जिम्बाबेद्वारा बंगलादेश १५१ रनले पराजित

admin
प्रकाशित मिति: २० कार्तिक २०७५, मंगलवार १५:४३

सिल्हेट, बंगलादेश, २० कात्तिक (रासस/एएफपी) : जिम्बाबे र बंगलादेशबीच सिल्हेटमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा जिम्बाबेले बंगलादेशलाई एक सय ५१ रनले पराजित गरेको छ । पाँच वर्षभित्र जिम्बाबेको यो पहिलो जित हो । जिम्बाबेका तर्फबाट पहिलो पटक टेस्ट खेल्दै गरेका स्पिनर ब्रेन्डन माभुताले २१ रन दिएर चार विकेट लिएका थिए भने सिकन्दर राजाले तीन विकेट लिए । बंगलादेशको दोस्रो इनिङ चौथो दिनमा एक सय ६९ रनमा समेटिएको थियो । बंगलादेशका इमरुल कायेसले ४३ रनको योगदान दिएका थिए । दुई टेस्टको यस शृङ्खलामा जिम्बाबे १–० ले अगाडि भएको छ । बंगलादेशले पहिलो इनिङमा एक सय ४३ रन बनाएको थियो । जिम्बाबेले भने पहिलो इनिङमा दुई सय ८२ रन बनाई एक सय ३९ रनको अग्रता लिएको थियो । दोस्रो इनिङमा एक सय ८१ रन बनाएको जिम्बाबेले बंगलादेशलाई जितका लागि तीन सय २१ रनको लक्ष्य दिएको थियो । दोस्रो टेस्ट नोभेम्बर ११ मा ढाकामा खेलिनेछ ।


२० कार्तिक २०७५, मंगलवार १५:४३ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्