• Tuesday 8th of September 2026

कामदार भागेपछि लोकमार्गको निर्माण ठप्प


  • आशाका किरण

राष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–घोडाबाँधे सडकको काम शुरु नगर्दै कामदार भागेका छन् । कामदार भागेसँगै बागलुङ–अछेते खण्डको काम पुनः अलपत्र परेको लोकमार्ग आयोजनाले बताएको छ । यस खण्डको २५ किमीमध्ये अक्षेते बिहूँ खण्डमा सन्तोषजनक काम भए पनि बागलुङ बजारको उपल्लाचौरदेखि अक्षेते बिहूँसम्मको सडक निर्माणमा खटिएका कामदार भागेको स्थानीयवासीले बताएका छन् । जिल्लावासीको चर्को दबाब, सांसद तथा जनप्रतिनिधिको विशेष पहलपछि दशैँ अघिदेखि ठप्प रहेको लोकमार्ग निर्माणको काम थालिएको थियो । बागलुङदेखि घोडाबाँधे सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्कामार्फत काम गरे पनि ठेकदारको लापरवाहीका कारण म्याद सकिने बेलासम्म पनि निर्माण कार्यले गति लिन सकेको छैन । अछेतैदेखि घोडाबाँधे सम्मको १३ किलोमिटर सडक निर्माणको जिम्मा पाएको सूर्य कन्स्ट्रक्सनले झण्डै २०० देखि ३०० कामदार दैनिक रुपमा खटाएर कालोपत्रका लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको भए पनि उपल्लाचौरदेखि अछेते बिहूँसम्मको १२ किलोमिटर सडक निर्माणको जिम्मा पाएको सिद्धिसाई कन्स्ट्रक्सनले काम अलपत्र पारेको लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताउनुभयो ।

“तल्लो खण्डमा ४०÷५० जना कामदारले २०० मिटर पक्की नाली निर्माण गरेका थिए, अहिले सडकमा कामदार छैनन्” उहाँले भन्नुभयो “ठेकेदार कम्पनी सम्र्पकमा छैन, कामदार भागेको जानकारी आएको छ ।” लोकमार्ग निर्माणमा खटिएका अधिकांश कामदारले जिल्ला छोडको मध्यपहाडी लोकमार्ग आयोजनाका इञ्जिनियर रामप्रसाद सुवेदीले बताउनुभयो । सिद्धिसाई कन्स्ट्रक्सनले मजदूर उतारेर नाली निर्माण र केही भीर कटानको काम अघि बढाइएको भए पनि पैसा नपाएको भन्दै कामदार भागेपछि निर्माण कार्य ठप्प भएको छ । आयोजना प्रमुख थापाले निरन्तर रुपमा ४०० देखि ५०० कामदार खटाउन भनेकोमा सय कामदार पनि खटाउन नसकेको र भएका कामदारले पनि काम छोडेर अन्यत्र गएको बताउनुभयो । माथिल्लो खण्डको निर्माण अवधि सकिएर म्याद थप्ने पक्रिया अगाडि बढाए पनि तल्लो खण्डको ठेक्का सम्झौता यही माघ मसान्तसम्म छ । उहाँले काममा नफर्के ठेकेदार कम्पनीलाई कारवाही गरिनेछ भन्नुभयो । ठेकेदार कम्पनीको लापरवाहीका कारण गत असारभित्र कालोपत्र गर्ने भनिएको लोकमार्गमा काम ठप्प भएको थियो ।

दुर्गम गाउँहरुको अधिकांश भाग कालोपत्र भइसक्दासमेत बजार आसपासकै खण्डमा कालोपत्र हुन नसक्दा यात्रु तथा त्यस आसपासका स्थानीयवासीले निकै सास्ती खेप्नुपरेको छ । ट्रयाक खुलेको २० वर्ष बितिसक्दा पनि सडक कालोपत्र नहुनु चरम लापरवाही भएको भन्दै नागरिक अगुवाले सामाजिक सञ्जालमार्फत ठेकेदार हराएको प्रतिकात्मक तस्बिरसहित दबाब अभियान चलाएका थिए । लोकमार्गको कूल एक हजार ७७६ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । जसमध्ये बागलुङ घोडाबाँधे २५ किमी र निसीखोला खण्डमा २५ किमी सडकमात्र कालोपत्रे गर्न बाँकी छ । निसीखोलाको दुई खण्डमा विभाजन गरी काम भइरहेको र असार मसान्तसम्म कालोपत्रे हुने गरी काम अगाडि बढेको लोकमार्ग आयोजनाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij