• Thursday 1st of October 2026

वर्तमान सरकारको शासन प्रक्रिया कमजोर र दिशाहीन छ: भीष्मराज आङ्देम्बे


  • आशाका किरण

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारको शासन प्रक्रिया कमजोर र दिशाहीन भइरहेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा नेता आङ्देम्बेले स्पष्ट बहुमत प्राप्त बलियो सरकार भएर पनि शासन प्रक्रिया कमजोर र दिशाहीन भइरहेको बताउनुभएको हो । उहाँले नागरिकले कुनै व्यक्तिको अहङ्कार, हुकुमी दम्भ वा काँचो लहर नभइ सुशासन, स्थिरता र विधि अनुसारको शासन खोजेको उल्लेख गर्नुभयो

५ वर्ष शासन गर्ने जनादेश पाएको सरकार सानातिना मुद्दाहरूमा अल्झिँदा नेपालको विकास र अग्रगमनको सपना मृगतृष्णा बन्ने खतरा रहेको उहाँले बताउनुभयो ।

उहाँले वर्तमान सरकारको विगत ६ महिनाको अवधि उत्साहजनक नरहेको र सरकार अनुभवहीन तथा भुलचुकमा चलेको अनुभूति भएको उल्लेख गर्नुभयो । नेता आङ्देम्बेले संसद सरकारको प्रतिस्पर्धी नभई लोकतन्त्रको साझा र सर्वोच्च जनप्रतिनिधिमूलक संस्था भएकाले संसदमा उपस्थित हुने, सांसदहरूका कुरा सुन्ने र उत्तरदायी हुने संसदीय अभ्यासको पालना गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।

उहाँले सरकारको वास्तविक परीक्षा बहुमतको संख्यामा नभई त्यस शक्तिलाई आम नागरिकको जीवन सुधार्ने परिणाममा बदल्ने शासकीय कौशलमा रहने स्पष्ट पार्नुभयो ।

उहाँले विरोधका लागि विरोध नगरी सरकार सही बाटोमा रहँदा सुझाव दिने र गलत दिशामा जाँदा खबरदारी गर्नु नै लोकतन्त्र र जनताप्रतिको जिम्मेवारी रहेको धारणा राख्नुभयो ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij