फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधिसभामा पेश भएको छ ।
बुधबार बसेको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो । मन्त्री लम्सालले फोहोरमैला उत्सर्जन, सङ्कलन, विसर्जन तथा समग्र व्यवस्थापनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको भूमिका एवं जिम्मेवारी स्पष्ट पार्ने तथा यी निकायहरूबीच प्रभावकारी समन्वय कायम गर्न सक्ने गरि विधेयक तर्जुमा गरिएको बताउनुभयो ।
फोहोरमैलाको समुचित र प्रभावकारी व्यवस्थापनमार्फत स्वच्छ तथा स्वस्थ वातावरण कायम गर्दै मानव स्वास्थ्य र वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ विधेयक ल्याइएको उहाँले बताउनुभयो ।
साथै उहाँले चक्रीय अर्थतन्त्रको अवधारणा अनुरूप फोहोरमैलालाई प्रशोधन गरी पुनः स्रोत वा कच्चा सामग्रीका रूपमा उपयोग गर्ने कानुनी व्यवस्था मिलाउने सरकारको उदेश्यक रहेको उल्लेख गर्नुभयो ।
