• Sunday 20th of September 2026

संविधान गुमे देश गृहयुद्धमा फस्छ, १० वर्ष नयाँ संविधान बन्दैन: सांसद अमरेश कुमार सिंह


  • आशाका किरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले वर्तमान संविधानमाथि आन्तरिक तथा बाह्य विभिन्न शक्तिहरूबाट चौतर्फी प्रहार भइरहेको बताउनुभएको छ ।

जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद सिंहले मुलुकको वर्तमान संविधान असफल भए आगामी १० वर्षसम्म नयाँ संविधान बन्न नसक्ने चेतावनी दिनुभएको छ । सांसद सिंहले कुनै कारणवश वर्तमान संविधान गुमेमा देश गृहयुद्धको चक्रब्यूहमा फस्ने र मधेशले जनयुद्ध तथा मधेश आन्दोलनको जगमा प्राप्त गरेका अधिकार तथा उपलब्धिहरू समेत समाप्त हुने बताउनुभयो । उहाँले केन्द्रको सत्ता सञ्चालन गर्नेहरूले मधेशलाई सधैं उपेक्षा गरेको आरोप लगाउँदै मधेश र कोशी प्रदेशलाई रणनीतिक रूपमा ‘ब्याटल ग्राउन्ड’ बनाउने दुष्प्रयास भइरहेको आरोप लगाउनुभयो । उहाँले आफ्नै पार्टीको सरकार भए पनि जनताका सवालमा सरकारलाई निरन्तर खबरदारी गरिरहने स्पष्ट पार्नुभयो । सांसद सिंहले मधेशमा शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, शान्ति–सुरक्षा र सरसफाइ जस्ता आधारभूत आवश्यकताहरू अझै लथालिङ्ग अवस्थामा रहेको उल्लेख गर्दै मधेशमा हालसम्म स्तरीय सरकारी मेडिकल कलेज वा सुपर स्पेसियालिटी अस्पताल नहुनु विडम्बनापूर्ण रहेको टिप्पणी गर्नुभयो ।

सांसद सिंहले मधेशका वास्तविक समस्या, जनअपेक्षा तथा विकासका चुनौतीहरूलाई प्रत्यक्ष रूपमा बुझ्न आगामी छठ पर्वको अवसर पारेर जनकपुरधामबाट ‘मेची–महाकाली पैदल यात्रा’ सुरु गर्ने घोषणा गर्नुभयो ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij