• Tuesday 8th of September 2026

मिस तामाङ पोखराको तयारी पूरा


  • आशाका किरण

आगामी माघ ४ गते शनिबार पोखरा सभागृहमा हुने पाँचौँ संस्करणको मिस तामाङ पोखराको तयारी पूरा भएको छ । तयारी सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले हरेक वर्ष सोनाम ल्होसारका अवसरमा आयोजना गर्दै आइरहेको ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरालाई यस वर्ष पनि निरन्तरता दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार मञ्जुश्री संवत् २८५६ को अवसरमा आयोजित यो ल्होसार म्युजिक फेस्टिभलको साताँै संस्करण हो भने पाँचौ संस्करणको मिस तामाङ पोखरा गर्न लागिएको हो । प्रतियोगितमा १७ प्रतियोगीले सहभागिता जनाउने उहाँले बताउनुभयो । सहभागीलाई ४५ दिनको व्यक्तित्व, नेतृत्व, भाषा, कला, संस्कार, इतिहास तथा धर्मका विषयमा प्रशिक्षण गराइएको आयोजकले जनाएको छ । आधुनिकताको नाममा बढ्दो सांस्कृतिक अतिक्रमणको चपेटामा परेको मौलिक भाषा र संस्कृतिको जगेर्नाका लागि कार्यक्रमले टेवा पुग्ने समाजका अध्यक्ष तामाङले बताउनुभयो । युवा पुस्तामाझ तामाङ संस्कृति हस्तान्तरण र जानकारी वर्तमानको आवश्यकता भएको कुरालाई दृष्टिगत गरी कार्यक्रमको आयोजना गरिएको प्रतियोगिताका संयोजक कविता योञ्जनले जानकारी दिनुभयो ।

“यो विशुद्ध सांस्कृतिक सौन्दर्य प्रतियोगिता हो, अन्यभन्दा भिन्न छ”, उहाँले भन्नुभयो, “विशेष गरी भाषा, संस्कृति र संस्कारलाई युवा पुस्ता माझ परिचय गराउन कै लागि कार्यक्रमको आयोजना गरेका हौँ ।” प्रतियोगिताको विजेतालाई ताज, ट्रफी, प्रमाणपत्र र एक लाख नगदसहित म्युजिक भिडियोको अवसर तथा आकर्षक उपहार प्रदान गरिने छ । त्यस्तै फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र नगद ५० हजार, सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र र नगद ३० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । भ्युवर्स च्वाइसका रुपमा एक जनाले नगद २० हजार पुरस्कार प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो । सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको यस अघिका चौथो संस्करणसम्म क्रमशः निमा लामा, दिप्ती गोम्जा, कविता योञ्जन र कुशुम स्याङवो तामाङले ताज पहिरिएका छन् । कार्यक्रमबाट बचत रकम रिन्छिङ तोजेर्त तामाङ शान्ति गुम्बा निर्माणार्थ खर्च गरिने सो अवसरमा जानकारी गराइयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij