• Friday 24th of July 2026

विदेशबाट फर्केर मादल बनाउँदै कमल


  • आशाका किरण

बुवाबाट मादल बनाउने सीप सिक्नुभएका कमल गन्धर्वले अन्ततः यसैलाई आम्दानीको मुख्य स्रोत बनाउनुभएको छ । पाल्पाको रामपुरका गन्धर्वले स्याङ्जाको पुतलीबजार–१० राङखोलामा ‘प्रेम मादल उद्योग’मार्फत मादल उत्पादन गरी बिक्री गर्दै आउनुभएको हो ।

बुवासित मादल बनाउने काम गर्दा गर्दै जागिरको खोजीमा विदेश पुग्नुभएका उहाँले विदेशको बसाइलाई बिटमार्दै फेरि मादल बनाउने पेसामै फर्कनुभएको छ । हाल उहाँले यसैलाई व्यावसायिक रुपमा अगाडि बढाउने योजनाका साथ सक्रिय हुनुभएको छ ।

“बुवासँगै मादल बनाउन सिक्नदै र बनाउँदै गर्दा कामको खोजीमा विदेश गएँ”, उहाँले भन्नुभयो, “पाँच वर्ष चार महिना विदेशी भूमिमा पसिना बगाएँपछि स्वदेश फर्किएर आफ्नै व्यवसाय सुरु गरेको हो ।”

राङखोलामा आफ्नो छुट्टै मादल उद्योग सञ्चालन गर्नुभएका गन्धर्वलाई नयाँ मादल बनाउने, मर्मत गर्नेलगायतका काम गर्न अहिले भ्याइनभ्याइ छ । रु चार लाख लगानीमा व्यवसाय सुरु गर्नुभएका गन्धर्वले वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गरिरहनुभएको बताउनुभयो । नयाँ मादल बनाउनुकासाथै पुराना मादल, मिर्दुङ्गा, नगरा, डमरु, खैँजडी, नेवारी बाजा मर्मतबाट उहाँले आम्दानी गरिरहनुभएको छ ।

“अहिले नयाँ बाजाका सेट तथा बाजाका सेट बनाउन र मर्मत गर्न भ्याइनभ्याइ छ”, उहाँले भन्नुभयो, “यहाँ उत्पादन भएका मादल तथा बाजाका सेटहरु स्याङ्जा, वालिङ, गल्याङ, पाल्पाको रामपुर, पोखरालगायतका ठाउँमा बिक्री हुने गरेको छ ।

मादल बनाउनका लागि रातो उत्तिसको काठ प्रयोग हुन्छ । काठ धादिङबाट आउने गरेको छ भने छाला भारतबाट ल्याउने उहाँले बताउनुभयो । मादलको आकारअनुसार रु एक हजार आठसयदेखि रु दुई हजार पाँचसयसम्ममा बिक्री हुन्छ । मागअनुसार काम गर्न कामदारको प्रयोग गर्दै आउनुभएको छ ।

“विदेशी भूमिमा बगाएको पसिना स्वदेशी भूमिमा बगाउन पाउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “विदेशको बसाई छोट्याएर फर्केपछि आफ्नै ठाउँमा सुरु गरेको पुर्ख्याैली पेसाबाट म सन्तुष्ट छु ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij