• Tuesday 8th of September 2026

विभिन्न कार्यक्रम गरी देशभर मनाइयो जेनजी सहिद दिवस


  • आशाका किरण

 

जेनजी सहिद दिवस बिभिन्न कार्यक्रमको आयोजना गर्दै मङ्गलबार देशभर मनाइएको छ । 

गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा जेनजी सहिद दिवस मनाइएको हो । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले जेनजी सहिद दिवस मनाउने निर्णय गरेको थियो । भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागीता हुनुपर्ने माग राख्दै भएको जेनजी आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए भने सरकारले ४५ जनालाई सहिद घोषणा गरेको थियो ।

जेनजी सहिद दिवसका अवसरमा जेनजी सहिद परिवार कल्याणकारी समाजले काठमाडौंको नयाँ बानेश्वरमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा गृहमन्त्री सहित सरकारका मन्त्रीहरू लगाएत जेनजी सहिद परिवारहरूको उपस्थिति रहेको थियो । जेनजी सहिद परिवारहरूले जेनजी आन्दोलनमा दमन गर्नेलाई कारवाही गर्न माग गरेका थिए ।

जेनजी सहिद परिवार कल्याणकारी समाजका उपाध्यक्ष बसन्त किशोर श्रेष्ठले जेनजी आन्दोलनमा दमन गर्नेलाई वर्तमान सरकारले कुनै हालतमा नछोडी कडा कानुनी कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले विगतको अन्तरिम सरकारसँग जनमत नभएका कारण धेरै काम गर्न नसकेको तर वर्तमान सरकार दुई–तिहाइ बहुमत प्राप्त बलियो सरकार भएकाले जेनजीको भावना अनुसार काम गर्ने धारण राख्नुभयो ।

जेनजी सहिद परिवारहरूले वर्तमान सरकारले सहिद परिवार तथा घाइतेहरूको भावना र योगदानलाई कदर गर्दै माया दर्शाएकोमा सरकारप्रति धन्यवाद दिदै भ्रष्टाचारमुक्त शासन, सुशासन र देशको समृद्धिका लागि सरकार दृढताका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । चूनावपछि गठन भएको वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले भाद्र २३ गतेलाई जेनजी सहिद दिवस मनाउने निर्णय गर्दै देशभर सार्वजनिक बिदा दिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij