• Saturday 25th of July 2026

घर फर्किनेक्रम जारी


  • आशाका किरण

– सुभानु आचार्य कोभिड–१९को जोखिम हुन नदिन लकडाउन जारी रहदा पनि गोदावरी नगरपालिकाको चापागाउँ सडक हुँदै कान्ति लोकपथबाट घर फर्किनेको क्रम जारी रहेको छ । “आफू यता बस्यो परिवार र आफन्तको चिन्ता लाग्छ । कति दिन परिवारको पिर गरेर मन एकातिर ज्यान अर्काेतिर गरेर बस्ने ।” नाम र स्थान नखुलाउँदै एक पुरुषले गहभरि आँशु झार्दै भन्नुभयो । उहाँले भन्नुभयो, “के थाहा यो रोगको नियन्त्रण कहिले हुन्छ । आपत् विपत्मा परिवारसँगै बसाँै भन्ने लाग्दो रहेछ । गाउँ पुग्न पाए परिवारसँगै बसी भए भात नभए खोलेफाँडो भए पनि खाउँला । दुःख गरौँ । परिवारलाई खुशी दिउँ भनेर राजधानी छिरियो । हिँड्दा हिड्दै परिवारको मुख पो देख्न नपाउने हो कि ! भन्ने डर पनि छ । ” यात्राका क्रममा सडकमा दुईबाट चार र चारबाट आठ थपिँदै जाँदा सामाजिक दूरी कायम गर्न सकिन्न । सबैको पीडा एकै किसिमको छ । सबैलाई परिवार भेट्नु पनि छ । “सडकमा हिँड्दा एक यात्रुले अर्काे यात्रुलाई कसरी दूरी कायम गर भन्नु । यात्रामा रहेका साथीलाई एक्लै छाडेर हिड्न सभ्यताले आजसम्म सिकाएको छैन ।”घर हिडेका एकयात्रुले भन्नुभयो ।

गोदावरीको लेलेबाट कान्ति लोकपथ शुरुआत् हुने हुँदा गोदावरीको चापागाउँ हुँदै वाग्मती गाउँपालिमा, सो गाउँपालिकाको अन्त्य विन्दुमा वाग्मती नदी तरेपछि मकवानपुर जिल्ला हुँदै अन्त्यमा हेटौँडा छिर्ने मानिसको लर्काे दैनिक करिब एक हजार हुने गरेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो सडकखण्ड हुँदै घर बाहिरिने मानिसको क्रम रोकिएको छैन ।” बन्दाबन्दीमा किन हिँडेको प्रश्नमा यात्रुले भन्नुभयो,“ कति दिन कोठामा बसेर खाने । अझ कति दिन बन्दाबन्दी थपिने हो थाहा छैन ।” सरकारले बन्दाबन्दीभर कोठा भाडा मिनाह हुने कुरो अघि बढाए तापनि भाडा नै आय स्रोत हुने घरबेटीलाई कसरी हामी दिन्नाँै भन्ने लागेर घर हिँडेको कति यात्रीले बताएका अध्यक्ष लोप्चनले जानकारी दिनुभयो । लोकपथ हुँदै घर बाहिरिने मानिस बढीजसो इँटाभट्टामा काम गर्ने र मजदूरी गरेर खानेखालका देखिन्छन् । बिहीबार राति पानी परेका बेला २०० मानिस गाउँपालिका वडा नं. ४ प्यूटार हुँदै भिजेर आइरहेका छन् भन्ने सूचना आएपछि यहाँको विद्यालयमा खाने र रात बस्ने व्यवस्था गरिदिएको उहाँले बताउनुुभयो ।

अध्यक्ष लोप्चनले भन्नुभयो,“दैनिक यहाँबाट मानिस घर बाहिरिने क्रम भएसँगै एक दिन त अति बिजोक अवस्था छ भन्ने सुनेर दुई गाडी मानिस वाग्मतीको तिनपानेदेखि ठिन्गीनसम्म लगभग ४० किलोमिटर सडक पार गरायौँ । तिनपानेदेखि ठिन्गीनसम्म हिँड्न ठ्याम्मै एक दिनको सडक पार गर्ने समय लाग्छ । ” यस सडक पार गर्ने सबैले हातमा कालो फाराम बोकेका देखिन्छ । बाटोमा हिँड्दा जता थकाइ लाग्यो उतै सुतेका पनि देखिन्छन् । विगतमा स्वच्छ सडक जता पायो त्यतै दिसापिसाब गरेर दुर्गन्धले रोगको जोखिम बढेको छ । सरकारले लुकेर हिँड्ने मानिसको क्रम देशभरि बढेसँगै एक दिन बन्दाबन्दी खोलेर घर पु¥याइदिने व्यवस्था गरिदिए हुन्थ्यो भन्ने लागेको छ ।” भौगोलिक विकटताका कारण अन्यत्रबाट गाउँपालिका छिरेका सबै मानिसलाई खुवाउन र राख्न नसकिने अध्यक्षलोप्चनको भनाइ छ । कान्ति लोकपथ हुँदै हेटौँडा छिरेपछि पूर्व–पश्चिमका विभिन्न जिल्ला पुग्न सकिन्छ । यो सडक भएर हेटाँैडा जान छोटो दूरी रहेको छ । वातावरण सामान्य भएको समयमा निकै उपयोगी हुने यो सडक बन्दाबन्दीका बेला भने दुरुप्रयोग भइरहेको छ । ललितपुरको टीकाभैरवदेखि हेटौँँँँडाको बुद्धचोकसम्म यस सडकको कूल लम्बाइ ७९ किलोमिटर रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij