Wednesday 23rd May 2018

आफ्नो ठाउँको शाख जोगाउन क्रिकेटमा लगानी

गतवर्ष धनगढीमा आयोजना भएको धनगढी प्रिमियर लिग(डिपिएल)को पहिलो संस्करणमा महेन्द्रनगरको ‘कञ्चनपुर आइकोनिक’ टिमको कप्तानी विनोद भण्डारीले सम्हाल्नुभएको थियो ।

भण्डारी नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन् । उहाँकै नेतृत्वमा कञ्चनपुरको टिम बन्यो र कैलालीमा भएको डिपिएलमा भाग लियो ।

यसपाली डिपिएलको दोस्रो संस्करणमा महेन्द्रनगरको टिमले खेल्नेबारे अन्योलता थियो । जिल्लाका खेलाडी र क्रिकेटप्रेमी निराश थिए । उनीहरुलाई निराश हुन नदिन महेन्द्रनगरका युवा व्यवसायीले रु ४० लाखभन्दा बढी लगानी जुटाएर ‘महेन्द्रनगर युनाइटेड’ टिम बनाएका छन् ।

“लगानी जुटाउन सहज छैन,” महेन्द्रनगर युनाइटेडका सञ्चालकमध्येका एक दिनेश मल्लले भन्नुभयो, “आफ्नो ठाउँको शाख जोगाउन मात्र लाखौँको लगानीमा टिम जुटाएका हौँ ।” धनगढी प्रिमियर लिग(डिपिएल) जस्तो महँगो प्रतियोगितामा प्रतिस्पर्धा गर्न टिम बनाउन निकै चुनौतीपूर्ण काम भएको सञ्चालक मल्लको ठम्याइ छ ।

“व्यावसायिक प्रतियोगिताका लागि सानोतिनो लगानीले टिम बनाउन सकिन्न,” मल्लले भन्नुभयो । क्रिकेटका लागि महेन्द्रनगर मुलुककै उर्वरभूमीका रुपमा चिनिन्छ । आजदेखि धनगढीमा शुरु भएको प्रतियोगितामा महेन्द्रनगरका मात्रै १५ जनाभन्दा बढी खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्दैछन् ।

सो प्रतियोगितामा भाग लिएका सिवाइसी अत्तरिया, विराटनगर किंग्स, टिम चौराहा, काठमाडौँ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड टिममा महेन्द्रनगरका खेलाडी समावेश छन् ।

“छिमेकी जिल्ला कैलालीमा यतिठूलो प्रतियोगिता हुँदा हामी टुलुटुलु हेर्न सक्दैनौँ,” महेन्द्रनगर युनाइटेडका अर्का सञ्चालक अशोक पाण्डेयले भन्नुभयो, “यतिधेरै क्रिकेटको क्रेज भएको ठाउँको टिम नहुँदा खल्लो हुने भएकै कारण लगानी गरेका हौँ ।”

महेन्द्रनगरको क्रिकेट क्रेजलाई जीवित राख्नकै लागि यहाँका युवा व्यवसायी सुशील श्रेष्ठ, दिनेश मल्ल, अशोक पाण्डेय, सुशील चटौत, निरज चन्द, नवीन बोहरा र ब्रिजकिशोर चन्दले हातेमालो गरी लगानी जुटाएका छन् । उनीहरु सबै यहाँका चल्तीका व्यवसायी हुनुका साथै क्रिकेटसँग लामो समयदेखि जोडिएका छन् । महेन्द्रनगर युनाइटेडलाई विजया सिमेन्ट, सगरमाथा स्टिल, कोबेल्को, नेको इन्स्योरेन्स, पाइनियर, केवाइवी, सिजिको मेजु, होटेल ओपेरालगायतले साथ दिएको छ ।

आफ्नो टिमलाई प्रतियोगिताकै उत्कृष्ट बनाउन महेन्द्रनगर युनाइटेडले यही चैत १० गतेदेखि नै महेन्द्रनगरमा प्रशिक्षणको व्यवस्था गरेको थियो । सो टिमको प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान विनोद दास रहनुभएको छ । टिमका कप्तान विनोद भण्डारी महेन्द्रनगरकै उत्पादन हुन् भने अर्का खेलाडी अरुण ऐरी पनि स्थानीय नै हुन् ।
यस्तै सिवाइसी अत्तरिया टिमका कप्तान दीपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, प्रेम तामाङ, कमलसिंह ऐरी र रोमन वम, विराटनगर किंग्सका दिलीप नाथ, टिम चौराहाका ललितसिंह भण्डारी र सुनिल धमला, काठमाडौँ गोल्डेन्सका नरेश बुढाऐर, सन्तोष भट्ट तथा रुपन्देही च्यालेन्जर्सका प्रदीप ऐरी महेन्द्रनगरका उत्पादन हुन् ।

“डिपिएलमा मात्र होइन अन्य प्रतियोगितामा समेत यहाँको टिमलाई सहभागी गराउँछौँ,” महेन्द्रनगर युनाइटेडका अर्का सञ्चालक व्रिजकिशोर चन्दले भन्नुभयो, “हामीले नाफा घाटा हेरेर टिममा लगानी गरेका छैनौँ, यहाँका खेलाडीको इच्छालाई मात्रै ध्यान दिएका छौँ ।”

विसं २०६१ मा क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं ५ नेपालगन्जबाट अलग्गिएर क्षेत्र नं ६ बैतडी बनेको हो । त्यसपछि मात्र प्रदेश नं ७ को क्रिकेटले चर्चा पाएको हो । बैतडी नयाँ क्षेत्र बन्नुअघि सुदूरपश्चिमबाट धीरेन्द्र चन्द र प्रेम चौधरीले मात्र राष्ट्रिय टिममा स्थान बनाएका थिए । अहिले सिनियर तथा उमेर समूहबाट प्रदेश नं ७ का पुरुष तथा महिला गरी ४० भन्दा बढी खेलाडीले राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।

“व्यावसायिक प्रतियोगिता भन्दा क्लब, विद्यालय र जिल्लास्तरीय प्रतियोगिताको खाँचो छ,” कञ्चनपुर क्रिकेट संघका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले भन्नुभयो, “केही वर्षदेखि प्रतियोगिताको अभाव खड्किएको छ ।” संघले जिल्लाका व्यवसायीलाई लगानीका लागि गुहार्दै आएको चन्द बताउनुहुन्छ । प्रदेश नं ७ का नौ जिल्लामध्ये बाजुरा नेपाल क्रिकेट संघमा आवद्ध छैन । अरु आठ जिल्लामा क्रिकेटको गतिविधि भइरहेकै छ ।

“स्थानीयस्तरमा खेलाडी उत्पादन नभएसम्म क्रिकेट अगाडि बढ्न सक्दैन,” कञ्चनपुर क्रिकेट संघका पूर्वअध्यक्ष दीपकराज चालिसे भन्नुहुन्छ, “सरकारी तथा निजी क्षेत्र खेलाडी उत्पादनमा उत्तिकै सक्रिय हुनु जरुरी छ ।”

Published at: March 31, 2018 4:53 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

समाचार


क्षेत्रीको अध्यक्षतामा केन्द्रीय समिति गठन

विराटनगर, ८ जेठ (रासस) : नेपाल प्रजातान्त्रिक पार्टीको आज सम्पन्न केन्द्रीय भेलाले रामचन्द्र क्षत्रीको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति गठन … ..

एउटा गाउँपालिका तीन कर्मचारीको भरमा

–शरद शर्मा कैलाली, ८ जेठ (रासस) : कैलालीको विकट मोहुन्यालय गाउँपालिका तीनजना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । एकजना प्रमुख … ..

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

काठमाडौँ, ८ जेठ (रासस) : नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै … ..