• Friday 24th of July 2026

छाउगोठ जाँदैनन् राउटे महिला


  • आशाका किरण

– लक्ष्मी भण्डारी राउटे समूदायकी २० वर्षीया गाजली शाही महिनावारी भएको बेलामा छाउगोठ जानुहुन्न । उहाँ परिवारका सबै सदस्य बस्ने झुपडीको एउटा कुनामा बस्नुहुन्छ । “छुई भयाको बेला हामी खाना बनाउँदैन”, गाजलीले भन्नुभयो । सोही समुदायकी ६० वर्षीया दुर्शी शाहीले महिनावारीका बेलामा खाना छुन र पूजा गर्न नहुने बताउनुभयो । “छुई भयाको बेला घरभित्रै बस्छ छोरी, घरबाट बाहिर पठाउँदैन हामीहरु”, उहाँ भन्नुहुन्छ । त्यस्तै २१ वर्षीया किशोरी सिन्गी शाहीले पनि झुपडीभित्रको कुनामा बस्ने गरेको सुनाउनुभयो । “खाना पकाउन र पानी छुदैनौँ”, लजाउँदै उहाँले भन्नुभयो, “छुई भयाको बेला नुहाउन पठाउँछ हामीलाई ।” महिनावारी भएको बेलामा भने बाक्लो लुङ्गिको कपडा प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । महिनावारीका बेला लगाइने प्याडको बारेमा थाहा नभएको उहाँको भनाइ थियो । “मैले लगायाको जस्तै बाक्लो लुगा लगाउछौं”, उहाँले भन्नुभयो, “रगत लाग्यो भने फालिदिन्छौँ ।” फिरन्ते भएको हुँदा एक ठाउँबाट अर्काे ठाउँमा बस्ती सर्दा महिनावारीको समयमा समस्या हुने गरेको सोही बस्तीकी गोल्पी शाही बताउँनुहुन्छ । “टोपी लायाकोले (मुखिया)भनेको मान्नै पर्यो, छुई भयाको बेला हिँड्दा दुःख हुन्छ”, उहाँले भन्नुभयो । महिनावारीका बेलामा प्रायोग गर्ने प्याड र सरसफाइबारे भने अनभिज्ञ रहेको उहाँहरुको भनाइ थियो ।

महिनावारीका बेला बाक्लो कपडा लगाउँने र भित्री कपडो भने प्रयोग नगर्ने उनीहरुको भनाइ थियो । राउटे मुखिया महिनबहादुर शाहीले महिनावारीका बेला आफ्ना जनतालाई घरभित्रकै एउटा कुनामा बस्ने दिने गरेको बताउनुभयो । घरबाहिर असुरक्षा हुने हुँदा परिवारसँगै एउटा छुट्टै कुनामा राख्ने गरेको उहाँले सुनाउनुभयो । महिनावारी भएका महिलालाई दुई तरिकाले बार्ने गरेको उहाँले बताउनुभयो । किशोरीलाई सात दिन र बच्चा भइसकेका महिलालाई पाँच दिन बार्नुपर्ने नियम छ । “छुई भयाको बेलामा खाना बनाएमा देउता रिसाउने भएकाले अलग्गै बस्ने नियम बनाएका छौँ”, उहाँ भन्नुहुन्छ कर्णाली र सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथा व्याप्त छ । तर, कर्णाली तथा सुदूरपश्चिमका जिल्लामा फिरन्ते जीवन बिताउँदै आउने राउटे समुदाय महिनावारीका समयमा सात दिनसम्म घरदेखि केही पर छाउगोठमा बस्छन् । सोही प्रदेशमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समूदायका महिला महिनावारीका बेलामा घरभित्र नै बस्नु भनेको सकारात्मक पक्ष हो ।

राउटे समूदायमा छाउगोठ नहुनु भनेको अन्य समूदायलाई छाउगोठमा बस्नुहुँदैन भन्ने सकारात्मक सन्देश दिनु रहेको स्थानीय सत्यदेवी खड्काको धारणा छ । “कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथा व्याप्त छ शिक्षित वर्ग पनि छाउगोठमा बस्छन्, तर राउटे समूदाय नै सुरक्षित तरिका अपनाएर घरभित्रकै एउटा कुनामा बस्छन्”, खड्काको भनाइ थियो । छाउगोठमा बसाउनेहरुले राउटेबाट सिक्नुपर्ने खड्काको भनाइ छ । राउटे उत्थान प्रतिष्ठान कर्णाली प्रदेशका संयोजक कृष्णादेवी वलीले राउटे समूदायबाट अन्य समूदायले पाठ सिक्न जरुरी रहेको बताउनुभयो । राउटे समूदायमा जोडी शिक्षकको रुपमा कार्यरत दुर्गा थापाले छाउपडी प्रथाको सन्र्दभमा राउटे समूदाय अन्य समूदायभन्दा अगाडि रहेको टिप्पणी गर्नुहुन्छ । “छाउ भएको बेलामा घरमा बस्नु राम्रो पक्ष हो, तर महिनावारीको सरसफाइमा भने उति ध्यान दिएको पाइएको छैन”, थापाले भन्नुभयो । दैलेखको गुराँस गाउँपालिकाको जङ्गलमा बस्दै आएका राउटे समूदायको सङ्ख्या १४० छ जसमध्ये ५४ महिला छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij