२५ जनाको निःशुल्क शल्यक्रिया

admin
प्रकाशित मिति: १८ कार्तिक २०७५, आईतवार १२:१८

मुसिकोट, १८ कात्तिक (रासस) : रुकुम पश्चिमको चौरजहारीमा सञ्चालित तीनदिने निःशुल्क प्लाष्टिक सर्जरी शिविरमा २५ जनाकोे सफल शल्यक्रिया गरिएको छ । जन्मजात ओठ तथा तालु फाटेका र आगोले पोलेर शरीरको एक भाग अर्काे भागसँग जोडिएर शरीर सङ्कुचन भएका व्यक्तिको सफल शल्यक्रिया गरिएको हो । शिविरमा रुकुम, सल्यान र जाजरकोट जिल्लाबाट आएका ४१ मध्ये २५ जनाको सफल शल्यक्रिया गरिएको शिविरका संयोजक बद्री रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार भौगोलिक विकटता र आर्थिक रूपले जिल्ला बाहिर गएर उपचार गर्न नसक्ने व्यक्तिलाई लक्षित गरी निःशुल्क सेवा प्रदान गरिएको बताइएको छ । शिविरमा प्लाष्टिक सर्जरी गर्न सम्भव भएका व्यक्तिको मात्र सफल शल्यक्रिया गरिएको जनाइएको छ । चौरजहारी नगरपालिकाको आर्थिक सहयोग तथा कल्याणकारी अपाङ्ग सेवा सङ्घ सल्यान र स्थानीय सिबिआरको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरको प्राविधिक सहयोग कीर्तिपुर अस्पताल काठमाडौँले गरेको थियो । शनिबार शिविर समापनमा बोल्दै चौरजहारी नगरपालिकाका नगरप्रमुख विशाल शर्माले निःशुल्क प्लाष्टिक सर्जरी शिविरले यस क्षेत्रका नागरिकलाई सहयोग पुगेको बताउनुभयो ।


१८ कार्तिक २०७५, आईतवार १२:१८ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्