• Friday 24th of July 2026

लकडाउनमा बालबालिकालाई रचनात्मक काममा कसरी सहभागी गराउने


  • आशाका किरण

काठमाडौँ–१६ का कक्षा ६ मा अध्ययनरत प्रविन चापागाईं टिभि र मोबाइल हेरेर लकडाउनको सदुपयोग गर्दै आउनु भएको छ । परीक्षा सकिएको तीन दिनपछि लकडाउन शुरु भएकाले अहिले उहाँलाई यो समय बिदा जस्तै लाग्छ किनकी उहाँलाई पढ्ने झन्झट नै छैन । उहाँ भन्नुहुन्छ, “यो समय मेरो लागि मनोरञ्जन गर्ने समय जस्तै लागेको छ ।” आफ्नो पूरा समय ‘युट्युव’ र टेलिभिजनमा आउने मनोरञ्जनात्मक कार्यक्रम हेरेर बित्ने गरेको उहाँ बताउनुहुन्छ्, तर बाहिर खेल्न जान नपाएकोमा भने उहाँको गुनासो छ । घरभित्रै बसेर रचनात्मक काम कसरी गर्न सकिन्छ उहाँलाई थाहा छैन । न त घरायसी काम गराउने चलन उहाँको परिवारमा छ । प्रविनले आफूखुसी जे गर्नुहुन्छ, परिवारले त्यहीँ अनुसार छाडिदिएका छन् । आमा विद्या चापागाईं भन्नुहुन्छ, “उसले जे गर्छ, त्यही हालतमा छाडिदिनु पर्ने बाध्यता छ ।” बिदाका समय बाहिर घुमाउन लजाने कुनै अवस्था नरहेकाले उहाँले मोबाइल दिएर छोरालाई भुलाउँदै आउनुभएको छ ।

उहाँ भन्नुहुन्छ, “सरकारले लकडाउन नहटाएसम्म दैनिकी यसैगरी बित्नेछ ।” बालबालिका भोलीका राष्ट्रसेवक भएकाले उनीहरुलाई रचनात्मक काममा लगाउनु राज्यको दायित्व भएको विज्ञहरु सुझाउँछन् । बालबालिकालाई रचनात्मक काममा सहभागी गराउन शिक्षक, विद्यालय, सञ्चारमाध्ययम र सरकार कोही पनि क्रियाशील नदेखिएको शिक्षाविद डा. विद्यानाथ चापागाईंको तर्क छ । बालबालिका भोलीका कर्णधार भएकाले उनीहरुलाई यो समयमा रचनात्मक काममा लगाउनुपर्ने उहाँको दाबी छ । “नेपाली सञ्चार माध्ययमले लकडाउनलाई समस्याका रुपमा मात्र पस्किरहेका छन्, तर यसलाई बालबालिका, युवा, प्रौढ र वृद्धले कसरी सदुपयोग गर्ने भन्ने सामग्री नै प्रस्तुत गर्न सकिरहेका छैनन्” उहाँ थप्नुहुन्छ, “सञ्चार माध्ययममा राजनीतिक विषयवस्तु नै धेरै भए, जसमा सरकारको पनि लाचारीपन देखिन्छ ।” अभिभावक स्वयमले बालबालिकालाई रचनात्मक काममा अग्रसर गराउन कसरी सकिन्छ भन्ने कुरालाई उहाँले विभिन्न तह निर्धारण गर्नुभएको छ । पहिलो बाबुआमा र हजुरबुवा हजुरआमाको पालामा के अन्तर छ भन्ने घरमै बसेर उनीहरुलाई जानकारी दिने । जस्तै : खानेकुरा, भेषभुषा, पढ्ने, खेतीपाती गर्ने पद्धती, सामाजिक पद्धती आदिका बारेमा उनीहरुलाई जानकारी दिन सके उनीहरुले भोली के होला भन्ने सोच्न सक्छन् । दोस्रो बालबालिकाले टेलिभिजन हेर्छन् । यो कुनै अपराध होइन् । टेलिभिजनमा हेरेका सामग्रीलाई समीक्षा गर्न लगाउने, त्यसलाई लेख्न लगाउने आदि काम गरेमा उनीहरुको दिमाख रचनात्मक बन्न सक्छ ।

तेस्रो बालबालिकालाई अनुसन्धानमा लगाउने । अनुसन्धानका लागि ठूला विषय आवश्यक पर्दैन । जस्तै : टेलिभिजनमा मानिस कसरी बोल्छन् होला ?, रेडियोमा कसरी आवाज आउँछ होला ?, विभिन्न सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, भाइबर आदिमा कसरी सञ्चार हुन्छ भन्ने आदि विषयको जानकारी उनीहरुका लागि अनुसन्धानका विषय हुन् । यसो गर्दा यी कुराका बारेमा जिज्ञासा उनीहरुको दिमाखमा सधैं घुमिरहन्छ र त्यसको सम्भावनाको खोजी उनीहरु गरिरहन्छन् । त्यस्तै अभिभावकले घरायसी काममा बालबालिकालाई सहभागी गराउँदा उनीहरुले नयाँ कुरा सिक्ने र पछिसम्म त्यसलाई निरन्तरता दिइरहन सक्छन् । खानाको नयाँ परिकार कसरी बनाउने, पुजापाठ किन गर्ने, सरसफाई किन गर्ने आदि उनीहरुका लागि अनुसन्धानका विषय बन्न सक्छन् । शिक्षकहरुले विद्यार्थीहरुलाई रचनात्मक काममा क्रियाशील गराउन सहरी क्षेत्रमा सामाजिक सञ्जालबाट र ग्रामीण क्षेत्रमा टेलिफोनमार्फत नयाँ जानकारी दिन सकिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij