बाम एकता र अबको विद्यार्थी आन्दोलन

admin
प्रकाशित मिति: २५ फाल्गुन २०७४, शुक्रबार १०:५०

सुनिता बराल-नेपालमा प्राय सबै राजनीतिक दलका भातृ संगठनको रुपमा विद्यार्थी संगठनहरु रहेका छन् । नेपाली विद्यार्थी आन्दोलनले धेरै घुम्ती तथा मोडहरु पार गरिसकेको छ । नेपाली राजनीतिमा गणतन्त्र प्राप्ती संगै नेपालको संविधान निर्माण भएको छ । राज्यका हरेक क्षेत्रमा आमुल परिवर्तन गर्दै अगाडी बढ्ने अवसर साथै अभिभारा हाम्रो सामु आएको छ । इतिहासलाई नियाल्ने हो भने नेपालको समग्र राजनीतिक, आर्थिक, सामाजिक, लोकतान्त्रिक र राष्ट्रियताको आन्दोलनको पर्यायको रुपमा विद्यार्थी आन्दोलन स्थापीत छ । नेपाली समाजको परिवर्तनको कुनै पनि खुड्किलो विद्यार्थी आन्दोलनको संलग्नताविना अपुरो रहयो । विद्यार्थी आन्दोलनलाई अलग बनाएर कुनै राजनीतिक परिवर्तनको व्याख्या होस वा राष्ट्रियता, गणतन्त्र, जनजिविका वा शैक्षिक परिवर्तनको यात्राको पनि कुरा पुरा गर्न सकिएको छैन । विगतमा निकै सराहनीय मानिएको विद्यार्थी संगठनको भुमिका प्रति आज विभिन्न कोणबाट प्रश्न उठन थालेको पाईन्छ । विद्यार्थी आन्दोलनको इतिहासलाई हेर्दा त कसैले पनि यसको अवधी कति हुने भनेर प्रश्न गर्ने साहस गर्न सक्दैन तर आजको लागि सत्य विगत नभई वर्तमान नै हो त्यसैले वर्तमान अनुकूल नहुने हो भने वर्तमानमा ठिक ढङ्गले अघि बढ्न नसक्ने हो भने विगतको गौरवशाली ईतिहासले मात्रै कुनै पनि संगठनको रक्षागर्न सक्दैन भन्ने कुरामा आजको पुस्ता प्रष्ट छ । यस सत्यलाई आत्मसात गर्दै नेपाली विद्यार्थी आन्दोलनको वर्तमानलाई गम्भिरता पुर्वक नियालेर यथार्थपरक रुपमा मूल्याङ्खन गरी देखिएका समस्या समाधानको खोजि र कार्यान्वयनको दिशामा अघि बढनु पर्दछ । विद्यार्थी संगठनहरुको श्रेष्ठता स्ववियुमा भएको उपस्थितीबाट मापन गर्ने गरिन्छ । यस अर्थमा अनेरास्ववियुले कहिल्यै दोस्रो दर्जामा रहनु परेको छैन् । यो विद्यार्थीमा भएको प्रगतिशिल तथा सचेतपनको प्र्रतिबिम्व पनि हो ।

नेपाली राजनितीको इतिहासमा नयाँ आयाम छाएको छ, नेपालमा स्थापित दुई ठुला कम्युनिष्ट पार्टी एकिकरण हुने निश्चित भएको छ । सो घटनाबाट यो देशमा शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमीका निर्वाह गर्ने दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारी पनि एकै संगठन हुने निश्चित भएको छ । बामपन्थि दुई पार्टीका भातृ संगठनको रुपमा रहेका यि संगठनले यो देशको विद्यार्थी आन्दोलनको दुई तिहाई हिस्सा ओगटने र निर्णायक शक्ति हुने निश्चित छ । साथै सगै जोडिएको चुनौतीको रुपमा बदलिदो आवश्यकता अनुसारको भूमीका निर्वाह गर्नुपर्नेछ र नियमीत रुपमा विद्यालय देखी विश्वविद्यालय सम्मको अध्ययन गर्ने विद्यार्थीका अपेक्षालाई सम्बोधन गर्ने मनोविज्ञान र योजना सहितको नेतृत्वको रुपमा अब्बल बनाउँनु पर्नेछ । अबका कार्यक्रमीक योजनामा नेपालको भुबनोट र परिवेशको सुहाउँदो विभिन्न क्षेत्रमा भएका लगानी, अध्ययन र सम्भावनाबाट नै अब समृद्ध देश सम्भव छ भन्ने तथ्यलाई आत्मसाथ गर्दै यसको सफल व्यवस्थापनको आधार शिक्षा हो र यसका लागि प्राविधिक शिक्षाको विकल्प छैन भन्ने सत्यलाई लिएर जानुपर्नेछ । सबै युवाहरुलाई स्वाबलम्बी जिवन बाँच्ने आशा हुन्छ तर सिप र दक्षता पोख्ने अवसरको अभावमा युवा पुस्तालाई ठूलो चुनौति छ । आजको आवश्यकता र माग भनेको नै क्षमता अनुरुपको काम गर्ने वातावरण निर्माणमा देखीएको जटिल अवस्था हो नीति भन्दा अवसरका क्षेत्रलाई फराकिलो बनाउने बाटोहरु निर्माण गर्नु हो । आफ्नो देशमा पाखुरी बजाएर काम गर्न चाहने कयौ युवाको दक्षतालाई उपयोग गर्नु हो ।

नेपालमा अहिले कम्युनिष्टहरुको निर्णायक भूमीका रहेको छ । जसका उदेश्यहरु प्रष्ट छन कि समतामूलक समाजको निर्माण र विकसीत राष्ट्र निर्माण हो । आजको सरकारको अर्जुनदृष्टी देशको समृद्धी र नेपाली जनताको खुशी हो । त्यसको कार्यान्वयनकालागि शिक्षा क्षेत्रमा लगानी बढाउनुको विकल्प छैन । जसको मर्म र महत्व यो बाम गठबन्धनको नेतृत्वले बुझेको छ र त्यसमा सार्थक सहयोगीका रुपमा विद्यार्थी आन्दोलनको नेतृत्वमा रहेका संगठनले गर्नुपर्दछ । नेपालमा विकासको र आर्थिक उर्पाजनका अथाह सम्भावनाहरु छन् यी अथाह सम्भावनाहरुलाई उपलब्धिमा रुपान्तरण गर्नु विद्यार्थी आन्दोनको दायित्व हो । हामीले जल विद्युतको उत्पादन, प्रसारण लाईन विस्तार र वितरण, सडक निर्माण, विमानस्थलको निर्माण, कृषी, उद्योग, पर्यटन र वन क्षेत्रलाई प्रवर्दन , शिक्षा र स्वास्थ्य क्षेत्रमा विषेश प्र्र्राथमिकता, युवा स्वरोजगार र सामाजिक सुरक्षाको विषय जस्ता धेरै विषयलाई विशेष प्राथमिकताका साथ योजना बद्धरुपमा लिएर जानका लागि राष्ट्रीय स्वाभिमान भएको निडर युवा पुस्ताको अग्रसरता आजको अपरिहार्यता हो जसबाट उद्यमशिलताको विकास सगै राष्ट्रिय अर्थतन्त्र बलियो हुने निश्चित छ यसकालागि विद्यार्थी संगठनका अभियान यस लक्षीत हुनुपर्दछ । अहिले बनेको बामगठबन्धनको नेतृत्वमा बनेको सरकारबाट सर्वसाधारण नागरीक देखी बृद्ध सम्म, युवा, विद्यार्थी लगाएत विभिन्न पेशा व्यवसायमा जोडिएका सबैले सकारात्मक परिणामको अपेक्षा गरेका छन् । विगतमा सुरुवात गर्र्न खोजेर पनि थाती रहेको शैक्षिक बेरोजगार अन्त्यकालागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान गर्ने कुरा, उच्च शिक्षा हासील गर्नकालागि शैक्षिक कर्जा उपलब्ध गराउने विषय अब पुरा गर्नैपर्ने दायित्व यो सरकार संग छ जसमा कार्यविधी निर्माण देखी कार्यान्वयन सम्मको यात्रामा सहयोगी भूमीकामा विद्यार्थी संगठनको हुनुपर्दछ ।

राष्ट्रको आवश्यकताको रुपमा जसरी राजनीतिक कडीको रुपमा बाम एकता रुपान्तरणको साधन बनाउँनकालागी समाजको सचेत नागरीक र समाजको जिम्मेवार विद्यार्थी संगठनका रुपमा संगठनहरुले आफुलाई उभ्याउनु पर्दछ । अबका विद्यार्थी आन्दोलनका कार्यक्रमहरु प्र्राविधिक शिक्षाको बढावा, विज्ञान र प्रविधिको विकास, विश्वव्यापीकरण गर्दै साथै नेपाललाई अल्पविकसित, गरिब, पिछडिएको, परनिर्भर देशको सुचिबाट हटाउँने कार्यमा महत्वपूर्ण हिस्सेदारको रुपमा स्थापित गर्ने हुनुपर्दछ । अबको सुखी जिवन र समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्तीकालागी विद्यार्थी संगठनका कार्यक्रमहरु सबै भन्दा उत्कृष्ट र उदाहरणीय बनाउँनु पर्दछ । दुई ठुला विद्यार्थी संगठनको एकताले हिजोको गर्विलो ईतिहासलाई साक्षी राख्दै अझ बलियो भूमीकाको आवश्यकता छ भन्नेकुरा स्थापीत गराउँनु पर्दछ ।

सुनिता बराल अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष हुन् 


२५ फाल्गुन २०७४, शुक्रबार १०:५० मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्