काष्ठमण्डप पुनःनिर्माणका लागि सुझाव

admin
प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलवार १२:४३

– शर्मिला पाठक काठमाडौँ, ८ जेठ (रासस) : सातौँ शताब्दीको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि विज्ञसँग सुझाव लिइने भएको छ । गत वैशाख ३१ गते क्षमापूजा गरी निर्माण शुभारम्भ गरिसकिएको भए तापनि पुनःनिर्माण सामग्री संकलन गर्ने क्रममा विज्ञको सल्लाह आवश्यक भएकाले उनीहरुको सल्लाहानुरुप काम अघि बढाइने काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले राससलाई जानकारी दिनुभयो । शाक्यले भन्नुभया,े “अहिले पहिलो चरणमा, भत्किएको सो सम्पदाका काठहरू छान्ने काम भइरहेको छ, काम लाग्ने जति पुरानै काठ र त्यसमा नपुगेको अन्य नयाँ काठ ल्याइनेछ । त्यस्तै इँटा र अन्य निर्माण सामग्री सङ्कलन गर्ने कार्य भइरहेको छ ।”

अहिले पुरानो काठ के कति काम लाग्छन् र नयाँ काठ कति आवश्यक पर्छ भनी विज्ञसँग सल्लाह भइरहेको छ । कम्तीमा तीन महिनामा आवश्यक पर्ने सबै निर्माणक सामग्री ल्याइसक्ने र निर्माण शुरु हुने समितिको भनाइ छ । शुरु गरिएको तीन वर्षभित्र निर्माणसम्पन्न गरिसक्ने लक्ष्य पनि निर्माण समितिको रहेको छ । विसं २०७२ को भूकम्पका कारण अन्य ऐतिहासिक सम्पदासँगै काष्ठमण्डप पूरै क्षतिग्रस्त भएको थियो । एउटै साल रुखको काठबाट मात्र काष्ठमण्डपको निर्माण भएको बताइन्छ । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’ बाट नै रहेको इतिहासमा उल्लेछ छ । अब भने त्यस किसिमले निर्माण हुन सम्भव छैन ।

अब काठमाडौँ महानगरपालिकाको निगरानी तथा सहयोगमा काष्ठमण्डप निर्माणको जिम्मेवारी स्थानीयवासीलाई नै दिइने पनि निर्माण समितिले जनाएको छ । यसको निर्माणका लागि आर्थिक सहयोग जुटाउन स्थानीय समितिसमेत निर्माण गरिएको छ भने केही रकम महानगरपालिकाले सहयोग गर्नेछ । पुरानै शैलीमा बन्ने काष्ठमण्डप तीनतले हुने शाक्यले बताउनुभयो । “यो पुरातात्विक ढंगले नै बन्छ, प्यागोडा शैलीमा नै निर्माण हुनेछ”, उहाँले भन्नुभयो । बिसेत नामका मानिसले जात्रामा आएका कल्पतरूलाई चिनेर समाती एउटा रूख उपलब्ध गराउने बाचा गराइ छाडेपछि कल्पतरूले सालको काठ दिएको र त्यसैबाट मूर्तिविहीन मरूसतः बनाइएको बताइन्छ जसलाई काष्ठमण्डप भनेर चिनिन्छ ।

पछि मरूसत्तलमा गोरखनाथ र गणेशका चार मूर्ति र अन्य मूर्ति थपिएको बताइन्छ । पहिले बाहौँ शताब्दीको भनिएकामा बेलायतको दूरहाम विश्वविद्यालयको उत्खननपछि सातौँ शताब्दीको भएको इतिहासकार डा महेशराज पन्तले जनाउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले जनस्तरबाटै शुभारम्भ गरिएको काम छिटोछरितो हुने भन्दै सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउनुअघि नै काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भइसक्ने बताउनुभएको छ ।

बढीमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको काष्ठमण्डपको पुनःनिर्माणका लागि करीब रु १९ करोड लाग्ने अनुमान गरिएको छ । भूकम्पका कारण काठमाडौँ उपत्यकासहित ३० जिल्लाका प्राचीन स्मारक एवं पुरातात्विक सम्पदामा क्षति पुगेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा पनि तीन वर्षभित्र काष्ठमण्डप, रानीपोखरी र धरहराको पुनःनिर्माण गरिसक्ने प्रतिबद्धता सरकारले व्यक्त गरेको छ ।


८ जेष्ठ २०७५, मंगलवार १२:४३ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्