कोदो फलाए पुरस्कार दिइने

admin
प्रकाशित मिति: १७ मंसिर २०७५, सोमबार १२:०७

बागलुङ, १७ मङ्सिर (रासस) : कोदो बाली जोगाउन ढोरपाटन नगरपालिकाले नयाँ प्रयास थालेको छ । ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको हो । यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ । सोको लागि नगरसभाले चालू आवमा रु १५ लाख बजेट छुट्टाएको छ । आउँदो माघभित्र किसानलाई पुरस्कार रकम बाँडिने नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो । उहाँका अनुसार १०० किसानले पुरस्कार पाउनेछन् । नगरपालिकाले कृषि शाखामार्फत कोदो खेतीको अध्ययन अघि बढाएको छ । “वैज्ञानिक हिसाबले रकम बाँड्छौँ” नगरप्रमुख नेपालीले भन्नुभयो, “बढी उत्पादन गर्ने किसानले पुरस्कार पाउँछन् ।” खेती गरेको जग्गा, उत्पादनको मात्रा अनुसार रकम घटीबढी हुनेछ । कार्यपालिका बसेर पुरस्कार वितरणको आधार र कार्यविधि तय गरिने प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताउनुभयो । गाउँको जग्गा बाँझिदै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । “बसाइँसराइ बढ्दो छ, खेती घट्दै छ”, उहाँले भन्नुभयो, “परम्परागत खेती जोगाउन सानो प्रयास थालेका हौँ ।”

मानिसले कोदोका परिकारमा रुचि देखाउन थालेकाले मकै, कोदोजस्ता बाली संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ । स्वस्थ शरीरका लागि कोदोका परिकार उत्तम मानिने हुँदा शहरी क्षेत्रमा पनि माग छ । नगरपालिकाले कोदो खेती गर्ने किसानलाई उन्नत बीउ, मल, कृषियन्त्र पनि उपलब्ध गराउनेछ । किसानले पुरस्कार रकम कोदो बाली प्रवद्र्धनमै खर्च गर्नुपर्नेछ । पछिल्लो समय कोदो बालीको उत्पादन घट्दै गएको छ । अन्य बालीको तुलनामा उत्पादन कम हुने र लागत बढी लाग्ने हुँदा कोदोमा किसानको आकर्षण घटेको हो । कोदोबाट रोटी, ढिँडोजस्ता परिकार बनाइन्छ । उच्च पहाडी र मध्यपहाडी क्षेत्रमा कोदो खेती गरिन्छ । तराईका कतिपय जिल्लामा समेत कोदो खेती गर्न थालिएको छ । परम्परागत बाली संरक्षणमा नगरपालिकाको गरेको पहलप्रति किसान खुशी छन् । कृषिमा अनुदान बढाउनुपर्ने र यान्त्रीकीकरणमा सघाउनुपर्ने किसानको माग छ ।


१७ मंसिर २०७५, सोमबार १२:०७ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्