• Wednesday 9th of September 2026

काठ नहुँदा इच्छाकामना मन्दिर पुनःनिर्माण रोकियो


  • आशाका किरण

चितवनको इच्छाकामना–५ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर पुनःनिर्माण ढिलाइ भएको छ । गोरखाको मनकामनाको सात दिदी बहिनीमध्ये इच्छाकामनालाई एक मानिन्छ । पछिल्लो समय काठ अभावभएपछि पुनःनिर्माणमा ढिलाइ भएको मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिर जीर्ण भएपछि गत असारदेखि जगैबाट भत्काइ पुनःनिर्माण थालिएको थियो । काठ अभाव भएपछि विसं २०७६ असोज महिनादेखि काम ठप्प रहेको छ । उहाँले भन्नुभयो, “असोज महिनादेखि काठ उपलब्ध नभएपछि मन्दिर निर्माणको काम ठप्प भएको छ, अब काठ ल्याउनका लागि प्रक्रिया अघि बढिसकेको छ, चाँडै काम पुनः सञ्चालन हुनेछ ।” गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले काठ अभावका कारण काम रोकिएको बताउनुभयो । उहाँले काठ उपलब्ध गराउन गाउँपालिकाले समन्वय र सहयोग गरिराखेको जानकारी दिनुभयो । मन्दिर निर्माणका लागि झण्डै रु तीन करोड लाग्ने जनाइएको छ । प्रदेश सरकारबाट रु ५० लाख र गाउँपालिकाबाट रु ७५ लाख बजेट उपलब्ध भई काम शुरु गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष बोहोराले बताउनुभयो ।

हालसम्म मन्दिर पुनःनिर्माणको काम ३३ प्रतिशत सम्पन्न भएको बताइएको छ । मन्दिर पुनःनिर्माण भइरहे पनि दैनिक पूजाआजा रोकिएको छैन । अहिले मन्दिर बाहिर प्रतिमा निर्माण गरेर पूजा गर्ने व्यवस्था मिलाएको छ । प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा मन्दिरमा मेला लाग्ने गर्दछ । मेलामा राँगा, बोका, हाँसको अण्डा र कुखुराको बलि दिइन्छ । मेलामा देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गर्दछन् । रातभर नाचगान र रमाइलो गरेपछि बिहान पूजाआजा गरिन्छ । मन्दिर सामुद्रिक सतहदेखि एक हजार ८०० मिटरको उचाइमा रहेको छ । इच्छाकामनाको वरपर जङ्गलले ढाकेको छ । फागुन, चैतमा फुल्ने लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । वनपाखा फूलले ढकमक्क हुन्छन् । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश माछापुच्छे«सम्म देख्न सकिन्छ । मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको पुजारी हर्कबहादुर गुरुङले बताउनुभयो । मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकको आवागमनमा वृद्धि हुँदै आएको स्थानीय होटल व्यवसायी ज्ञानबहादुर गुरुङ बताउनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij