• Tuesday 8th of September 2026

काष्ठमण्डपका लागि थप काठ ल्याउन समस्या


  • आशाका किरण
PM Oli waves towards the media personnel as he visits the rebuilding site of Kastamandap temple which collapsed during April 2015 earthquake, in Kathmandu, on Thursday, April 25, 2019. Photo: Skanda Gautam/THT

पाँच दिनदेखि नियमित पानी परेपछि काष्ठमण्डप पुनःनिर्माणका लागि अभाव भएको आवश्यक काठ ल्याउन समस्या भएको छ । निर्माणका क्रममा काठको अभाव भएपछि ८ हजार क्युफिट काठ धनगढीबाट ल्याइने तयारी भएको थियो । अगुप भएको काठ गत पुस १५ सम्ममा ल्याइने तयारी गरेपनि हालसम्म ल्याउन सकिएको छैन । अबको केही दिनमा काठ ल्याउने तयारी भएको काष्ठमण्डप पुनःनिर्माण समितिले जनाएको छ । माघसम्म पनि काठ ल्याउन नसके पुनःनिर्माणको काम रोकिने छ । छानाका लागि ८ हजार क्युफिट काठ आवश्यक पर्ने हुँदा धनगढीबाट काठ ल्याउने तयारी गरिएको हो । निर्माणअन्तर्गत अहिले दोस्रो तलाको कामसँगै झ्यालढोका बुट्टा कुद्ने काम भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । हालसम्म ५५ प्रतिशत काम सम्पन्न भएको छ । “अहिले मुख्य ४ थाम राखी बिचमा गारो लगाउने काम सकिएको छ”, उहाँले भन्नुभयो । समयमा नै काठको व्यवस्था भए यसअघिभन्दा तीव्ररूपमा काम हुने जनाइएको छ ।

हाल दैनिक ३० कामदारले नियमितरूपमा काम गरिरहेका छन् । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमा पूजा गरिएको थियो । गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत्रूपमा सो सम्पदाको पुनःनिर्माण शुरु गरिएको हो । तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ । गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन काष्ठमण्डपको मूल थाम उठाइएको थियो । प्रयोग गरिएका ४ थाममध्ये ३ नयाँ प्रयोग गरिएका र एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जनाएको छ । उक्त ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई रु पाँच करोड ५० लाख आर्थिक सहयोग गरिसकेको छ । पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको हो । केही यस अघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij