• Tuesday 8th of September 2026

राष्ट्रको आर्थिक समृद्धिमा सघाउने प्रतिबद्धता


  • आशाका किरण

निजी क्षेत्रको वाणिज्य बैंक एनएमबी बैंक लिमिटेडले राष्ट्रलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउने वर्तमान सरकारको परिकल्पना साकार पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बैंकले नेपाल हाते कागज उद्यमी सङ्घ, राष्ट्रिय अल्लो उद्यमी सङ्घ नेपाल तथा नेपाल उद्यमशील महिला महासङ्घसँग महिला उद्यमीको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, सहुलियत कर्जा प्रवाहबारे समझदारीपत्रमा हस्ताक्षर गर्न आज राजधानीमा आयोजना गरेको कार्यक्रममा देशको आर्थिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले १२ हजार महिला उद्यमी संलग्न रहेको महासङ्घसँग साझेदारी गरेर स्थानीय उत्पादन वृद्धि, उद्यमशीलता विकाससँगै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने उद्देश्यले महिला उद्यमीसँग बैंकले साझेदारी गरेको बताउनुभयो ।

बैंकका अध्यक्ष पवनकुमार गोल्यानले कृषि उत्पादकत्व वृद्धि, जडीबुटी उत्पादन तथा प्रशोधन, लघु तथा साना उद्योगको विकासका खातिर बैंकले रु १० देखि १५ लाखसम्म विनाधितो छ प्रतिशत ब्याजमा कर्जा प्रवाह गर्दै आएको जानकारी दिनुभयो । आन्तरिक उत्पादन, रोजगारी वृद्धि तथा निर्यात प्रवद्र्धनलाई बैंकले केन्द्रमा राखेर लगानी गरिरहेको उहाँले बताउनुभयो । समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत केसी, हाते कागज उद्यमी सङ्घका अध्यक्ष नरेन्द्रबहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी सङ्घ नेपालका अध्यक्ष बुद्धि पुर्जा मगर र नेपाल उद्यमशील महिला महासङ्घका अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij