• Wednesday 9th of September 2026

आगलागीका डरले रातैभरि जाग्राम


  • आशाका किरण
The Rim Fire in the Stanislaus National Forest near in California began on Aug. 17, 2013 and is under investigation. The fire has consumed approximately 199,237 acres and is 32% contained. U.S. Forest Service photo by Mike McMillan.

कोरोना सन्त्रास झेलिरहेका वनक्षेत्र नजिकका बासिन्दा सुत्न सकेका छैनन् । नजिकको वनमा दिनहुँ डढेलो बढेसँगै यहाँका २० भन्दा बढी बस्तीका बासिन्दा आगलागीको डरले राति सुत्न नसकेका हुन् । पूर्वपश्चिम राजमार्गको दायाँबायाँ रहेको वनक्षेत्रमा दिनहुँ डढेलो बढ्दै गएपछि यससँगै जोडिएका जिल्लाका बर्दिवास र गौशाला नगरपालिकाका २० भन्दा बढी बस्ती आगलागीको उच्च जोखिममा परेका यहाँका बासिन्दाको गुनासो छ । हुरीबतासको मौसममा डढेलोको क्रम रोकिएको छैन । यसले बस्ती भेट्ने डरले आपूmहरु अचेल केही दिनयता रातैभरि जाग्राम बसेर कटाउँदै आएका वनसँगै जोडिएको गौशाला–८ बेलगाछीको ढल्केवर बस्तीकी गृहिणी मञ्जु मञ्जरीले बताउनुभयो । जताततै आगलागीले ठूलो क्षति गरेका खबर सुन्न थालिएपछि झन् बढी त्रास बढेको यहाँका बासिन्दा बताउँछन् । “साँझपख बस्ती नजिकै वनमा डढेलोको मुस्लो देखिन्छ”, मञ्जरीले भन्नुभयो, “कसरी निदाउन सक्नु ?” आपूmहरु साना लालाबाला (नानीहरु) काखमा च्यापेर जागेरै रात कटाउने गरेका मञ्जरीसहितका ढल्केवरका बासिन्दाको भनाइ छ । वनसँगै जोडिएको बर्दिवास–५ गणन्ता बस्तीका सामाजिक कार्यकर्ता कारमान स्याङ्वाले भन्नुभयो, “अहिले कोरोनाको त्रासले आम मानिस घरघरै लकडाउनमा छन्, सुरक्षा गस्ती पनि कम भएको छ”, स्याङ्वाले भन्नुभयो, “यस्तो अप्ठ्यारो बेला पनि डढेलो भने रोकिएन ।”

पछिल्लो दुई सातायता वनक्षेत्रमा बढेको डढेलो लगाउने क्रमले बस्तीमा आगलागीको जोखिम बढेसँगै बहुमूल्य काठ हुने साखुका नयाँ लाथ्रा (भर्खरका कलिला रुख) डढेर खरानी बनेका स्याङ्वासहितका गणन्तावासी बताउँछन् । बर्दिवास–१, ३, ४, ५, ८, १० र ११ मा वनसँगै जोडिएका २० भन्दा बढी बस्ती छन् । वनमा डढेलो देखिनासाथ आगलागीको डरले मुटु काम्ने गरेको बर्दिवास–५ सोनापेटी बस्तीकी १७ वर्षीया किशोरी सानीमाया तामाङ बताउनुहुन्छ । बर्दिवासकै वडा नं २ र १४ पनि वनक्षेत्रसँग सीमा जोडिएका छन् । यसैगरी गौशाला नगरपालिकाका रामनगर, बेलगाछी, भाण्टाबारी, ढल्केवर, बटुवा, लक्ष्मीनियाँ र कान्तीबजार वनक्षेत्रसँगै जोडिएका बस्ती हुन् । वनक्षेत्रमा डढेलो देखिनासाथै बस्तीमा त्रास छाउने गरेको बटुवाका बासिन्दा सूर्यनारायण महतो बताउनुहुन्छ । पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको दायाँबायाँ गरी सागरनाथ वन विकास परियोजना, धार्मिक वन, साझेदारी वनक्षेत्र र सामुदायिक वनक्षेत्र गरी अहिले १६ हजार हेक्टर क्षेत्रफलमा वन कायम छ । यसअघि विभिन्न समयमा भएका अतिक्रमण, चोरीतस्करी र डढेलोले आठ हजार हेक्टर क्षेत्रफलको वन उजाड भइसकेको बर्दिवास–५ का वडाध्यक्ष दलबहादुर थापामगर बताउनुहुन्छ ।

खासमा वनक्षेत्रमा देखिने डढेलोचाहिँ यससँगै जोडिएका बस्तीबाट घाँस–दाउरा गर्न र वस्तु चराउन आउने गोठालाले लगाउने गरेका बूढापाकाको भनाइ छ । वनमा रुखबिरुवाले पुराना पात झारेर नयाँ मुना पलाउने बेलामै डढेलो देखिने गरेको छ । यतिखेर सुकेर झरेका पतिङ्गरमा डढेलो लगाए त्यसपछि वर्षा हुनासाथ राम्रो घाँस पलाउने र चरण बढ्ने आसले घाँसे र गोठालाले डढेलो लगाउने गरेका गौशाला–१ का ६५ वर्षीय चन्देश्वर महतो बताउनुहुन्छ । यद्यपि कहिलेकाहीँ हावाहुरीबीच रुखरुखबीच हुने घर्षणले पनि डढेलो लाग्नसक्ने महतोको भनाइ छ । पछिल्लो कालमा वन सुरक्षा गस्तीको लापरवाहीले डढेलो नियन्त्रण हुन नसकेको यहाँका (बर्दिवास र गौशालाका) बासिन्दा बताउँछन् । वर्षेनी डढेलोको चपेटामा वन परिरहे पनि अहिलेसम्म कसैलाई पक्राउ गरेर कारवाही गरेको थाहा नपाइएको बटुवाका सामाजिक कार्यकर्ता ७० वर्षीय लक्ष्मी महतो बताउनुहुन्छ । यसैबीच डिभिजन वन कार्यालय महोत्तरीले भने वनक्षेत्रमा सुरक्षा गस्ती झन् बढाइएको जनाएको छ । “कार्यालयसँग रहेको जनशक्ति हामीले गस्तीमा पठाइरहेका छौँ”, डिभिजन प्रमुख हेमन्तप्रसाद साहले भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij