो, आरामदायी र झण्झटविहीन हुन्छ नै।

चीनसँग अहिलेसम्म २ वटा विश्वकै सबैभन्दा ठूला हाइस्पीड रेलवे सञ्जाल छन्। सन् २०२० सम्ममा ६०० किलोमिटर प्रतिघण्टाको हाइस्पीड रेल बनाउने चीनको महत्वकांक्षा कुनै आश्चर्यको विषय रहने छैन।

विश्व मापदण्ड पूरा गरेको चिनियाँ विशेषतायुक्त हाइस्पीड रेलहरूले दैनिक ५ लाख ५ हजार यात्रु ओसार्ने कुरा चाइना डेलीले लेखेको छ। बेइजिङ–शाङ्हाई विमानले दैनिक २०० उडान भर्छन्। यो रेल यात्राले बेइजिङ र शाङ्हाईबीचको आर्थिक तथा व्यापारिक गतिविधिलाई केही घण्टामा सीमित पार्ने र दुई शक्तिशाली क्षेत्रबीच छिटो सम्पर्क स्थापित हुने भएकाले सम्बन्धित अधिकारीहरू र व्यापारिक क्षेत्र पनि उत्साहित छ।

चाइना रेलवे कर्पोरेसन पार्टी सेक्रेटरी तथा जनरल म्यानेजर लु तोङ्फूका अनुसार चिनियाँ रेलवे दूरी १ लाख २४ हजार किलोमिटर पुगेको छ जसमा २२ हजार किलोमिटर हाइस्पीड रेलको छ। चीनसँग विश्वकै अत्याधुनिक रेलवे सञ्जाल छ भने अधिक विकसित हाइस्पीड रेलवे प्रणाली पनि छ।

बेइजिङ–शाङ्हाई हाइस्पीड रेलको सोमबार सुरूवात गरिँदा दिइएको जानकारी अनुसार रेलको खाना १५ देखि ६५ आरएमबीसम्म पर्छ। ९० यात्रु रहने एउटा डिब्बामा वाईफाई स्पीड निकै तीव्र छ। एकजना यात्रु मिस्टर छनको विचारमा रिभाइभल नम्बर अर्थात् पुनरूद्धार रेलले उनलाई बेइजिङ–शाङ्हाई व्यापारिक यात्राका लागि अझै ठूलो खुशी ल्याएको छ।

‘समयको निश्चितता नै हाइस्पीड रेलको विशेषता हो भने यस रेलमा सिट र अरू वातावरण शान्त छ। भविष्यमा वायरलेस वाईफाई भएमा अझै सहज हुने थियो’, उनले भने।

बेइजिङ साउथ रेलवे स्टेशनका प्रवक्ता लियाङ चाउ यूका अनुसार आगामी जुलाई १ तारिखदेखि यो रेलको औपचारिक यात्रा तालिका सुरू हुनेछ, त्यसमा यो भन्दा चार गुणाले सबै क्षमताहरू वृद्धि गरिएको हुनेछ।

नेपालको पूर्वपश्चिम राजमार्गको दूरी झण्डै ११ सय किलोमिटर छ र बस यात्रा समय झण्डै १८ घण्टा छ। यदि यो हाइस्पीड रेल नेपालमा चलाउन सकियो भने १२१३ किलोमिटरको बेइजिङ–शाङ्हाई जत्तिको दूरी ५ घण्टा भन्दा पनि कम समयमा पार हुनेछ। अर्थात् बिहान ४ बजे झापाबाट रेल चढियो भने ९ बजे महेन्द्रनगरमा कार्यालय भ्याउन सकिनेछ।

एक नेताको मनमा जागेको इच्छाशक्तिले चीन आज हाइस्पीड रेलको संसारमा इख दिलाउने जापान मात्रै हैन, युरोप, अमेरिकालाई पनि पछि छाडेर अघि बढिरहेको छ भने नेपालका नीति निर्मातामा खड्किएको के हो, भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ।

Published at: June 27, 2017 3:11 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro