नेपाल भ्रमण वर्ष सन् २०२० लाई प्रवर्धन गर्ने उद्देश्यले सिन्धुपाल्चोकमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई होटल तथा रिसोर्टलगायतमा ३० प्रतिशत छुट गरिने भएको छ । होटेल व्यवसायीको पहलमा नयाँ वर्षको पहिलो दिन जनवरी १ तारिख पुस १६ देखि एक सातासम्म होटल, रिसोर्ट, बञ्जीजम्प तथा जलयात्रालगायतमा उक्त छुट दिने निर्णय भएको भ्रमण वर्षको अवसरमा गठित जिल्ला प्रवद्र्र्धन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङले बताउनुभयो । भ्रमण वर्षमा जिल्लामा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले जिल्लाको हेलम्बु, पाँचपोखरी, भोटेकोशी, बञ्जी तथा जुगललाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिनेछ । पर्यटकलाई खाने बस्ने व्यवस्थाको लागि सुकुटेदेखि तातोपानीसम्म पर्याप्त रिसोर्ट रहेको छ । त्यस्तै मेलम्चीमा नयाँ होटल बन्नुका साथै हेलम्बुमा पनि रिसोर्टहरु निर्माण भैरहेकाले खान, बस्न कुनै समस्या नभएको सभापति तामाङले बताउनुभयो । रासस
