रास्वपा सांसद क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार एवं कार्यशैलीको गम्भीर समिक्षा हुनुपर्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकको आमस्मिक समयमा सांसद धितालले सडकमा राष्ट्रसेवक, सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार एवं कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने र आवश्यक सुधार गरिनुपर्ने बताउनुभएको हो ।
उहाँले त्रिपुरेश्वरमा भएको घटनाबारे बाहिर आएका विवादास्पद विगत वा सूचनाहरूमा थप अनुसन्धान गरी प्रहरीले सत्यतथ्य बाहिर ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले चालकहरूको आत्मसम्मान, इज्जत, न्यूनतम पारिश्रमिक, खानपान, आराम, काम गर्ने लामो समय तथा शारीरिक एवं मानसिक स्वास्थ्यको परीक्षण नहुनु संवेदनशील विषय भएको बताउनुभयो । चालकलाई मात्र दोष थोपरेर समस्या समाधान नहुने भन्दै उहाँले राज्य, सम्बन्धित निकायहरू, यातायात व्यवसायी तथा स्वयं चालक समेत गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै अन्य सांसदहरुले त्रिपुरेश्वरमा भएको घटनाप्रति दुख व्यक्त गर्दै सार्वजनिक सवारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि गम्भीर हुनुपर्ने बताएका छन् । साथै उनीहरूले उक्त घटनामा गृहमन्त्रीको जवाफ माग गरेका छन् ।
