• Friday 24th of July 2026

त्रुटि देखिएपछि होन्डा गाडी, मोटरसाइकल र स्कुटर फिर्ता, नेपालमा के हुन्छ?


  • आशाका किरण

होन्डाले भारतीय बजारबाट पाँच वटा मोडलका पाँच हजार ८८ वटा गाडी फिर्ता मगाएको छ। एयरब्यागमा समस्या देखिएपछि ज्याज, सिटी, सिआर–भी, सिभिक र एकोर्ड मोडलका गाडी फिर्ता मगाइएको हो। यी गाडीमा भएका समस्या हल गरेर ग्राहकलाई फिर्ता दिने कम्पनीले जनाएको छ। नेपाली ग्राहकलाई पनि यो खबरले चासो बढाएको छ- हाम्रो गाडीको के हुन्छ? यसबारे हामीले होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीका आयात व्यवस्थापक राजन पुरीसँग सोधेका छौं। यहाँका गाडीमा कुनै समस्या नभएको दावी उनले गरे।

‘समस्या देखिएमा हामी फिर्ता गर्छौं। तर हामीले ल्याएका मोडलमा समस्या भएको लट नै फरक छ,’ केसीले सेतोपाटीसगँ भने ‘ समस्या देखिएका पाँच मोडलमध्ये ज्याज र सिटी मात्र हामीले भारतबाट आयात गरेका हौं।’ त्यस्तै ‘फ्रन्ट ब्रेक मास्टर सिलिन्डर’मा समस्या देखिएपछि चार मोडलका ५० हजार ३४ मोटरसाइकल र स्कुटर पनि होन्डाले फिर्ता मगाएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै २०१९, फेब्रुअरी ४ देखि जुलाई ३ सम्म उत्पादित एभियटर (डिस्क ब्रेक), एक्टिभा (डिस्क) , ग्रेजिया (डिस्क) स्कुटर र सिबी साइन (सेल्फ डिस्क) मोटरसाइकलको ‘फ्रन्ट ब्रेक मास्टर सिलिन्डर’मा कुनै समस्या भए कम्पनीले निःशुल्क बनाइदिने जनाएको हो। नेपालमा पनि यी मोडलमा समस्या भए कम्पनीले निःशुल्क बनाइदिने र पाटपूर्जा फेरिदिने स्याकार ट्रेडिङका बजार व्यवस्थापक सोहन श्रेष्ठले जानकारी दिए।

‘एभिएटर डिस्क नेपालमा छैन। त्योबाहेक बाँकी ३ मोडलका पाटपूर्जा हामी निःशुल्क परिवर्तन गरिदिन्छौं,’ श्रेष्ठले भने, ‘यसका लागि भारतबाट प्राविधिक टोली आउँदै छ। उनीहरूले हाम्रा प्राविधिकलाई सबै सिकाउनेछन्। अनि हामी घोषणा गरेर ग्राहकलाई बोलाउँछौं।’ सबै मोटरसाइकल-स्कुटरमा ती समस्या नभएको श्रेष्ठले दावी गरे। ‘त्यो समयका मोटरसाइकल-स्कुटर सबै बिकिसकेका छैनन्। बिक्री भएका सबैमा समस्या पनि छैन,’ उनले भने। कम्पनीले ‘बिग्रेको’ सवारीसाधन दिएका खण्डमा ग्राहकले कस्तो क्षतिपूर्ति पाउने कानुनी व्यवस्था छ त? यातायात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालका अनुसार यसबारे कुनै व्यवस्था छैन।

कम्पनीमा उत्पादन गर्ने बेलामै भएका त्रुटिका बारेमा उजुरी नआउने र आए पनि कानुनी रुपमा केही गर्न नसकिने उनी बताउँछन्। ‘यस्तो अवस्थाको लागि कुनै कार्यविधि बनेकै छैन। ग्राहकसँग सम्बन्धित कुरा भए पनि कार्यविधि नै नभएकाले कानुनी रुपमा हामीले केही गर्न सक्दैन‌ौं,’ खनालले भने।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij