• Friday 9th of October 2026

बुढानिलकण्ठबाट पौने २२ किलो सुनसहित तीन चिनियाँ नागरिक सार्वजनिक


  • आशाका किरण

प्रहरीले काठमाडौंको बुढानिलकण्ठ भंगालबाट बरामद भएको २१ किलो ७५० ग्राम सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै बूढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भङ्गालस्थित एउटा घर भाडामा लिई चिनियाँ नागरिकहरूले अवैध रूपमा सुन प्रशोधन तथा कारोबार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा २१ किलो ७५० ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको जनाएको हो ।

पक्राउ पर्नेमा चिनियाँ नागरिकहरू ह्याङ फेई, झौ लोङ क्विन र वाङ जियाङ जिआङ रहेका छन् । उक्त प्रकरणमा हालसम्म कुनै पनि नेपालीको संलग्नता नदेखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

उहाँले प्लास्टिकसहित जम्मा २१ केजी ७५० ग्राम सुन बरामद गरिएको र बरामद सुनको अनुमानित बजार मूल्य रु. ५४ करोड ६० लाख ७ हजार रहेको बताउनुभयो । चिनियाँ नागरिक सु क्यानले घरधनीसँग साउन ८, २०८३ देखि ४ महिनाका लागि मासिक रु. ३ लाख ३० हजारका दरले जम्मा रु. १३ लाख २० हजार अग्रिम भुक्तानी गरी घर भाडामा लिएको अनुसन्धानबाट खुलेको एसएसपी खड्काले बताउनुभयो ।   

सु क्यानले चीनमा आफ्ना मुख्य नाइके जेन जिया ललाई साँचो सुम्पेको र त्यसपछि जेन जिया ल ले हाल पक्राउ परेका ह्याङ फेई र झौ लोङ क्विनलाई असोज १० मा सो घरको साँचो दिएर नेपाल पठाएको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यस सञ्जालका मुख्य नाइके चीनको ग्वान्झाउमा जेन जिया ल भएको र उनकै निर्देशनमा वीच्याटमार्फत सम्पूर्ण अवैध कारोबार र ओसारपसार सञ्चालन हुने गरेको खुलेको समेत एसएसपी खड्काले जानकारी दिनुभयो । थप अनुसन्धानका लागि दोभासे राख्दा पनि पक्राउ परेका चिनियाँ नागरिकले असहयोग गरिरहेको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij