• Saturday 25th of July 2026

नेविसङ्घ ५१औँ वर्षमा : राहत वितरण गरेर स्थापना दिवस मनाउँदै


  • आशाका किरण

नेपाली काँग्रेसको सबैभन्दा प्रभावशाली भातृ संस्था नेपाल विद्यार्थी सङ्घ स्थापनाको ५० वर्ष पूरा गरी आज ५१औँ वर्षगाँठ मनाउँदै छ । विसं २०२७ वैशाख ६ गते स्थापना भएको नेविसङ्घले स्थापनाकालदेखि नै मुुलुकका हरेक राजनीतिक र शैक्षिक आन्दोलनमा अहम् भूमिका निर्वाह गर्दै आएको छ । तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाइएको बेलामा काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीलाई शैक्षिक एजेण्डामा टेकेर आन्दोलन गर्न नेविसङ्घको स्थापना भएको थियो । काँग्रेसका नेता उत्पादन गर्ने नर्सरीका रूपमा समेत रहेको नेविसङ्घलाई पार्टीमा ठूलो महत्वका साथै लिने गरिएको छ । त्यही भएर नेविसङ्घको नेतृत्व आफ्नो पक्षको बनाउने विषयमा काँग्रेस नेताहरुबीच बेला–बेलामा विवादसमेत हुने गरेको छ । काँग्रेसको हालको नेतृत्वमा रहेका अधिकांश नेता पनि नेविसङ्घको राजनीतिबाटै उदाएका हुन् ।

नेविसङ्घमा हालसम्म विपिन कोइराला, शेरबहादुर देउवा, विमलेन्द्र निधि, बलबहादुर केसी, बालकृष्ण खाँण, एनपी साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, किशोरसिंह राठौर, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ, रञ्जित कर्ण र नैनसिंह महर अध्यक्ष भइसकेका छन् । नेविसङ्घको ५१औँ वर्ष प्रवेशको अवसरमा आज अध्यक्ष राजीव ढुङ्गानाले शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा रहेका विकृति तथा विसङ्गतिविरुद्ध खबरदारी गर्दै शिक्षा र ज्ञान प्राप्तिका दिशामा उत्साहका साथ अघि बढ्न प्रेरणा र ऊर्जा मिलोस् भनेर सम्पूर्ण विद्यार्थीमा शुभकामना व्यक्त गर्नुभएको छ । साथै उहाँले नेविसङ्घद्वारा विगतमा सञ्चालित विभिन्न शैक्षिक तथा राजनीतिक आन्दोलनमा वीरगति प्राप्त गर्ने शहीदहरूलाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । कोरोना भाइरसको सङ्क्रमणको विश्व नै सङ्कटमा रहेको घडीमा सिङ्गो राष्ट्र एकजुट भइ महामारीको सामना गर्न आह्वान गर्दै अध्यक्ष ढुङ्गानाले यस क्षणमा पारदर्शी भएर, जनतालाई उत्साहित बनाउँदै सबैलाई साथ लिई अघि बढ्न सरकारसँग आग्रह गर्नुभएको छ ।

नेविसङ्घलाई अझ बढी प्रशिक्षित र अनुशासित सङ्गठनका रुपमा रुपान्तरण गरी वर्तमान समयका हरेक चुनौतीहरुको सामना गर्दै देशका सम्पूर्ण विद्यार्थीहरुको आशा र भरोसाको केन्द्रका रुपमा नेविसङ्घलाई स्थापित गर्न उहाँले सबैलाई आह्वान गर्नुभएको छ । नेविसङ्घले आज शैक्षिक केन्द्रका रुपमा रहेका देशका विभिन्न सहरमा डेरा गरी बसेका विद्यार्थीलाई राहत वितरण गरेर आफ्नो स्थापना दिवस मनाउदै छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएको वर्तमान विषम परिस्थितिमा रक्तदानलगायत विभिन्न रचनात्मक कार्यक्रम गरी स्थापना दिवस मनाउन सम्पूर्ण जिल्ला समिति, क्याम्पस इकाई र उच्च माध्यामिक विद्यालय एकाइहरुलाई परिपत्र गरिएको छ । स्थापना दिवसका अवसरमा सामाजिक सञ्जालका माध्यमबाट तथा उपलब्ध प्रविधिको प्रयोग गरी सचेतना मूलक कार्यक्रम, गोष्ठी, छलफल तथा अन्तक्र्रिया गर्नसमेत परिपत्र गरिएको अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो । नेविसङ्घले उक्त सबै कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रशासनसँग समन्वय गरी, समाजिक दुरी कायम गर्दै सबै खाले सुरक्षा सावधानी एवं सङ्क्रमण सर्तकता अपनाउँदै सम्पन्न गर्नसमेत मातहतका समितिलाई निर्देशन गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij