सुदर्शन बजगाई,आशाका किरण समाचार,काठमाडौं । संघीय तथा स्थानीय तहमा युवाको विकास सम्बन्धी कार्यक्रमहरु लागू गर्न राष्ट्रिय युवा परिषद् र नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघबीच सहकार्य गर्ने सम्झौता भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि युवा विकास सम्बन्धी कार्यक्रमहरु लागू गर्नका लागि राष्ट्रिय युवा परिषद् र नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघबीच समझदारीपत्रका हस्ताक्षर भएको छ । सहमति पत्रमा सरकारले स्वीकृत गरेका युवालक्षित कार्यक्रमहरुको स्थानीय तहमा प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, स्थानीय सरकारले तय गरेको युवालक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन र सम्पादन गरेका नवप्रवर्तनात्मक कार्यहरुलाई राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा योगदान पु¥याउने उल्लेख गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवाको विकास तथा युवा परिचालन मार्फत समाजिक जागरण र समृद्धिका अभियानहरु सञ्चालन गर्दै युवालाई उद्यमशिलतासँग जोडेर आत्मनिर्भर तथा स्वरोजगार बनाउने अभियान अन्तर्गत स्थानीय तहसँग सहकार्य गर्न लागिएको बताउनुभयो । उहाँले विश्वमा सबैभन्दा बढी बेरोजगार युवा रहेको देशहरुमध्ये नेपाल अग्रस्थानमा रहेकाले पनि स्थानीय तहसँगको सहकार्य महत्वपूर्ण हुने बताउनुभयो ।सम्झौताले युथ भिजन २०२५ मा उल्लेखित युवा विकासका लागि पाँच आधार स्तम्भहरुः गुणस्तरीय तथा व्यवसायिक शिक्षा, रोजगारी उद्यमशिलता सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन सहभागिता र नेतृत्व विकास, खेलकुद र मनोरन्जनको कार्यान्वयनका लागि सहयोग पु¥याउने समेत बताइएको छ । कार्यकारी उपाध्यक्ष ढुंगेलले सरकारले आर्थिक वर्ष २०७६÷०७७ लाई युवा परिचालन वर्षको रुपमा लिएकाले पनि लक्ष्य प्राप्तीका लागि समझदारी महत्वपूर्ण हुने बताउनुभयो ।
