नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसकेको बताउनुभएको छ ।
नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँ आयोजना गरेको कार्यक्रममा प्रचण्डले वामपन्थीहरूको बीचमा र देशभक्तहरूसँग सहकार्य गर्न लगातार छलफल भइरहेको र एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको बताउनुभएको हो । प्रचण्डले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त अधिकारहरूमाथि भइरहेको प्रहारको सामना गर्न सबैलाई एकजुट भएर अघि बढ्न अपिल समेत गर्नुभयो । उहाँले सरकारका गलत नीतिनिर्णयका विरुद्ध सदनमार्फत खण्डन–आलोचना गर्ने काम भइरहेको भन्दै विस्तारै अब सडकमा गएर पनि सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता महसुस भएको बताउनुभयो । सडकमा गएर खबरदारी नगरिकन अहिले देखापरेको प्रतिक्रान्तिको हावालाई रोक्न नसकिने उहाँको भनाइ छ ।
त्यस्तै प्रचण्डले प्राविधिक र तयारी तीव्र नभएका कारण पहिले तय गरिएको मङ्सिर ११ गतेको महाधिवेशन सम्भव नदेखिएकाले यही हप्ता बस्ने केन्द्रीय बैठकबाट नयाँ कार्यतालिका तय गरिने बताउनुभयो ।
उहाँले दुई महिने अभियानअन्तर्गत टोल–गाउँसम्म पुगेर काम गर्ने, सदस्यता नवीकरण र विस्तार गर्नेजस्ता महाधिवेशन तयारीका कामहरू सुरु भइसकेको जानकारी दिनुभयो ।
