• Wednesday 9th of September 2026

आलेख : डेरी उद्योगमा रमाउँदै इलामका युवा


  • आशाका किरण
Dairy products assortment shot on rustic wooden table. Dairy products included are milk, yogurt, butter, goat cheese, mozzarella, ricotta, Parmesan cheese, emmental cheese, eggs and hard cheese. Low key DSRL studio photo taken with Canon EOS 5D Mk II and Canon EF 100mm f/2.8L Macro IS USM

इलाम नगरपालिका–८ का मिलन खत्रीले २०७४ सालमा सेतो पहाड नामको डेरी उद्योग स्थापना गर्नुभयो । विद्यार्थी राजनीतिमा समेत सक्रिय खत्रीले रु डेढ लाख लागतमा स्थापना गर्नुभएको उद्योगमा हाल एक करोड ३० लाख लगानी भइसकेको छ । स्थापनाका समयमा करिब एक सय लिटरसम्म दुध प्रशोधन गर्न थाल्नुभएका खत्रीले अहिले दैनिक एक हजार ६०० लिटरभन्दा बढी दुध सङ्कलन र प्रशोधन गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “दुध थपिएसँगै लगानी पनि बढ्दै गएको छ ।” खत्री हाल इलाम जिल्लाको एक क्रियाशील युवा व्यावसायीका रुपमा पनि गनिन थाल्नुभएको छ । युवा अवस्थामा नै उहाँले राम्रो मेहनतसँगै प्रतिफलसमेत हात पारिरहनुभएको छ । जुन कमाइबाट अहिले उहाँ सन्तुष्ट पनि हुनुहुन्छ । उहाँको उद्योगमा दुध प्रशोधन गरेर बेच्ने मात्र नभएर अरु दुधजन्य परिकारहरु पनि उत्पादन हुन्छ । उत्पादित ती वस्तु पनि बजारमा खरिद बिक्री हुने गरेको छ । त्यस डेरी उद्योगबाट मात्र मासिक दुई हजार किलोभन्दा बढी छुर्पी र एक हजार ८०० किलो घ्यू उत्पादन गर्ने गरेको जानकारी उहाँले दिनुभयो । छुर्पीबाहेक बम्मैसन, ललिपप लगायतका परिकार उक्त डेरीमा उत्पादन हुने गरेको उहाँले वताउनुभयो । व्यावसायी खत्रीले आफ्नो डेरीको मात्र नभएर अरु करिब ३० वटाजति साना डेरी उद्योगबाट उत्पादित घ्यू र छुर्पी पनि खरिद गर्ने गर्नुभएको छ । खत्रीको आफ्नो उद्योगमा प्रत्यक्ष रुपमा २१ जनाले रोगजारी पनि पाइरहेका छन् । त्यस्तै यसबाट अप्रत्यक्ष रुपमा भने रोजगार हुनेको सङ्ख्या १४० भन्दा बढी रहेको उहाँले जानकारी दिनुभयो ।

इलाम दुुध उत्पादनमा अग्रणी जिल्लाका रुपमा पनि परिचित छ । यसकारण पनि यहाँ धेरै डेरी उद्योग सञ्चालनमा छन् । उमेरले कलिलै भए पनि यहाँ प्रायः युवाको आकर्षण डेरी उद्योगमा बढ्दै गएको छ । सानो लगानीमा स्वरोजगार हुने माध्यम बनेपछि डेरी उद्योगमा वर्षेनी युवाको लगानी थपिँदै गएको हो । पछिल्लो समयमा यहाँ एक दुई पटक वैदेशिक रोजगारीमा पुगेर फर्किएका युवाहरु सानातिना डेरी तथा डेरी उद्योग स्थापना गरी मुनाफा आर्जन गर्ने काममा लागेको देखिन्छ । त्यस्तै एक उदाहरण हुनुहुन्छ देउमाई नगरपालिका–४ का अशेष बुढाथोकी । उहाँले पनि विदेशबाट फर्किएपछि डेरी उद्योग स्थापना गर्नुभएको छ । तल्लो बुधबारेमा उहाँले ‘गजुरमुखी दर्शन डेरी उद्योग’ सञ्चालन गर्नुभएको छ । दुई वर्षमात्र अघि करिब रु ३० लाख लगानीमा उहाँले स्थापना गर्नुभएको डेरी उद्योगमा हाल ६० लाखभन्दा बढी लगानी भइसकेको छ । बुढाथोकीले करिब २५० किसानले उत्पादन गरेको दुध सङ्कलन गर्ने गर्नुभएको छ । दैनिक करिब ७०० लिटरभन्दा बढी दुध सङ्कलन भइरहेको उहाँले बताउनुभयो । ‘‘कहिले धेरै कहिले थोरै यस्तै हो दुध तर प्रत्येक दिन ७०० भन्दा कमी चाहिँ हुँदैन” उहाँले भन्नुभयो । किसानका गाइभैँसी लैनो हुँदा धेरै र बकेर्नो भएपछि कम दुध सङ्कलन हुने उहाँले बताउनुभयो ।

सङ्कलित सो दुधबाट मासिक एक हजार ५०० किलो छुर्पी र सोही हाराहारीमा घ्यू उत्पादन हुने उहाँले बताउनुभयो । सो उद्योगमा उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुन्छ भने घ्यू भने नेपाली बजारमा नै बिक्री हुँदै आएको छ । उहाँको डेरी उद्योगमा १५ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् । करिब एक दशकअघि इलामको देउमाई नगरपालिकामा बिष्णु चौलागाईंले गाउँमा डेरी भित्र्याउँदा यहाँ दुध पाइन्छ कि पाइँदैन भन्ने चिन्ता थियो । उहाँलाई चिन्ता भने सहकारीमार्फत दुध बेच्दै आएका किसानहरुले दुध देलान् कि नदेलान् भन्ने नै बढी थियो । गाउँमा प्रसस्तै दुध उत्पादन हुन्थ्यो । तर पनि किसानले पत्याउँदैनन् कि भन्ने चिन्ताले छोएको उहाँ बताउनुहुन्छ । तर पछि भने क्रमशः स्थानीय किसान सहकारी छोडेर डेरी उद्योगमा नै दुध बेच्न थाले । दुध कम भएपछि सहकारीमार्फत विराटनगरमा ल्याइँदै गरेको दुध एकाएक गाउँमा सङ्कलन नै गर्न छोडियो । उहाँको डेरीमा क्रमशः दुध बढ्दै गयो । त्यसपछि गाउँमा अन्य डेरी पनि खुल्न शुरु भए । एक समय एकै वडामा सबैभन्दा बढी डेरी उद्योग रहेको गाउँ भनेरसमेत चिनिन थाल्यो देउमाई नगरपालिकाको सो गाउँ । अहिले पनि त्यहाँ दर्जनौँ डेरी उद्योग सञ्चालनमा छन् । चौलागाईंले आफ्नो मात्र होइन अरु डेरीबाट उत्पादित वस्तुसमेत खरिद बिक्री गर्ने गर्नुहुन्छ । हाल उहाँमात्र होइन उहाँका छोराहरु समेत सोही पेशामा क्रियाशील छन् । उहाँका दुई भाई छोरा सो गाउँ छोडेर डेरी उद्योग नै सञ्चालन गरेर बसेका छन् भने एक छोरा बुबाकै उद्योगमा सँगै छन् ।

दुध र दुधजन्य पदार्थमा सम्भावना देखेर नै सो परिवार डेरी उद्योगमा क्रियाशील छ भन्छन् गाउँका अगुवाहरु । सानो लगानीमा उच्चतम प्रतिफल पाइने भएपछि इलामका युवाहरुको लगानी डेरी उद्योगमा आउन थालेको देखिन्छ । घ्यू नेपाली बजारमा नै खपत हुन्छ भने उत्पादित छुर्पी अमेरिका निर्यात हुने भएपछि यहाँका युवा डेरी उद्योगमा आकर्षित हुन थालेका हुन् । प्रतिफल समेत राम्रो हुने र बिक्रीका लागि पनि बजारको सहजताका कारण यहाँका धेरै युवा डेरी उद्योगमा लगानी गर्न थालेका छन् । हाल इलाममा साढे पाँच सय वटा डेरी उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग शाखा कार्यालयले जनाएको छ । विशेष गरेर वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले व्यवसाय गर्न थालेकाले इलाममा डेरी उद्योगमा लगानी बढेको बताइएको छ । समग्र जिल्लामा दर्ता भएका डेरी उद्योगहरु युवाकै नाममा दर्ता भएको सो कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५÷७६ मा इलाममा ९१ वटा डेरी उद्योग दर्ता भएका थिए । ती उद्योगमा रु ११ करोड २७ लाख १६ हजार लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय इलामका सूचना अधिकारी युवराज घोर्साइँले बताउनुभयो । हाल डेरी उद्योगको सङ्ख्या वृद्धि भएर साढे पाँच सयभन्दा बढी पुगेको पनि उहाँले बताउनुभयो । एउटा डेरी उद्योगमा डेढ लाख रुपैयाँदेखि डेढ करोड रुपैयाँसम्म लगानी हुने गरेको छ । इलामको सबैभन्दा बढी देउमाई नगरपालिकामा १०४ वटा डेरी उद्योग सञ्चालनमा छन् ।

अन्य स्थानीय तहमा पनि डेरी थपिँदै छन् । दिनानुदिन दुध प्रशोधन गर्ने डेरी स्थापना हुने क्रम बढिरहेको छ । सानो लगानीमा धेरै प्रतिफल पाउन सकिने र उद्योगकै रुपमा विकास गर्न सकिने भएकाले पनि युवाहरुको रोजाइमा डेरी उद्योग पर्ने गरेको छ । यसअघि उन्नती नामक एक परियोजनाले जिल्लाका धेरै किसान तथा व्यवसायीलाई अनुदानमा सामग्री वितरण गरेको थियो । सो कार्यक्रमले जिल्लाका धेरै डेरी उद्योगहरुको समेत विकास भएको थियो । सरकारी क्षेत्रबाट समेत उचित सहयोग गरेर व्यवसाय प्रवद्र्धनमा सहयोग गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ । अझै पनि परम्परागन रुपमा नै सञ्चालन भइरहेका उद्योगहरुलाई आधुनिकीकरण गर्नु जरुरी रहेको व्यवसायी युवाहरु नै बताउँछन् । गाउँमा अझै पनि हातले मेसिन घुमाइन्छ र दुध पेलिन्छ । तर यस्ता कार्यलाई अनुरुप परिमार्जन गर्दै आधुनिक बनाएर प्रशोधन गर्न आवश्यक छ । यसका लागि आवश्यक आधुनिक मेसिन खरिदमा सहयोग बढाउनुपर्ने व्यवसायीहरुको माग छ । साथै उत्पादित छुर्पीलाई सुकाउन समेत उस्तै मेसिन भए अगेनामाथि भार बनाएर राख्ने कार्यको अन्त्य हुने माईजोगमाई इलामका व्यवसायी मनु पोख्रेलको भनाइ छ । गाउँका यी उद्योगहरुलाई दुध सङ्कलन गर्ने मात्र होइन कि दुधजन्य परिकारहरुको उत्पादन गरी व्यावसायिक रुपमा बजारमा पु¥याउने कामका लागि पनि प्रोत्साहित गर्नुपर्ने धेरैको भनाइ छ ।

त्यसैगरी किसानलाई दिनुपर्ने आवश्यक सहुलियतको मात्रा पनि वर्षेनी बढाउनुपर्ने व्यवसायी देउमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम दाहालले भने किसान र व्यवसायीलाई समेट्ने खालका सहुलियत र प्रोत्साहनका कार्यक्रमहरु अघि बढाइएको बताउनुभयो । नगरभित्र जुन क्षेत्रमा जे बढी उत्पादन हुन्छ त्यसको पहिचान गरेर सोहीअनुसार किसानलाई सहुलियत दिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । यसै कार्यक्रममार्फत दुध र डेरीहरुलाई समेत सहयोग गर्दै आइएको उहाँले बताउनुभयो । उहाँकाअनुसार जिल्लाका अन्य स्थानीय तहले पनि दुध उत्पादन बढाउन विशेष कार्यक्रम ल्याएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij