सुदर्शन बजगाई,काठमाडौ ।सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सोमबार भएको खेलमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले पहिलो हार व्यहोरेको छ ।सात दोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासल युथ क्लबले मनाङ विरुद्ध २–० को जित निकालेको हो । यो हारसँगै मनाङको अपराजित यात्रामा धक्का लागेको छ । यससँगै मनाङ्को उपाधि चुम्ने यात्रा समेत कमजोर बनेको छ । जापनिज खेलाडी ताइगा नाकामुरा र कप्तान सन्तोष साहुखलले एक एक गोल गरेपछि च्यासलको जित सुनिश्चित भएको हो । खेलको २४ औं मिनेटमा नाकामुराले फ्रिकिङ मार्फत आकर्षक गोल गरेपछि च्यासलले अग्रता लिएको थियो ।खेलको पहिलो हाफमा १–०को अग्रता लिएको च्यासलले दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल थप्न सफल भयो ।
कप्तान सहुखलले टोलीका लागि दोस्रो गोल गर्दै २–०को जित निकालेका हुन् । यससँगै लिगको दशौं चरणमा पहिलो हार व्यहोरेको मनाङ १० खेलमा १९ अंकका साथ तेस्रो स्थानमा छ भने च्यासल १२ अंकका साथ नवौं स्थानमा उक्लिएको छ ।यस्तै आजै भएको पहिलो खेलमा जाउलाखेल युथ क्लबले कठिन जित निकालेको छ । एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा जावलाखेलले ब्रिगेड ब्वाइज क्लबमाथि १–०को जित निकालेको हो । जावलाखेलका लागि सुजित बुढाथोकीले खेलको ३२ औं मिनेटमा गोल गरेका थिए । सोही गोल नै निर्णायक बन्यो । खेलमा ब्रिगेड ब्वाइजले पोजिसन राम्रो लिएपनि गोल पोस्टमा आक्रमण गर्न नसक्दा हार ब्यहोर्नुप¥यो ।यससँगै १० खेलमा जावलाखेल ४ खेल जित र ३ खेल बराबरी खेल्दै १५ अंक सहित छैठौं स्थानमा उक्लिएको छ भने ब्रिगेड ब्वाइज ८ अंकका साथ ११ औं स्थानमा रहेको छ ।
