• Wednesday 9th of September 2026

तराई–मधेसमा होलीको मौलिकता हराउँदै


  • आशाका किरण

–शङ्खर पहाडी पछिल्लो सयम आधुनिकताको नाममा तराई–मधेसमा मनाइने होली पर्वको मौलिकता हराउँदै गएको छ । हरेक वर्ष फाल्गुन शुक्लपूर्णिमा तिथि अर्थात होली पूर्णिमाको दिन मनाइने होलीमा गाइने होरी तथा जोगिरा जस्ता गीत विस्तारै लोपहुँदै गएका छन् । यसको स्थान अश्लिल भोजपुरी तथा मैथिली गीतहरुले लिन थालेको छ । पहिले होली आउन केही दिन बाँकी हुँदा नै तराई–मधेसका गाउँ–गाउँ, टोल–टोलमा सामूहिक रुपमा होरी र जोगिरा गाउने गरिन्थ्यो । स्थानीयवासी दिनभरको सारा काम सकाएर साँझ चौक, चौतारामा जम्मा भई सामूहिकरुपमा होरी र जोगिरा गाउने गरिन्थ्यो । तर आजभोली मानिसहरु त्यो चलन विस्तारै बिर्सदैँ गएका छन् । “आजभोलि गाउँदेखि शहरसम्म विभिन्न सङ्घसंस्था, सङ्गठन तथा सरकारी कार्यालयमा एकसाता अगाडिदेखिनै होलीको नाममा होली मिलन कार्यक्रमको आयोजना गरेर सामूहिक रुपमा एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरेको पाइन्छ”, चक्रघट्टा गाउँपालिका औरहीका राजगिर यादवले भन्नुभयो ।

“अहिले जे जस्तो कार्यक्रम गरेर होली मनाए पनि होलीको मौलिकता भने हराउँदै गएको छ । विगतमा होलीमा गाइने परम्परागत होरी र जोगिरा सररर जस्ता गीतहरु अहिले सुन्न पाइन छोडिएको छ”, यादवले भन्नुभयो । उहाँले भन्नुभयो, “आधुनिकताका नाममा आएका होली मिलनजस्ता कार्यक्रममा एकआपसमा रङ्ग अबीर दलेर फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नको लागि मात्र सीमित रहेको देखिन्छ ।” यस्ता कार्यक्रम सामजिक सद्भाव बढाउने तर्फ केन्द्रित हुनुपर्नेमा केवल शुभकामना आदानप्रदान गर्नमै सीमित भएको मलङ्गवा जेसिजका पूर्वअध्यक्ष एवं सामाजिक अभियन्ता सुवोध राजोपाध्यायले बताउनुभयो । होलीका परम्परागत गीत जोगिरा सररर जस्ता गीत बज्न छोडेको उहाँकोे भनाइ छ । शुभकामना आदानप्रदान मात्र नभइ तराई–मधेशमा गाउने गरिएका मौलिक जोगिराका गीतको पनि संरक्षणतर्फ ध्यान दिन जरुरी रहेको राजोपाध्यायले बताउनुभयो । केहीवर्ष अगाडिसम्म सर्लाहीका गाउँ गाउँ र टोल टोलमा जोगिरा सररर गीत गाएर मानिसहरुले होली मनाउँथे । अहिले भने होली मिलन कार्यक्रमको आयोजना गरेर यसलाई परम्परागत होलीलाई रेडिमेड होली बनाइदिएका छन् । पहिले होलीमा हल्का रङ्ग र अबीर मात्र खेलिन्थ्यो ।

अहिलेको होली मोबिल, कालो रङ्ग, हिलो र पानीको होलीमा परिणत भएको छ । साँझ परेपछि परम्परागत होरी र जोगिरा गाइन्थ्यो । अहिलेको होलीमा साँझ परेपछि रक्सी पिउनेले समाजमा विकृति ल्याएका छन् । आजभोलिका होली गीतमा अपाच्य शब्द प्रयोग हुने गरेका छन् । अहिले डिजेमा अश्लिल र अपाच्य भोजपुरी गीत बज्ने गरेका छन् । जसले गर्दा हाम्रो परम्परागत होली लोप हुँदै गइरहेको छ । हराउँदै परम्परागत होरी गीत तीन दशक अघिसम्म होली आउनु अघिदेखि नै गाउँगाउँमा मानिसहरु एक ठाउँमा जम्मा भएर होरी, जोगिरा जस्ता गीतहरु गाउने चलन रहेको थियो । अहिले त त्यस्ता गीत गाउन त परै जाओस् सुन्न पनि छोडिएको अभियन्ता सुवोध राजोपाध्यायले बताउनुभयो । “पहिले होली आउनुपूर्व नै, राम खेले होली लक्ष्मण खेले होली, आ लंकामे रावण खेले होली जस्ता गीतहरु गाउँगाउँमा गुञ्जिन्थे”, उहाँले भन्नुभयो, “तर आजभोलिका होली गीतमा अपाच्य शब्दहरु प्रयोग हुने गरेका छन् । डिजे बजाएर हाम्रा परम्परागत होली गीत लोप हुँदै गइरहेका छन् ।” स्थानीय बुढापाकाहरु पहिले होलीको समयमा भाङ खाने गरेको बताउँछन् ।

उनीहरुका अनुसार आजभोलि भाङको सट्टा खाने गरिएको रक्सीले समाजमा विकृति फैलिएको छ । पहिले साँझ परेपछि परम्परागत होरी र जोगिरा गाइन्थ्यो । अहिलेको होलीमा साँझ परेपछि रक्सी पिउनेहरुले समाजमा विकृति ल्याएको उहाँको गुनासो छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij