म्याग्दीका खानी उत्खनन्को पर्खाइमा, स्थानीय तहको चासो बढ्यो

admin
प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलवार १४:५२

म्याग्दी, ८ जेठ (रासस) : धौलागिरि गाउँपालिका–५ मल्कबाङमा दर्जनौँ तामाखानी अहिले पुरिन थालेका छन् । स्थानीय छन्त्याल समुदायको पुख्र्यौली पेशाको रुपमा रहेको खानी उत्खनन् तत्कालीन सरकारले करको दर बढाएसँगै बन्द हुन पुगेका थिए । गाउँदेखि माथिका पहाडहरुमा त्यतिखेर तामा उत्खनन् गरिएका खानीका सुरुङहरु प्रशस्त मात्रामा भेटिन्छन् । झण्डै साढे एक शताब्दीदेखि बन्द अवस्थामा रहेका तामाखानीहरुको अध्ययन र अनुसन्धान गरी पुनः सञ्चालनमा ल्याउन स्थानीय बासिन्दाले माग गरेका छन् । आफ्ना पुर्खाहरुले खानी खनेका ठाउँ वरपर अहिले पनि तामाका धाउ भेटिने भएकाले यस क्षेत्रमा तामा खानीको सम्भाव्यता अध्ययन गरी पुनः सञ्चालनमा ल्याइनुपर्ने मल्कबाङका स्थानीय टीका बहादुर घरब्जा छन्त्यालले बताउनुभयो । “हाम्रो पुस्ताले यसैमा जीवन बिताए, उनीहरुले खनेका दुई दर्जनभन्दा बढी खानीका भग्नावशेष यहाँ अझै भेटिन्छन्, सरकारले यस क्षेत्रको खानीको सम्भावनालाई अनुसन्धान गर्न जरुरी छ,” उहाँले भन्नुभयो ।

तत्कालीन सरकारले खानी उत्खनन् गर्नेहरुबाट लिने करबापतको ‘भेजा’ बढी लिन थालेपछि छन्त्याल समुदायको पुख्यौली पेशा खानी उत्खनन् संकटमा पर्न थालेको थियो । म्याग्दीमा अहिले खानीका भग्नावशेष भएका ठाउँ नजिक छन्त्याल समुदायकै बसोबास छ । छन्त्याल समुदायले खानीबाट तामा, फलामलगायतका धातु उत्खनन् गरी अन्य ठाउँमा पुगेर अन्नसँग साट्ने र गुजारा चलाउने गर्थे । आफ्नो पुख्यौली पेशा संकटमा परेपछि ४÷५ पुस्तादेखि छन्त्याल समुदायको पेशा पनि परिवर्तन भएको छ । अहिले अधिकाँश छन्त्याल समुदाय वैदेशिक रोजगारी, व्यापारलगायतका व्यवसायमा आबद्ध देखिन्छन् । मल्कबाङमा विगतमा स्थानीय स्तरमै उत्खनन् गरिएका तामाबाट बनाइएका घरेलु भाँडाहरु अहिले पनि छन् । खानी खन्न बनाइएका लामा–लामा सुरुङ वरपर र भित्र तामाका धाउहरु प्रशस्त मात्रामा देखिने भएकाले यसको अध्ययन र अनुसन्धान गर्नुपर्ने स्थानीय धनबहादुर छन्त्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो – “पुर्खाहरुले गाउँले छिनो, घन, कुटो कोदालोको सहारामा यत्रा पहाडमा सुरुङ खनेर तामा उत्खनन् गरेका हुन्, त्यतिबेला सुरुङभित्र आगो बालेर तामाका धाउहरु खन्ने गरेको सुनिन्छ, अहिले प्रविधिको विकास भएको छ, सम्भाव्यता अध्ययन गरेमा नयाँ प्रविधिको प्रयोगले खानीहरु उत्खनन् गर्न सकिन्छ ।” मल्कबाङमा रहेका एक दर्जनभन्दा बढी तामा खानीमध्ये अहिले अधिकाँश पुरिन थालेका छन् । चट्टाने पहाडमा आफ्ना पुस्ताले खानी खन्न स्थानीय औजारहरुले बनाएका सुरुङहरुसमेत पुरिने अवस्थामा पुगेकामा स्थानीयवासी चिन्तित छन् । खानीमा रहेका सुरुङहरुले नेपालको झण्डै दुईसय वर्ष पुरानो जीवनशैलीलाई समेत झल्काउने भएकाले यस्तो सुरुङहरुलाई तत्कालका लागि संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बेलायतबाट घरविदामा आएका मल्कबाङका शेर बहादुर छन्त्यालले बताउनुभयो । उहाँले यस्ता ऐतिहासिक र पुस्तौं पहिलेका जीवन्त खानीहरुलाई उत्खनन् सँगै सुरुङहरुको संरक्षण र प्रचारप्रसार गर्न सके पर्यटकीय आकर्षणसमेत बढ्ने बताउनुभयो ।

मल्कबाङमा अहिलेभन्दा १७१ वर्ष अघि गाउँमै रहेका खानीहरुबाट उत्खनन् गरिएको तामाबाट बनाइएका भाँडाहरुसमेत छन् । स्थानीय लाल बहादुर छन्त्यालको घरमा विस १९०४ मितिमा बनेका भाँडाकुँडा रहेका छन् । आफ्नो पुख्र्यौली सामानमा उक्त मिति उल्लेख भएका ६ माने पाथी र गाग्रीसमेत भेटिएपछि आफूहरुले त्यसलाई जोगाएर राखेको उहाँले बताउनुभयो । धौलागिरि गाउँपालिकाको मल्कबाङसँगै वडा नं १ गुर्जा, वडा नं ७ मच्छीम, धारापानी लगायतका क्षेत्रमा समेत तामा, फलाम लगायतका खानी खनिएका सुरुङहरु रहेका छन् । गाउँपालिकाभित्र रहेका यस्ता खानीका सुरुङहरुलाई संरक्षण र सम्भाव्यता अध्ययनका लागि आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने र बजेट व्यवस्थापन गर्ने तयारी गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो ।

“गाउँपालिका प्रारम्भिक चरणमा छ, यसको उत्खनन्कै प्रकृयाको लागि त प्रदेश र केन्द्र सरकारबाट हेरिनुपर्ने देखिन्छ, सम्भाव्यता अध्ययनका लागि हामीले गाउँपालिकाबाटै पहल गर्छौं” – उपाध्यक्ष छन्त्यालले भन्नुभयो । जिल्लाको रघुगंगा गाउँपालिकाको वडा नं ६ ठाडाखानी, ७ कुईनेमंगले, मालिका गाउँपालिकाको ओखरबोटलगायतका ठाउँमा विगतमा खनिएका दर्जनौँ खानीका सुरुङ र अवशेष रहेका छन् । ती ठाउँहरुमा स्थानीयवासीले स्थानीय सीप र साधनको प्रयोग गरी तामा निकाल्ने गरेका खानीका सुरुङ्ग र धाउ अझै भेटिन्छन् । पुर्खाहरुले जीविकोपार्जनका लागि खानी खनेको भएपनि बन्द अवस्थामा रहेका खानीको अध्ययन र अनुसन्धान नहुँदा नयाँ पुस्ता खानीबारे अनभिज्ञ बन्नुपरेको रघुगंगा गाउँपालिका–७ कुईनेखानीका पलप्रसाद छन्त्यालले बताउनुभयो ।

बन्द भएका खानीहरु वर्षेनी बाढी, पहिरोले पुरिँदै जान थालेका छन् । खानीको उत्खनन् गर्न स्वीकृतिका लागि सरकारी प्रकृया पु¥याउन नसक्नु, पुख्र्यौली सीप नयाँ पुस्तामा हस्तान्तरण नहुनु जस्ता कारण पनि खानी उत्खनन् हुन नसकेको हो । त्यसैले परम्परागत रुपमा उत्खनन् हुने गरेका यस्ता सम्भावनायुक्त खानीको अनुसन्धान गरी सञ्चालनमा ल्याउन स्थानीय प्रदेश र केन्द्रीय सरकारको ध्यान जान जरुरी छ । बन्द भएका खानीहरुलाई आधुनिक स्रोत, साधन र सीपको प्रयोग गरी पुनः सञ्चालनमा ल्याउन सकिए स्थानीय समुदायसँगै राष्ट्रकै आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । खानी संरक्षण र उत्खनन्को अधिकार स्थानीय तहलाई आएपछि म्याग्दीका विभिन्न ठाउँमा रहेका यस्ता खानीहरु पुनः सञ्चालनमा आउने आशा पलाएको छ ।


८ जेष्ठ २०७५, मंगलवार १४:५२ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्