सूचना प्रविधिमैत्री गाउँपालिका

admin
प्रकाशित मिति: १३ आश्विन २०७५, शनिबार १२:४८

जाजरकोट, १३ असोज (रासस) : बढ्दो सूचना प्रविधिको मागसँगै यहाँका शिवालय गाउँपालिका सूचना प्रविधिमैत्री बनेका छन् । जिल्लाको शिवालय गाउँपालिकाले गाउँपालिकाभित्र इन्टरनेट सेवा विस्तार गरेको छ । वर्डलिङ्क इन्टरनेट सेवामार्फत यहाँका सबै वडामा निःशुल्क इन्टरनेट सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिनुभयो । अहिले सबै ठाउँमा इन्टरनेट जोडेर निःशुल्क रूपमा सेवा दिइरहेको अध्यक्ष शाहीले बताउनुभयो । गाउँपालिकाले करीब रु ७ लाख लागतमा इन्टरनेटको टावर जडान गरी यहाँका विद्यालय, वडा कार्यायलय, स्थानीयवासी र गैरसरकारीमा सेवा विस्तार गरिएको उहाँको भनाइ छ । विद्युत र इन्टरनेटका अभावमा सदरमुकाममा सम्पर्क कार्यालय स्थापना गरेको गाउँपालिकाले इन्टरनेट जडानसँगै अब स्थानीयस्तरमै काम गर्न थालेको छ । पहिलो पटक निःशुल्क इन्टरनेट सेवा पाउँदा यहाँका स्थानीय खुशी भएको स्थानीय पूर्णबहादुर महतराले बताउनुभयो । दुई वर्षसम्म निःशुल्क इन्टरनेटसेवा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।


१३ आश्विन २०७५, शनिबार १२:४८ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्