वरिष्ठ न्यूरो सर्जन डा देवकोटाको निधन

admin
प्रकाशित मिति: ४ असार २०७५, सोमबार २०:२०

काठमाडौँ, ४ असार (रासस) : वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज साँझ उपचारका क्रममा बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा निधन भएको छ । उहाँ सो इन्स्टिच्यूटका संस्थापक तथा प्रख्यात स्नायुरोग विशेषज्ञ हुनुहुन्थ्यो ।
पित्तथैलीको अर्बुदरोगका कारण करीब एक वर्षअघिदेखि पीडित डा देवकोटाको साँझ ५ः३५ बजे निधन भएको उहाँका भजिता वसन्त देवकोटाले जानकारी दिनुभयो । छ महिनाअघि बेलायतमा उपचार गर्न लगिए पनि रोग निको नहुने भएपछि उहाँ स्वदेशमै देहत्याग गर्ने इच्छासहित स्वदेश फर्कनुभएको थियो । बिरामी अवस्थामा नै आफू जन्मेको घरको पिँढीमा सुस्ताउने र त्यहाँको सिस्नेधाराको पानी पिउने इच्छा गरेबमोजिम उहाँलाई गत जेठ २६ गते हेलिकप्टरमा त्यहाँ लगिएको थियो ।

विसं २०१० पुस ४ गते गोरखाको पण्डितगाउँ लिगलिगमा जन्मनुभएका डा देवकोटाका श्रीमती र तीन छोरी छन् । श्रीमती डा मधु दीक्षित तथा छोरीहरु मेघा, वसुधा र मञ्जरीले उहाँको काजक्रिया सात दिनमा सक्ने अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पूर्व स्वास्थ्यमन्त्री डा देवकोटाको पार्थिव शरीर मंगलबार बिहान ८ बजेदेखि अपराह्न १ बजेसम्म श्रद्धाञ्जलिका अस्पताल परिसरमा राखिनेछ भने त्यसपछि नारायणगोपाल चोकबाट शवयात्रासहित पशुपति आर्यघाटमा विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिनेछ ।


४ असार २०७५, सोमबार २०:२० मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्