• Friday 11th of September 2026

सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा चल्यो: सांसद अमरेशकुमार सिंह


  • आशाका किरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको टिप्पणी गर्नुभएको छ । 

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्री शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोप समेत लगाउनुभयो ।  

प्रधानमन्त्रीका सल्लाहकारहरूको पृष्ठभूमिमा प्रश्न उठाउँदै उहाँले सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको बताउनुभयो । एउटा सल्लाहकार नै सरकारको विनाशका लागि काफी रहेको उहाँको भनाइ छ ।

उहाँले सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको उल्लेख गर्नुभयो । सांसद सिंहले मधेशी समुदायको बलमा टिकेको वर्तमान सरकारले उनीहरूलाई नै पाखा लगाएमा सरकार तासको घर जस्तै ढल्ने चेतावनी दिनुभयो । 

सांसद सिंहले गृहमन्त्रीले राज्यको चौथो अङ्गका रूपमा रहेका पत्रकार तथा सञ्चारकर्मीहरूलाई धम्क्याइएको प्रति कडा विरोध गर्दै गल्ती भए कारबाही गर्न तर धम्कीको शासन नचलाउन सुझाव दिनुभयो । सरकार संसद्प्रति पूर्ण उत्तरदायी हुनुपर्ने र सांसदहरूले जनताको तर्फबाट ’वाच डग’ को रूपमा खबरदारी जारी राख्नुपर्ने उहाँको भनाइ छ । 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij