धानबाली नष्ट

admin
प्रकाशित मिति: २८ भाद्र २०७५, बिहीबार १३:२९

कञ्चनपुर, २८ भदौ (रासस) : जङ्गली हात्तीको झुण्डले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रमा धानबाली नष्ट गरेको छ । हात्तीको झुण्डले स्थानीयवासी दिलबहादुर चौधरीको घरसमेत भत्काएको छ । हात्तीले भण्डारण गरेर राखेको सबै अन्न खाएको छ । घर भत्काउन थालेपछि स्थानीयवासी भागेका थिए । “रातभर आगो बालेर र हो–हल्ला गरी घर जोगायौँ,” स्थानीयवासी नरबहादुर ढुङ्गेलले भन्नुभयो, “ज्यान जोगाउन मुश्किल भएको छ ।” बर्सेनी जङ्गली हात्तीले अन्नबाली नोक्सान गर्दै आएको छ । निकुञ्जसँग जोडिएका बस्तीका बासिन्दाले छिमेकी गाउँमा शरण लिनुपरेको छ । तारापुर शिविरमा निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका परिवार बस्दै आएका छन् । हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवामा ६ बिघामा लगाएको धानबाली नष्ट गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीले बताउनुभयो । हात्तीको बथानले गर्जमनीका वासुदेव भट्ट, दिनेश भण्डारी, रामसिंह साउँद, भवराज निरौला, मीनबहादुर रावल, अर्जुनदेव भट्टलगायतका किसानको धानबाली नष्ट गरेको छ ।

“हात्तीको बथान मध्यरातमा गाउँ पस्ने गरेको छ,” गर्जमनीका वासुदेव भट्टले भन्नुभयो । निकुञ्जका हात्तीले प्रत्येक वर्ष धानबाली नष्ट गर्दै आएको छ । “ भित्र्याउने बेला जङ्गली जनावरले अन्नबाली खाइदिन्छ, हामीले सधैँ बजारबाट अन्न खरीद गर्नुपर्ने बाध्यता छ”, भट्टले भन्नुभयो । निकुञ्जसँग जोडिएका बस्तीमा हात्तीले बर्सेनी अन्नबाली नष्ट गर्दै आएको छ ।


२८ भाद्र २०७५, बिहीबार १३:२९ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्