• Saturday 25th of July 2026

नपाले भत्काएको इँटाभट्टा चिम्नी व्यवसायीद्वारा पुनःनिर्माण


  • आशाका किरण

–राजकुमार पराजुली नमोबुद्ध नगरपालिकाले मापदण्डविपरीत सञ्चालन गरी नगर प्रदूषण गराएको भन्दै भत्काएको इँटा उद्योगका भट्टाचिम्नी व्यवसायीले पुनःनिर्माण गरेका छन् । नपाले गत भदौ ८ गते नगरको २ र ३ नं वडाका आठ इँटा उद्योगको भट्टाचिम्नी क्रेन प्रयोग गरी भत्काएको थियो । नमोबुद्ध नपा–३ स्थित भैरवकुण्ड इँटा उद्योगले हाल एक भट्टाचिम्नी निर्माण गरेको छ । भक्तपुरका राम सुवाललगायत सात जनाको समूहद्वारा सञ्चालित उक्त उद्योगले चैत पहिलो साताबाट इँटा उत्पादन प्रक्रिया थाल्ने जनाएको छ । नपाले इँटा उद्योगको भट्टाचिम्नी भत्काएकै दिन इँटा उद्योगीले नपाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उद्योगीको मुद्दामा गत भदौ १० गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले ‘छलफलबाट टुङ्गो नलागेसम्म नेपाल सरकार (मन्त्रिस्तर)बाट मिति २०७५ साल जेठ १४ मा भएको निर्णय एवं सो निर्णयको आधारमा विपक्षी नमोबुद्ध नगरपालिकाको कार्यालयसमेतबाट भएका अन्य निर्णय हाल कार्यान्वयन नगरी यथास्थितिमा राख्नु तथा निवेदकको इँटा उद्योगमा कुनै हस्तक्षेप नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । नगरप्रमुख टिपी शर्माले व्यवसायीले नपाको स्वीकृतिबिना भट्टाचिम्नी निर्माण गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एउटा शौचालय निर्माण गर्न त अनुमति लिनुपर्ने नियम छँदाछँदै नियमविपरीत भट्टाचिम्नी बनाइएको हो ।” उहाँले सर्वोच्च अदालतले दुवै पक्षलाई ‘यथास्थितिमा रहनु’ भन्ने आदेश भएको जिकिर गर्नुभयो । भैरवकुण्ड इँटा उद्योगका सञ्चालक सुवालले कम्पनीमा दर्ता भएका कारण भट्टाचिम्नी बनाउन नपाबाट स्वीकृति लिनुनपर्ने बताउनुभयो । “हामीले नियमानुसार कर तिर्दे आएका छौँ, नपाको विनियमावलीमा भट्टाचिम्नी बनाउन स्वीकृति लिनुपर्ने उल्लेख भए लिन्छौँ”, उहाँले भन्नुभयो । हाल निर्माण गरिएको भट्टाचिम्नी ‘सावर–जिकज्याक सिष्टम’ भएकाले प्रदूषणरहित सेतो धुवाँ निस्कने उहाँले बताउनुभयो । इँटा उद्योग व्यवसायी सङ्घका जिल्लाध्यक्ष जीतेन्द्र खयामलीले सर्वोच्च अदालतले नगरपालिकालाई इँटा उद्योगलाई कुनै पनि हस्तक्षेप नगर्नु भन्ने आदेश भएका कारण उद्योगीले भट्टाचिम्नी बनाउन कुनै बाधा नहुने बताउनुभयो । गत साल पुस २७ गते जिल्ला समन्वय समितिका पदाधिकारी, नपा पदाधिकारी र इँटा उद्योगीबीच २०७६ असार मसान्तभित्र नमोबुद्ध नपा क्षेत्रमा सञ्चालित आठ इँटा उद्योग हटाउन आठबुँदे सहमति भएको थियो ।

सहमति कार्यान्वयन नभएपछि नगर कार्यालयले गत भदौ ८ गते वडा नम्बर २ र ३ मा सञ्चालन हुँदै आएका इँटा उद्योगको भट्टाचिम्नी भत्काएको नगरप्रमुख शर्माले बताउनुभयो । सहमतिमा उल्लेखितबमोजिम नपाले व्यवसायीसँग भट्टाचिम्नी भत्काउँदाको लागत खर्च ‘सम्झौताबमोजिम क्षतिपूर्ति भराई पाऊ’ भनी अदालतमार्फत माग गर्दै आएको छ । सम्झौतापत्रमा करारबमोजिम र उल्लेखित नभएका विषय प्रचलित मुलुकी देवानी (संहिता) ऐन २०७४ र प्रचलित नेपाल कानूनबमोजिम हुने उल्लेख गरिएको थियो । जिल्लामा रहेका २० मध्ये नमोबुद्धमा आठ इँटा उद्योग सञ्चालन हुँदै आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij