तुलाधरको निधनले राष्ट्रलाई अपूरणीय क्षति– उपराष्ट्रपति

admin
प्रकाशित मिति: १८ कार्तिक २०७५, आईतवार २०:१४

काठमाडौँ, १८ कात्तिक (रासस) : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आज दिउँसो निधन हुनुभएका पूर्वमन्त्री एवं वरिष्ठ मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । आज साँझ लाजिम्पाटस्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्व तुलाधारको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

उपराष्ट्रपतिले तुलाधरका परिवारजनमा गहिरो समवेदना व्यक्तसमेत गर्नुभयो । “मैले उहाँलाई अस्पतालमा गएर भेटेको थिएँ, आज यस्तो होला भन्ने कल्पना पनि गरेको थिएन । पूर्वमन्त्री एवं वरिष्ठ मानव अधिकारवादी नेता, नागरिक समाजका अगुवा, नेपालको शान्ति प्रक्रियाको पहलकर्ता आदरणीय पद्मरत्नज्यूको निधनले म स्तब्ध भएको छु”, उपराष्ट्रपतिले परिवारजनसँग भन्नुभयो ।

उपराष्ट्रपतिले तुलाधरको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको भन्दै नेपालको परिवर्तनकारी आन्दोलन, विशेषगरी पञ्चायतविरुद्धको सङ्घर्ष, २०६२÷६३ को जनआन्दोलन र नेपालको शान्ति प्रक्रियाका लागि उहाँले पु¥याउनु भएको योगदान सगरमाथा जस्तो उच्च रहेको बताउनुभयो । उपराष्ट्रपतिले पद्मरत्नको भौतिकरुपमा निधन भए पनि सधैँका लागि बाँचिरहने बताउनुभयो । “मानिस जन्मनु र मर्नु प्राकृतिक नियम हो । तर जसले समाज र राष्ट्रका लागि योगदान दिन्छ ऊ अमर रहन्छ”, उहाँले भन्नुभयो ।


१८ कार्तिक २०७५, आईतवार २०:१४ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्