• Saturday 25th of July 2026

सडक निर्माण धमाधम हुँदै


  • आशाका किरण

जुम्लाको उर्थुबाट मुगुको राराताल जोड्ने सडकको काम आजदेखि अघि बढेको छ । लकडाउनका समयमा यहाँस्थित भौतिक पूर्वाधार कार्यालयले सो सडकको स्तरोन्नतिको काम शुरु गरेको हो । लकडाउनका कारण गाडी बन्द भएकाले सडकको काम गर्न सजिलो हुने कार्यालय प्रमुख रुपबहादुर रावलले बताउनुभयो । कर्णाली प्रदेश सरकारको रु २३ करोड बजेटमा ठेक्का लिएको पूर्वाधार कार्यालयले चार चरणमा स्तरोन्नतिको काम गर्न थालेको हो । पहिलो चरणमा पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकासँग समन्वय गरी सो सडकको स्तरोन्नतिको काम शुरु भएको कार्यालयका प्रमुख रावलले बताउनुभयो । सडक डिभिजन कार्यालयले पनि लकडाउनका समयमा पातारासी गाउँपालिकाको चौथामा सडक मर्मत गरिरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताउनुभयो । पोखरी गाउँका घरघरमा धारा तिला गाउँपालिका वडा नं ७ पोखरी गाउँमा एक घर एक धारा निर्माण भएपछि स्थानीयवासीमा खुशी छाएको छ ।

पहिले गाउँमा एक धारोले काम चलेको र पछिल्लो समयमा गाउँमा छ धारा निर्माण भए पनि स्थानीयवासीमा पानीको आवश्यकता धान्न नसकेपछि अहिले घरघरमा धारा ल्याइएकाले गाउँवासी निकै हर्षित भएको स्थानीयवासी तुलवीर रोकायाले बताउनुभयो । यहाँका ५६ घरघुरीको प्रत्येक घरमा खानेपानी धारा निर्माणमा तिला गाउँपालिका र हातेमालो सेवा समाजको रु १७ लाख लगानीमा एक घर एक धारो निर्माण भएको वडाध्यक्ष हस्तबहादुर बुढाले बताउनुभयो । प्रत्येक घरको आँगनमा बाल्टिनसँगै साबुन राखिएको छ । घरमा आउने पाहुनादेखि घरपरिवारले हात धोएर मात्र घरभित्र प्रवेश गर्न नियम बनाइएको स्थानीयवासी रुपकला रोकायाले बतानुभयो । पोखरी खानेपानीका सचिव धनबहादुर रोकाया पर्याप्त खानेपानीको व्यवस्थाले गाउँलेमा सरसफाइ गर्ने बानीमा सुधार ल्याएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij