नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिभिन्न पदमा उम्मेदवारी दिएका नेताहरुले पार्टीलाई बलियो र एक ढिक्का बनाउन आवश्यक भूमिका निर्वाह गर्ने बताएका छन् ।
बिहीबार निर्वाचनको प्रचारप्रसारमा सहभागी नेताहरूले पार्टीलाई बलियो बनाउदै आगामी दिनमा जनताको विश्वास जित्ने गरि एकढिक्का बनाउन आवश्यक भूमिका निर्वाह गर्ने बताएका हुन् ।
कांग्रेस महामन्त्री (खुला) पदका उम्मेदवार नैनसिंह महरले देश हाल सङ्कटग्रस्त अवस्थामा रहेकाले त्यसलाई निकास दिनुका साथै कांग्रेसको साङ्गठनिक सुदृढीकरण तथा आन्तरिक एवं बाह्य समस्या समाधान गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले नेता, राजनीतिक दल र जनताबीचको दुरी पुर्दै निराश भएका जनतालाई उत्साहित बनाउने र जनताको लोकप्रिय पार्टी निर्माण गर्ने लक्ष्यका साथ आफूले उम्मेदवारी दिएको उल्लेख गर्नुभयो ।
त्यस्तै केन्द्रिय सदस्य (महिला खुला) पदकी उम्मेदवार बासना थापाले पार्टीका अग्रज नेताहरूबाट सिकेको अनुभव र मार्गदर्शनलाई जोगाउँदै त्यसको सही प्रयोग गरेर अघि बढ्ने बताउनुभयो । पार्टी कार्यालयभन्दा बाहिर रहेका वा असन्तुष्ट पक्ष तथा हालैका विभिन्न कारणले निर्वाचनमा व्यहोर्नु परेको पराजयका चुनौतीहरूलाई स्वीकार गर्दै सुधारेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाको भनाइ छ ।
त्यस्तै केन्द्रीय सदस्य( खुला) तर्फका उम्मेदवार चिरीबाबु महर्जनले गगन थापाको नेतृत्वमा बन्ने कार्यसमितिले प्रभावकारी रूपमा नतिजा दिनका लागि आफु समर्पित रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कांग्रेसभित्र कुनै पनि किसिमको विभाजन नहोस् भन्ने मुख्य र पहिलो उद्देश्य रहेको उहाँको भनाइ छ ।
त्यसैगरी अन्य उम्मेदवारहरूले पार्टीलाई सशक्त ढङ्गले अघि बढाउनका लागि काम र नतिजा दिलाउन निरन्तर लागिपर्ने जनाएका छन् ।
