• Tuesday 8th of September 2026

प्राकृतिक विपत्तिमा एकताबद्ध भएर उभिन राष्ट्रपति पौडेलको आह्वान


  • आशाका किरण

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिमा एकताबद्ध भएर उभिन आह्वान गर्नुभएको छ ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक दलहरू, निर्वाचित जनप्रतिनिधिहरू, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न सङ्घसंस्थाहरू, निजी क्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकहरूलाई कठिन घडीमा एकताबद्ध भएर उभिन आह्वान गर्नुभएको हो । अहिले एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय नभएको र राष्ट्रिय एकता तथा ऐक्यबद्धताका साथ पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानमा लाग्नुपर्ने उहाँले बताउनुभयो । उहाँले पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा नेपालको विकास मोडेलमाथि पनि पुनर्विचार गर्नुपर्ने आफूलाई लागेको धारणा राख्नुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायसमेत नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्रै नभइ जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न आह्वान गर्नुभयो । राष्ट्रपति पौडेलले प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको पीडा अत्यन्त गहिरो रहेकाले अहिले उनीहरूलाई राज्यको साथ र भरोसा चाहिएको बताउनुभयो । 

उहाँले पीडितहरूका गुनासा र मागलाई आलोचना नसम्झी समस्या समाधानको सङ्केतका रूपमा बुझ्न पनि आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले बाढीपीडितहरूको उद्धार, खोज, राहत, पुनर्निर्माण र पुनःस्थापनाका सबै कामलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउन सरकारबाट राज्यका स्थानीयलगायत सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । उद्धार गरिएका प्रत्येक व्यक्तिको खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो । 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij