२००७ सालको प्रजातान्त्रिक आन्दोलनमा पोखरा

admin
प्रकाशित मिति: ३ फाल्गुन २०७४, बिहीबार १४:४१

प्रकृतिका मनोरम छटायुक्त पोखरा प्राकृतिक सौन्दर्यताको मात्र नेतृत्व गरेको भूमि नभएर नेपालका परिवर्तनका विभिन्न आन्दोलनमा नेतृत्व गरेको ठाउँसमेत हो ।

प्रजातन्त्र प्राप्तिको आन्दोलनदेखि सत्याग्रह, जनमत संग्रह हुँदै प्रजातन्त्रको पुनःस्थापनादेखि दोस्रो जनआन्दोलनमा पनि पोखराले नेतृत्वदायी भूमिका निर्वाह ग¥यो ।

इतिहास एवं तत्कालीन परिवेशलाई खोतल्ने हो भने आजभन्दा पाँच दशकभन्दा अघि रातो माटाले पोतिएका कच्ची घर, फराकिला चौर, ढुंगाले बिच्छाइएका सडक, सडकका छेउमा बाटुले चौतारा आदि पोखराका दृश्य हुन् ।

सेती नदीमा काठका मुढा राखेर आवतजावत गर्नुपर्ने तत्कालीन पोखरामा विन्ध्यवासिनी, भैरवटोल, भीमसेनटोल, नालाको मुख, तेर्सापट्टी, साँघुको मुखजस्ता ठाउँ यहाँका मुख्य बस्ती एवं बजार बसेका ठाउँ हुन् ।

प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यका अनुसार तत्कालीन समयमा पोखरामा राणा बडा हाकिम धन शमशेरले यहाँको प्रशासन चलाउँथे । पोखरामा राणाशासनको निरंकुशताका विरुद्धमा जनचेतना अभिवृद्धि गर्न र उक्त अभियानलाई साकार पार्न रामानन्द योगी (तत्कालीन अवस्थामा कानो जोगी भन्ने गरिएको), प्रेमचैतन्य ब्रह्मचारीलगायतको ठूलो भूमिका रहेको उहाँले बताउनुभयो ।

त्यस समयमा छरिएका पर्चाले राणा विरोधी गतिविधिमा जनचेतना अभिवृद्धिका लागि ठूलो मद्दत पु¥याएको उहाँको भनाइ छ । जहानीय शासनसँगै शुरु भएको निरंकुशताका विरुद्धमा संगठित बन्ने ध्येयका सात १९८८ मा खुलेको प्रचण्ड गोर्खा, १९९३ मा खुलेको प्रजापरिषद्, १९९४ मा खुलेको नागरिक अधिकार समितिले कुनै कुनै रुपबाट आफ्ना कार्यक्रमलाई अघि बढाएका थिए ।

राणा विरोधी गतिविधि बढ्दै जाँदा १९९७ माघमा शुक्रराज, गंगालाल, धर्मभक्त र दशरथचन्द्रजस्ता सपुतलाई फाँसी दिइयो भने विरोधमा उत्रेका कृष्णप्रसाद कोइराला भारत निर्वासन हुन बाध्य भए ।

उक्त समयमा राणाको अन्याय, अत्याचारका विरुद्धमा गोर्खे खबर कागज, युगबाणी, नेपाल पुकारजस्ता पत्रपत्रिकाका माध्यमबाट जनचेतना अभिवृद्धिका कामलाई अघि बढाइयो । राणाविरोधी गतिविधि बढ्दै जाँदा त्यसको प्रभाव पोखरेली युवामा पनि परेको थियो ।

२००४ सालमा भारतमा बस्ने नेपाली युवाले बिपी कोइरालाको नेतृत्वमा गठन गरेको राष्ट्रिय काँग्रेस, गिरिजाप्रसाद कोइरालाको नेतृत्वको विराटनगरको जुटमिल आन्दोलन, जयतु संस्कृतम् आन्दोलन आदिमा पोखरेली युवाको सक्रिय सहभागिता रहेको पाइन्छ ।

आन्दोलनका विभिन्न मोर्चामा सक्रिय बनेका मुक्तिनाथ तिमल्सिना, श्रीकान्त अधिकारी, माधव घिमिरे, रामबहादुर बडगामी, लोकनाथ घिमिरेजस्ता पोखरेली युवाका कारण पोखरामा पनि विस्तारै राणाविरोधी आन्दोलनको शुत्रपात भएको थियो ।

त्यस्तै तत्कालीन समयमा पोखराको धर्मशिला बौद्ध विहारमा आवतजावत गर्ने बौद्ध भिक्षुबाट पनि राणा विरोधी आन्दोलनलाई सहयोग पुगेको देखिन्छ । बिपी कोइराला नेतृत्वको नेपाल राष्ट्रिय काँग्रेस र सुवर्ण शमशेर नेतृत्वको प्रजातन्त्र काँगेसबीच २००६ सालमा एकीकरण भए पछि बनेको नेपाली काँग्रेसले २००७ साल असोज १२ र १३ गते बैरगनियाँमा सम्पन्न महाधिवेशन सम्पन्न गरेको थियो ।

उक्त महाधिवेशनबाट कात्तिक २६ गतेबाट देशव्यापी सशस्त्र क्रान्ति गर्ने घोषणासँगै राणाशासकको मुटुमा ढ्याग्रो ठोकेको थियो । सशस्त्र क्रान्तिको घोषणा भए पनि नेपालको भौगोलोकि विकटता एवं तत्कालीन समयमा यातायातको कठिनता, सञ्चारको अभाव आदिका कारण सर्वसाधारण भने त्यसबारे अनभिज्ञ थिए ।

सर्वसाधारणको अनभिज्ञतालाई दृष्टिगत गरी काठमाडौँ मात्र नभएर कास्की, स्याङ्जालगायतका जिल्लामा पनि राणाशासनको ज्यादती एवं जनताका हकअधिकारका सम्बन्धमा जनचेतना अभिवृद्धिका लागि गाउँ बस्तीमा पर्चा छर्ने अभियान शुरु गरिएको थियो ।

पोखरामा सर्वसाधारणमा चेतना अभिवृद्धि गर्न २००४ सालमा बाटुलेचौरमा खोलिएको आधार स्कूलको ठूलो भूमिका रहेको पोखरेली इतिहासका अनुसन्धानदाता एवं संस्कृतिविद् तीर्थ श्रेष्ठ बताउनुहुन्छ ।

“२००७ सालको क्रान्ति पूर्वपोखरामा आन्दोलनको वातावरण तयार गर्न आधार स्कूलले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ,” उहाँले भन्नुभयो, “उक्त विद्यालयमा माधव घिमिरे, श्रीकान्त अधिकारीलगायतले अध्यापन गराउनुभएको र राणाको निरंकुशताका विरुद्ध गतिविधि बढाउन त्यो बेला महेन्द्र गुफामा बसेर छलफल गरिन्थ्यो भन्ने पाइन्छ ।”

तत्कालीन समयमा पोखराको चिसाखोला ब्रह्मचारी आश्रममा संस्कृत भाषाका अध्यापक ब्रह्मचारी प्रेम चैतन्यसँग संस्कृत भाषा एवं धार्मिक प्रवचन सुन्नका लागि व्यक्ति जमघट हुने गरेकोमा विस्तारै उक्त आश्रमबाट पनि राणा विरोधी गतिविधि बढ्न थाल्यो ।

त्यस्तै उक्त समयमा पोखरेली युवाको सक्रियतामा २००६ साल मंसिरमा नदीपुरको नारायण स्थानस्थित पौवामा खुलेको मिडिल स्कूल पनि जनचेतना अभिवृद्धिको महत्वपूर्ण माध्यम बनेको संस्कृतिविद् श्रेष्ठको भनाइ छ ।

२००६ साल चैत २९ गते विन्ध्यवासिनी मन्दिरमा लागेको आगोका कारण मन्दिरको दक्षिणतर्फका धेरै घर जल्दा ठूलो धनजनको क्षति भएको थियो । उक्त आगलागीले यस क्षेत्रका पाँच सात जना मानिसको मृत्युसमेत भएको थियो ।

राणा विरोधी गतिविधि बढिरहेका अवस्थामा घरवारविहीनका लागि गरिएको क्षतिपूर्तिको माग बडाहाकिम धन शमशेरमा मात्र नभई केन्द्रीय सरकारसम्म पुगेको थियो ।

बढ्दै गएको राणाविरोधी गतिविधिबाट त्रसित तत्कालीन सरकारले आगलागीको स्थलगत अध्ययन गर्ने बाहनामा दिव्य शमशेर र फत्तेबहादुरलाई पोखरा पठाएर यहाँका गतिविधिको शुक्ष्म अध्ययन गरिएको पाइन्छ । उक्त समयमा पर्चा छर्न खटिएका रामानन्द योगी (कानो जोगी) कास्की, लमजुङ र तनहुँका गाउँमा क्रियाशील थिए ।

पर्चा छर्ने क्रममा २००६ सालको चैततिर उनी तनहँुको बन्दीपुरमा पक्राउ परे । उनका साथबाट फेला पारिएका कागजातका कारण राणाले धरपकड गर्दा कास्कीबाट माधवप्रसाद घिमिरे, सुन्दरप्रसाद मर्सानी, धर्मशीला अनागरिका, विष्णुहरि पहारी, मीनबहादुर गुरुङलगायतका व्यक्ति पक्राउमा परे ।

आन्दोलन बढ्दै जाँदा २००७ साल पुस २२ गते प्रेमबहादुर प्रधान, ऋषिकेशव पराजुली, दयाशंकर पालिखेलगायतका युवा काँग्रेसको झण्डा लिएर सडकमा निस्केपछि पहिलोपटक उनीहरूलाई गिरफ्तार गरियो ।

प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यका अनुसार गिरफ्तारी पछि झनझन बढ्दै गएको आन्दोलनका कारण राणाविरोधी जनलहरले पुस २४ गते पोखराका सरकारी कार्यालय आन्दोलनकारीको कब्जामा परेको थियो ।

शुरुमा कब्जा गरे पनि दुई दिनपछि तत्कालीन शासनसत्तालाई थप मद्दत आएका कारण आन्दोलनकारीलाई तितरवितर पारिएको आचार्यको भनाइ छ । धरपकड र गिरफ्तारीसँगै जिल्ला जिल्लामा बढेका राणा विरोधी गतिविधिका कारण अन्ततः २००७ साल फागुन ७ गते जहानीयाँ राणाशासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको अर्का प्रजातन्त्र सेनानी हीरामणि सुवेदीले बताउनुभयो ।

“तत्कालीन युवाको संघर्षका कारण अवस्थामा देशभर नै राणाविरोधी जनचेतना बढ्दै गएका कारण नै राणाशासनको अन्त्य भएको हो,” सुवेदीले भन्नुभयो, “प्रजातन्त्र प्राप्तिको संघर्षदेखि त्यसपछिका प्रजातन्त्रको पुनःस्थापना, दोस्रो जनआन्दोलनलगायतका संघर्षमा पोखरेली जनताको ठूलो साथ र सहयोग हुँदै आएको छ ।”
–––
शान्ता
गरिबी र अशिक्षाले समस्याग्रस्त ज्यामिरे गाउँ

तेह्रथुम, ३ फागुन (रासस) ः जिल्लाको छथर गाउँपालिका–३, पञ्चकन्याको ज्यामिरे बस्ती गरिबी र अशिक्षाले जकडिएको छ । बालविवाह, वर्षेनी सन्तान, उचित खानपान, हेरचाह र स्याहारसुसारमा कमी, विद्यालयमा अनियमितताजस्ता कुरा यहाँका बासिन्दाका लागि सामान्य लाग्छन् ।

सिंगो गाउँ गरिबी र अशिक्षाको सिकार बनेको छ । गरिबीले सबैका घरमा बिहान खाए बेलुका के खाने ? भन्ने चिन्ता छ । बालबालिका नियमित विद्यालय जाँदैनन् । कतिपयको जन्मदर्ता पनि छैन । गाउँ नजिकै विद्यालय भएपछि सिंगो गाउँबाट अहिलेसम्म एक जनाले पनि एसएलसी उत्तीर्ण गरेका छैनन् । गाउँमा शिशु मृत्युदर उच्च छ ।

छोराछोरीको जन्मदर्ता नहुँदा विद्यालय भर्ना नै गर्न नपाएको २७ वर्षे सविना लिम्बूले बताउनुभयो । १२ वर्षमा भागेर बिहे गरेकी उनको आफ्नै नागरिकता छैन । केही वर्षदेखि श्रीमान् घरमा छैनन् । १४ वर्षमै आमा बनेकी उहाँले जन्माएका सातमध्ये पाँच सन्तान जीवित छन् । श्रीमान्ले छाडेर सम्पर्कविहीन भएपछि सविना र नानीहरु बिचल्लीमा परेका छन् ।

श्रीमान् आउलान् र बिहे दर्तासँगै पाँच जना नानीलाई विद्यालय भर्ना गराउन पाइएला भन्ने आशा छ उहाँलाई । ज्यामिरेकै ४२ वर्षे भीमकुमारी लिम्बूले पनि १७ सन्तानलाई जन्म दिनुभयो । तर मजदूरी गरेर हुर्काउन नसक्दा अहिले १० जना मात्रै जीवित छन् । यही गाउँकी ४२ वर्षे विन्दुमाया लिम्बूका पनि सात जना छोराछोरी छन् । वर्षेनी सुत्केरी हुँदा आमा र बच्चा सबैलाई उचित खानपान, हेरचाह र स्याहार पुगेको छैन ।

ज्यामिरे गाउँमा “सन्तान भगवान्ले दिने हुन्, दिएजति हात थाप्नुपर्छ” भन्ने अन्धविश्वास अझै हट्न सकेको छैन । २३ घर लिम्बू परिवार बसोबास गर्ने यो गाउमाँ गरिबी र चेतनाको अभावले सन्तान उत्पादनदर उच्च छ । मजदूरी गरेर पेट पाल्नुपर्ने परिवारमा धेरै सन्तान भएपछि बाबुआमाले केटाकेटीलाई विद्यालय पु¥याउन त सम्भव नहुने गरेको भीमकुमारीले बताउनुभयो ।

गाउँ नजिकै स्कूल भए पनि यहाँका केटाकेटी नियमितरुपमा नजाने जाँदैनन् । नानीलाई विद्यालय पठाउन घरको अवस्थाले समेत नसक्ने अवस्थामा पु¥याएको उहाँको भनाइ छ । दश सन्तानकी आमा भीमकुमारीलाई पनि छोराछोरीलाई विद्यालय पठाएर ठूलो मान्छे बनाउन मन छ । तर दिनभर मजदूरी नगरी घर नचल्ने भएकाले नानीहरुलाई विद्यालय पठाउन आफैँले समय दिन सकेकी छैनन् ।
“घरबाट स्कूल पु¥याउन भ्याइँदैन, जान त जान्छन्, तर कहिले पुग्छन्, कहिले बाटैबाट फिरेर आउँछन्,” भीमकुमारीले भन्नुभयो । ज्यामिरे बस्तीबाट विद्यालय पुग्न बढीमा १५ मिनेट मात्रै लाग्छ । तर अहिलेसम्म यो गाउँका एक जनाले पनि एसएलसी उत्तीर्ण नगरेका स्थानीयवासी होम पारघरीले बताउनुभयो ।

“स्कूल त नजिकै छ, तर कक्षा–८ भन्दा माथि पढ्ने खासै छैनन्, अझ एसएलसी पास गर्ने त कोही पनि छैन,” उहाँले भन्नुभयोे । ज्यामिरे गाउँमा १७ वर्ष नकट्दै बिहे गर्ने, पाँचभन्दा बढी सन्तान जन्माउने, दिउँसै मादकपदार्थ सेवन गरेर बस्ने, झैझगडा गर्नेजस्ता गतिविधि नियमित हुने गरेका उहाँले बताउनुभयो ।

जिल्लाकै अन्य गाउँमा सूचना प्रविधि र विकासले गति लिइरहँदा ज्यामिरे गाउँमा अशिक्षा र गरिबीले निरन्तर जरा गाडिरहेको छ । यो बस्तीको समस्याका विषयमा अहिलेसम्म सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

ज्यामिरे गाउँको समस्या समाधानका लागि गाउँपालिकाले लक्षित वर्गको बजेटबाट कार्यक्रम सञ्चालन गर्ने छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर तिगेलाले बताउनुभयो । “गाउँपालिकाले लक्षित वर्गका लागि चालू आर्थिक वर्षमा रु ९० लाख विनियोजन गरेको छ, अब त्यही बजेट ज्यामिरेको समस्या समाधानको पहल हुन्छ” उहाँले भन्नुभयो ।

गाउँपालिकाले जन्मदर्ता, विवाहदर्तालगायत पञ्जीकरण र अन्य सेवाबारे अभियानै सञ्चालन गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । गरिब र असहायलाई गाँसबास तथा बालबालिकालाई निःशुल्क पढ्न पाउने व्यवस्थाका लागि आफूले व्यवस्था गर्ने अध्यक्ष तिगेलाले बताउनुभयो । गरिबी र अशिक्षाको अन्धकारमा रुमलिएको ज्यामिरे बस्तीको अनुहार फेर्न गाउँपालिकाले सार्थक पहल चाल्नुपर्ने आवश्यक रहेको पञ्चकन्याका मनकुमार लिम्बूले बताउनुभयो ।


३ फाल्गुन २०७४, बिहीबार १४:४१ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्